चुनावअगाडिको समाजवाद !





– उज्ज्वल अधिकारी

पहिला पनि नलगाइएको होइन, समाजवादको नारा उहिल्यैदेखि लगाइएको हो । आर्थिक समृद्धिको नारा नलगाइएको होइन, सबैले ज्यान छाडेर लगाएका हुन् । आखिर यी नारा चुनावका लागि मात्र सीमित भएका थिए । यही नाराको भरमा तपाईं राजनीतिक पार्टीका नेताहरू सांसद, मन्त्री र प्रधानमन्त्री हुनुभयो । फेरि जानुभएको छ जम्ले हात जोड्दै जनतासामु, झुटा आश्वासनको पुलिन्दा बोकेर नानाथरी सपना देखाउँदै ।

बीपी कोइरालाको समाजवाद काङ्ग्रेसले लिन सकेन न गणेशमानको त्याग–तपस्यालाई आत्मसात् गर्न सक्यो । अनि माओवादीहरू खालि वीर सहिदको नाम लिँदै भोट माग्न तल्लीन भए । नेपाललाई स्वीट्जरल्यान्ड बनाउने सपना देखाउन उनीहरू पनि पछि परेनन् । आखिर खै त त्यो स्वीट्जरल्यान्ड ? कमसेकम जगसम्म त बस्नुपर्ने थियो यतिका वर्षमा । होइन र ? एमाले पनि कहिले ग्यासको पाइप घर–घरमा पु¥याउँछु भन्छ, कहिले काठमाडौंको मुटुमै मेट्रो र लुम्बिनीसम्म रेल कुदाउँछौँ भन्छ । तर, पार लाग्ने छेकछन्द यसमा पनि देखिँदैन, फगत भोट लुट्ने दाउबाहेक ।

मधेसवादी दलहरू पनि ‘आऊ मधेस खाऊ मधेस’ मात्रै हुन् । मधेसी पिछडिएका जनताका लागि तिनले केही लछारपाटो लगाएनन् । गर्ने नै हो भने मधेसभूमिको विकास गर्न पहाडको तुलनामा कति हो कति सजिलो छ, तर नगरेपछि के लाग्यो । मधेसी नेताहरू सबै राजधानीतिर सम्पत्ति जोड्नमै मस्त रहेको जगजाहेर नै छ । राप्रपाले पनि धर्म र राजसंस्थाको नाममा जनताको सेन्टिमेन्टमाथि गर्नु बलात्कार ग¥यो । गुण्डा, तस्कर अनि भ्रष्टाचारीहरूलाई टिकट दिने दलहरूबाट के आस गर्ने खै ?! यस्तो नौटङ्की राजनीति कहिलेसम्म चलिरहने हो ?

नेताहरू मुसाजस्तो हालतमा संसद् भवन प्रवेश गर्नुभयो र बाघ बनेर निस्कनुभयो । पहिले जनताकै छोराछोरी हौँ भन्ने तपाईंहरूले सांसद बनेपछि जनतालाई नै चिन्न छोड्नुभयो । आफ्नै नातागोताको आर्थिक समृद्धिका लागि मरिहत्ते गर्नुभयो । तर, गरिब नेपाली जनता त एक चक्की सिटामोलकै लागि तड्पिनुपर्ने हालत कायम नै छ ।

त्यसैले, अबको आर्थिक समृद्धि कसरी र कसका लागि हो– खुलाएर भन्ने क्षमता बोकेर मात्र गाउँ पसेको भए राम्रो हुन्थ्यो । अबको समाजवाद कसका लागि, नेताका लागि कि जनताको लागि ? खुलाएर भन्नुहोस् । हामी नेपाली विदेश गएर नेताको घर उज्यालो पारेर पनि आफू अन्धकारमै बस्न बाध्य छौँ । लाखौँ हामी बेरोजगार रहन बाध्य छौँ । अब पनि यस्तै नियति हो भने तपाईंहरूलाई भोट दिनुको औचित्य के होला, घोत्लिँदै छौँ ।

– सरस्वती ब. क्याम्पस, लैनचौर

प्रतिक्रिया