पत्तै नपाई बेचिने जनता

पत्तै नपाई बेचिने जनता


– स्वयम्भूनाथ कार्की

दिल्ली, बनारस अनि कोलकाता पुरानो जमानाका नामुद स्थानहरू हुन् । यी सबै अङ्ग्रेजको जमानादेखि पनि पहिलेका महत्वपूर्ण स्थानहरू थिए । कुनै न कुनै बेलामा भारतवर्षका सबैजसो राष्ट्रमा असर पार्ने शक्तिकेन्द्रहरू राजनीतिक तथा धार्मिक दुवै किसिमले । जसरी यी स्थानहरू अरू कुराले महत्वपूर्ण थिए त्यसै गरेर अपराध विशेषतः ठगीका निमित्त पनि कुख्यात थिए । बाहिरका मान्छेलाई यी सहरमा नगई पनि हुने थिएन, जाँदा पनि ठगिने–लुटिने डर हुन्थ्यो ।

त्यसबेलाका वास्तविक, काल्पनिक घटना आख्यान बनेका छन् । त्यसैमध्येको एक हो यी सहरहरूमा आफूले ठग्न वा लुट्न नसकेमा त्यो व्यक्तिको नयाँ गन्तव्यको अर्को ठगलाई बिक्री गरिन्थ्यो अरे । उसले पनि नसके वा नभ्याए अगाडि अर्कोलाई बिक्री एवम् रितले ५–१० तहसम्म बिक्री हुने त्यो व्यक्तिलाई आफू यसरी बिक्री भएको पत्तै लाग्दैन थियो । यो आख्यानमा कत्तिको सच्चाइ छ त्यो अहिलेको विषय होइन । कति यी सहरको नाम यस प्रसङ्गमा लिएकोमा कडा आपत्ति जनाउने पनि हुन सक्छन् । यी सहरहरूमा यस आपराधिक मानसिकताका व्यक्ति नै छैनन् भनेर कसै न कसैको दराजमा थन्केका शोधपत्रको सन्दर्भ उठाउन पनि बेर छैन । यदि त्यस्तो लागेमा स्थानको नामको सट्टा एकादेशमा माने पनि हुन्छ ।

यो प्रसङ्ग कोट्याउनुको प्रयोजन केवल यति नै हो कि आजभोलि नेपालमा जनता पनि त्यसरी नै बेचिन लागेका छन् । जनतालाई यसरी बेच्ने काम भने राजनीतिक दलहरूले गर्दै छन् । जनताले आफूलाई गरेको आस्था तथा विश्वास विनिमयको वस्तु बनेको छ । यो सत्तालोलुपताको घृणित खेललाई कर्णप्रिय नाम दिइएको छ ‘गठबन्धन’ । झन्डैझन्डै जिब्रो लटपटिएर ‘ठगबन्धन’ भनिएला भनेर सोच्ने आवश्यकता नै छैन । किनभने यस्ता गठबन्धनहरू वास्तवमा ठगबन्धन नै हुन् । आफूले एक स्थानका जनता अर्कोलाई बेचेर अर्को स्थानको जनता किन्ने चलन । यसलाई सुपाच्य नाम दिइएको छ ‘तालमेल’ ।

जनताले मतदान गर्नुको अर्थ आफ्नो सम्पूर्ण अस्तित्व नै दललाई सुम्पनु होइन । बरु दललाई केही निश्चित काम गर्न खटाउनु हो । तराईतिर बिहान सहरमा श्रमबजार लाग्छ, त्यहाँबाट आफ्नो आवश्यकता अनि रोजाइको श्रमिकलाई दिनभरको काम दिइन्छ । यसै गरेर निर्वाचनको वेला त्यो बजारमा दलहरू आफ्नो औचित्यको सूची लिएर बसेका हुन्छन् । कुनै दललाई यो बजारबाट कसैलाई छान्नेबित्तिकै यो छान्ने व्यक्ति दलको नोकर हुने होइन, बरु त्यो दल उसको नोकर हुने हो । जसले ठीक काम नगरेमा अर्कोपल्ट नछान्ने अधिकार जनतामा हुन्छ ।

यो वास्तविकताको ठीक उल्टो कुरा प्रचारित गरिएको छ । जनताको सेवक हुनुपर्ने दललाई भने जनताको मालिक अनि मालिक हुुनुपर्ने जनता भने सेवक प्रक्षेपण गरिएको छ । यस्तो प्रक्षेपण गर्नेमा जनताले आफ्नो मार्गदर्शक, आफ्नो ज्ञानदाता मानेको बुद्धिजीवी वर्ग छ । जनताको यो आदरसम्मान सबैलाई दलको चाकरी गरेर पद र प्रतिष्ठाको आकाङ्क्षीका यी जमातलाई ‘बुद्धिकर्मी’ भन्न ठीक हुन्छ । जसरी ‘यौनकर्मी’ले यौन बेचेर गुजारा गर्दछन् त्यस्तै यिनीहरूले बुद्धि बेचेर गुजारा गर्छन् । तैपनि इमानदारी र निष्ठामा भने बुद्धिकर्मीभन्दा यौनकर्मी कैयौँ गुणा उच्च छन् ।

यो समग्र जनतालाई निःसर्त कुनै न कुनै दलको वफादार बनाउनेहरूले गर्दा जनताको बेहाल भएको छ । जुन जनताको सुखशान्ति, सरल जीवनयापनको भ्रम दिएर सत्तारोहण गर्दछन् तिनै जनताको पर्वाह छैन । त्यो जनता अरबको मरुभूमिमा अस्ति बिहा गरेको प्रेयसी छोडेर पसिना चुहाउन बाध्य छ । आपूmलाई दशधारा दूध पियाएर हुर्काउने आमा थलिएको छोडेर मलेसियामा सलाम ठोक्न बाध्य छ । तर, बुद्धिकर्मीहरूले बुद्धि भुटेकाले आमाको दबाइको भन्दा पहिले दलको लेभीको जोहो गर्दछ । प्रेयसीको नाना, दाना, छाना जोहो गर्न छोडेर आफ्नो दलको नेता कार्यभूमिमा बोलाएर खादा ओडाउने काममा ज्यादा महत्व देख्छ ।

कतै नेपाली काङ्ग्रेसले आफ्नो मान्छे माओवादीलाई बेच्छ । कतै एमालेले आफ्नो मान्छे माओवादीलाई बेच्छ । माओवादीले नभ्याएका जनता अर्को कुनै दललाई बेच्ला । यसरी जनता हरपल बेचिइरहेको छ, आफू बेचिएको समाचार पनि हेर्दै–सुन्दै छ । तर, त्यो जनता आफू नभएको भ्रम पालेर बस्छ । नेताको आदेशमा आँखा चिम्लेर अर्को दललाई बोकेको पनि देखिँदै छ । यो ती दिल्ली, कोलकाता वा बनारसका ठगले जस्तै आफूलाई क्रमशः बेच्दै लगेको पत्तै नपाई बेचिएकोमा गौरवान्वित हुन्छ । समाजमा आएको यो विचनलको जिम्मेवार को हो त ? नागरिक समाजका अगुवा ? शिक्षक वा प्राध्यापक ? सञ्चारकर्मी ? हो धेरथोर सबै जिम्मेवार छन किनकि यिनीहरू पनि बुद्धिजीवीबाट बुद्धिकर्मीमा रूपान्तरण हुँदै जाँदै छन् ।