देशभक्तहरू अपमानित हुने देश

देशभक्तहरू अपमानित हुने देश


कीर्तिनिधि विष्ट, मरिचमान सिंह र सूर्यबहादुर थापाको चरित्र, सीमा, पहुँच र पहिचानबारे समकालीन समाज अनभिज्ञ छैन । मरिचमानका सङ्गठित प्रचारकहरू भइदिएनन्, त्यसैले उनी ओझेलमा परे–पारिए । तर, बन्दकोठाभित्र मरिचमानलाई एउटा सच्चा राष्ट्रवादीका रूपमा सम्मान र सम्बोधन गर्ने गरिन्छ । जनतादेखि नेता तहसम्मका मानिसले मरिचमानलाई बुझेकै एउटा सच्चा राष्ट्रवादीका रूपमा हो । तर, उनको निधनमा राज्यले कुनै औपचारिक सम्मान जनाइरहन आवश्यक ठानेन, कुनै बेला उनी यो देशको प्रधानमन्त्री बनेका थिए भन्ने तथ्यलाई समेत राज्यले स्मरण गर्न खोजेन, औपचारिक सम्मानबिना नै उनी आर्यघाटमा खरानी भए ।

केही दिनअघि अर्का राष्ट्रवादी नेता कीर्तिनिधि विष्टको निधन भयो । पञ्च, काङ्ग्रेस र धेरैजसो कम्युनिस्टका साना–ठूला नेताहरूले सामाजिक सञ्जालहरूमा विष्टको उच्च प्रशंसा गर्दै उनी राष्ट्रवादी, इमानदार र नैतिकवान भएको तथ्य जाहेर गरे । एउटा देशभक्त नेता गुमाउनुपरेको पीडा सर्वत्र पोखियो । विष्टले देशको उत्तरी सीमामा रहेका भारतीय सुरक्षा चौकी हटाउन पु¥याएको योगदान र उनले सिंहदरबार आगलागी हुँदा नैतिकताका आधारमा राजीनामा दिएको घटनालाई आममानिसले स्मरण गरेको पाइयो । तर, उनलाई पनि राज्यले कुनै समयका प्रभावकारी प्रधानमन्त्री थिए भन्ने स्मरण गर्न चाहेन । राजकीय सम्मानबिना सामान्य ढङ्गले विष्टको अन्त्येष्टि भयो, तर पञ्चायतकालका सर्वाधिक आक्रामक प्रधानमन्त्री सूर्यबहादुर थापालाई उच्च राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।

थापा आफैँमा कुशल, प्रभावी र क्षमतावान नेता थिए । निर्णय लिने र निर्णयको कार्यान्वयन गर्ने क्षमताका लागि सूर्यबहादुर स्मरणीय बनेका छन् । थापाको स्वर्गारोहण हुँदा राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा उनको दाहसंस्कार भयो । पटकपटक देशको प्रधानमन्त्री भइसकेका व्यक्तिलाई त्यसरी राजकीय सम्मान दिनु स्वाभाविक र जायज मान्नुपर्दछ । तर, सूर्यबहादुर थापाका बारेमा सोसल मिडियाले ‘देशभक्त’ भनेर विशेषण लगाएको या टिप्पणी गरेको कतै पाइएको थिएन ।, उनलाई राजकीय सम्मान मिल्नु, देशभक्तका रूपमा सबैतिरबाट प्रशंसित व्यक्तिहरूलाई चाहिँ राजकीय सम्मान नदिनुले यो देशमा देशभक्तहरू निरुत्साहित र देशभक्त हुन बाँकीहरू या देशभक्त हुन नसकेकाहरूचाहिँ राज्यबाट नै प्रोत्साहित हुन्छन् भन्ने सन्देश प्रवाहित भएको छ । यदि पञ्चायतकालमा प्रधानमन्त्री बनेका व्यक्तिहरूमाथि पूर्वाग्रह राखिएको, छुट्टै व्यवहार गर्न खोजिएको र तिनलाई उपेक्षा नै गर्ने निर्णय राज्यबाट भएको हो भने हामीले बुझ्नुपर्छ– ‘नेपालमा राज्य अझै पनि संस्थागत हुन सकेको छैन । पुरातनकालमा झैं व्यक्तिविशेष र शक्तिविशेषको लहडमा यो सञ्चालित हुने गर्दछ ।’

नाम प्रजातन्त्र या लोकतन्त्र जे राखौँ वास्तविक प्रजातन्त्रले कसैका प्रति आग्रह–पूर्वाग्रह राख्दैन, सबैलाई समान अवसर, सम्मान र पहुँच उपलब्ध गराउँछ । जुनसुकै कालखण्डमा जस्तासुकै प्रणालीअन्तर्गत प्रधानमन्त्री बनेका भए पनि ती सबैको कदर गर्न राज्यले कञ्जुस्याइँ र भेदभाव गर्नुहुन्न । यदि गरिन्छ भने त्यस्तो देशमा प्रजातान्त्रिक मूल्यअनुरूपको व्यवहार हुँदैन भनेर बुझ्नुपर्ने हुन्छ । आफूलाई देशको ‘यतिऔँ’ प्रधानमन्त्रीका रूपमा स्वीकार गर्नु भनेको आफूभन्दा अघि प्रधानमन्त्री भएका सबैको अस्तित्व स्वीकार गर्नु हो । गणनामा अस्तित्व स्वीकार गरेर पनि खास–खास अवस्था–व्यवस्थाका प्रधानमन्त्रीहरूलाई अपमान र उपेक्षा गर्नुले हाम्रो सङ्कीर्णता र असभ्य व्यहारको पुष्टि गरेको छ । वि.सं. २००७ सालदेखि हालसम्म अनेकौँ आकारप्रकारका प्रजातन्त्रको नेपालमा आगमन भएको छ र वर्तमानमा हामीले भोगिरहेको व्यवस्थालाई चाहिँ सर्वाधिक उन्नत र उत्कृष्ट दाबी गर्ने गरिएको छ । ‘उत्कृष्ट’ प्रजातन्त्रको व्यवहार अनपेक्षित हुँदा नेपाल प्रजातान्त्रिक व्यवस्था अवलम्बन गर्ने चैतन्य अवस्थामा नरहेको सङ्केत गर्दछ ।

तर, देशभक्त भएबापत अपमानित र उपेक्षित हुनुपरेको यहाँ मरिचमान र कीर्तिनिधिहरूले मात्रचाहिँ होइन । काजी भीम मल्लले उत्तरतर्फको सीमा विस्तार गरेर फर्किंदा दरबारको ढोकैमा काटिनुपरेको थियो । भीमसेन थापाका आलोच्य पक्ष अनेकौँ भए पनि उनी एक देशभक्त भएकोमा शङ्का गरिँदैन । उनले पनि अपमान र उपेक्षा सहन नसकेर आत्महत्या गर्नुपरेको थियो । राजा महेन्द्रले पनि देशभक्त भएबापतको निन्दा र आलोचना व्यहोरिरहेका छन् । देशको एकता, सामाजिक सद्भाव, क्षेत्रीय एकता र विकासका आधार खडा गर्ने, राष्ट्र तथा राष्ट्रियताको पक्षमा बेजोड जागरण पैदा गर्ने राजा महेन्द्रलाई अपमान र उपेक्षा गर्नेहरू सम्मानित र स्तुत्य बनेका छन् । महेन्द्रपथ र महेन्द्रीय राष्ट्रवाद भनेर नेपाली राष्ट्रियता र सार्वभौमिकतालाई होच्याउन खोज्नेहरू यतिबेला अग्ल्याइएका छन् ।

त्यस्तै देशहितका निम्ति अनगिन्ती कार्य गर्ने जंगबहादुर राणालाई अपमान र उपेक्षा गर्ने क्रम पनि जारी राखिएको छ । प्रजातन्त्रसँग राष्ट्रियतालाई अविच्छिन्न ढङ्गले जोड्ने अवधारणा बीपी कोइरालाको हो, २०६३ को परिवर्तनपश्चात् बीपीलाई समेत उपेक्षा गरिँदै छ । सबैभन्दा पीडादायी कुरा, जसले यो देशको स्थापना ग¥यो उसैका प्रतिसमेत यहाँ घृणाभाव जगाइँदै छ । नेपाल देशको स्थापना जसरी गरियो त्यो गम्भीर गल्ती थियो भन्नेहरूको बोली महँगो दरभाउमा बिक्री हुने गरेको छ । देश बनाउने पृथ्वीनारायण शाहको शालिक ढाल्नेहरूले नेपाल र नेपालीको पक्ष लिनेहरूको पहिचान गरी हुर्मत लिने काम गरिरहेको छ र यस्तो कर्मलाई राज्यले नै घोषित–अघोषित रूपमा प्रोत्साहित गरिरहेको छ । मान्छेहरू जनता नभइसकेको मौका पारेर देशभक्तहरूलाई निरन्तर अपमान, घृणा र उपेक्षा गर्ने कार्य जसरी भइरहेको छ यसले अन्ततः नेपाल र नेपालीको अस्तित्व विसर्जन गराउनेबाहेक अन्य कुनै परिणाम ल्याउने आशा गरिनुहुन्न ।