नेपालमा कमिनिष्ट वा वाममोर्चा भन्नु शब्दगत मिथ्यालाप मात्र !

नेपालमा कमिनिष्ट वा वाममोर्चा भन्नु शब्दगत मिथ्यालाप मात्र !


– बद्रीप्रसाद दाहाल

‘कम्युन र इजम’ यी दुई अङ्ग्रेजी शब्दहरूको योगबाट ‘कम्युनजम’ बन्छ । समाजवादी व्यवस्थामा समाज–संस्कृति–अर्थ र वर्ग सबै समवर्ग हुनाले त्यस्ता सबैको सामूहिक बस्ती तथा आवास वा समुदाय, जनपद, समवर्गीय गाउँघरलाई कम्युन भनिन्छ । ‘इजम’ भन्नाले वाद अर्थात् तत्ववेत्ता ऋषि–महर्षिबाट प्रतिपादन गरिएको सिद्धान्त वा सार कुरो बोध हुन्छ । यसरी कम्युनिजमको अर्थ कम्युनको सिद्धान्त र आचरण जो जर्मनीका ठूला दार्शनिक कार्लमाक्र्सद्वारा प्रतिपादित आधुनिक वैज्ञानिक राजनीतिक प्रणाली भनेर चिनिन्छ । अनि त्यही व्यवस्थाका समर्थक अथवा अनुपालक नै ‘कमिनिष्ट’ हो । माक्र्सवादी समाजवाद ‘सर्वहारा समाजवाद तथा वैज्ञानिक समाजवाद’को नामले परिचय स्थापित गरेको छ । उनका सिद्धान्तका चार आधार छन् ।

१. द्वन्द्वात्मक भौतिकवाद,
२. इतिहासको भौतिकवादी व्याख्या, ३. वर्गसङ्घर्ष,
४. अतिरिक्त मूल्यको सिद्धान्त ।

माक्र्सको कार्यक्रमको पहिलो चरण श्रमजीवी वर्गलाई शासक वर्गमा प्रतिस्थापित गरेर जनतन्त्रको सङ्ग्राममाथि विजय प्राप्त गर्नु हो । पीडित श्रमिक–वर्गलाई सङ्गठनमार्फत उठाएर शासक वर्गमा प्रतिष्ठित गर्नु यसको उदात्त उद्देश्य थियो । भूमिमाथि व्यक्तिगत स्वामित्वको अन्त्य गरी सार्वजनिक प्रयोजनमा ल्याउनु, यातायात तथा सञ्चारको साधनलाई राज्यको हातमा केन्द्रीकरण गर्नु, साख तथा बैंकमाथि राज्यको एकाधिकार स्थापना गरी एक राष्ट्रिय बैंकको व्यवस्था गर्नु, देशबाट भागेका र देशद्रोहमा परेकाको सम्पत्ति जफत, बाल मजदुरमा प्रतिबन्ध र निःशुल्क शिक्षा व्यवस्था, सबैबाट समान रूपले काम लिनु, कृषिलाई उद्योगमा सम्मिश्रण गर्नु, राज्यमा कारखाना र उत्पादनका साधनमा विस्तार गर्नु यस्ता कार्यक्रम थिए, कमिनिष्टमा । माक्र्स, एङ्गल्स, लेनिन यी तीनैजना श्रमिक वर्गको अधिनायकत्वलाई पुँजीवाद र साम्यवादबीचको सङ्क्रमणकालीन व्यवस्था भनेर मान्छन् । भनिन्छ लेनिनवाद वैज्ञानिक विश्वास नभएर भाषात्मक आह्वान मात्र थियो । लेनिनपछि स्टालिन, ट्राटस्की, ख्रुश्चेब, कोसिजिन र माओ आदि कमिनिस्ट शासकहरूले आ–आफ्नै पारामा कम्युनिजमलाई अथ्र्याउँदै अधिनायकी शैलीकै बोलवाला गराए ।

कमरेड माओले कम्युन र सांस्कृतिक क्रान्तिलाई मुख्य आधार बनाएर कम्युनमा रहनेलाई सामूहिक जीवन बिताउन लगाए भने सांस्कृतिक क्रान्तिद्वारा नयाँ सिरामा साम्यवादको प्रचार गराए । विचारमा यान्त्रिक एकरूपता कायम गर्न मस्तिष्क शुद्धी (ब्रेनवास)को तरिका अपनाएर भयकारी स्थितिको सिर्जना गरिदिए । माओ र उनका अनुयायीहरूले युद्ध एवम् क्रान्तिद्वारा पुँजीपतिको विनाश गर्ने नीति लिए । कथित सांस्कृतिक क्रान्तिमा लाखौँ चिनियाँ नागरिकहरूको संहार भयो । त्यसै गरी तेनमेनचोकमा भएको आततायी संहार इतिहासको कलङ्क र चरम मानवताविरोधी हिंसा थियो । त्यसैले त कतिपय बौद्धिकहरू भन्छन् ‘कमिनिष्ट कागजी कल्पतरू हो, सत्ता नपाउन्जेल समानता र स्वतन्त्रताको कुरा गरी सुनको बाला बोकेर लोभी बटुवालाई फसाउन खोज्ने पञ्चतन्त्रको छलकारी बूढो दानी बाघजस्तै बन्ने, जब सत्ता प्राप्त हुन्छ तब हान्ने भदौरे राँगो र माघेसङ्क्रान्तिको साँढेझैँ साँढा भएर छँटाउने । जनताको गरिबी र विपन्नता, भोक तथा रोगलाई केन्द्रबिन्दुमा राखेर श्रमजीवी वर्गको राज्यव्यवस्था हुन्छ भन्ने दुहाई दिएर क्रूर अधिनायकवाद लाद्ने नौटङ्की मञ्चन मात्र हो ।

वास्तवमा कम्युनिजम शब्दगत तथा भावगत आसयमा मुखर नभएर एक उत्पीडनकारी, अधिनायकी र स्वेच्छाचारी निरङ्कुश प्रणालीमा रूपान्तरित हुने वा प्रचण्डको भाषामा भन्नुपर्दा बिब्ल्याँटो छलाङ मार्ने उपक्रम । मान्छे ब्रेनले भन्दा ब्रेडले सञ्चालित हुन्छ भन्ने कोरा भौतिकवाद हावी गराउने तन्त्र । कमिनिस्ट सत्ता भन्नेबित्तिकै व्यवस्थापिका, कार्यपालिका, न्यायालय, प्रहरी र सेनाको सोलोडोलो एकाधिपत्यमा रहने अर्थिन्छ । आवधिक निर्वाचन, मानव अधिकार, विधिको शासनजस्ता तमाम लोकतान्त्रिक मूल्यहरू एक हाइकमानको सनकमा निरीह बन्न बन्नुपर्ने । गरिब, शोषित, पीडित किसान मजदुर झन् दासानुदास बन्ने स्थितिको कुरूप सिर्जना । यही अत्याचारबाट पीडितहरू ज्यान बाजीमा राखेर अधिनायकवादका नाइकेविरुद्ध कैयौँ देशमा उत्रिए । त्यसैले त बिस्तारै रेडकिल्लाहरू भत्किन पुगे, एनिमल स्टेटमा बन्दी भई तुच्छ भेडाबाख्रा बनाइएका जनता लोकतान्त्रिक संस्कारको प्रबोधनमा जुर्मुराउन थाले ।

यही विश्वप्रभावले सबै महादेशलाई छोयो । जसको प्रभाव नेपालमा पनि प¥यो । विश्व कमिनिष्ट आन्दोलनमा विभिन्नखाले संशोधनवादहरू देखापरे । यी सबै परिघटनालाई नियाल्दै विश्व समाजवादी आन्दोलनका मूर्धन्य हस्ती बीपी गहिरो अध्ययनमा आफ्नो क्रान्तिकारिता जीवन्त बनाउन लागिपरिरहे । माक्र्सवादकै प्रभावमा हुर्किएका बीपीले लोकतन्त्र थपिएको समाजवाद राष्ट्रियतालाई केन्द्रबिन्दुमा राखेर समय–सन्दर्भमा चल्ने योजना बनाए । साम्यवादीहरू समाजवादलाई राजनीतिक बनाएरै असफल भएको कुरा बीपीले बुझेर उनले यसलाई आर्थिक समाजवाद भन्न मन पराए । नेपालको वाम शक्तिहरू भने कोही संशोधनवादको हुरीले दक्षिणपन्थको पदचापका अनुयायी बन्न थाले भने कोही क्रान्तिकारी रोमान्टिसिजममा जडसूत्रवादी हुँदै उग्र वाममार्गतिर नेकाको विरुद्ध राजाकै बलमा नेकाले भन्दा प्रगतिशील नारा लगाएर मुकुन्डो मात्रैमा टल्किन थाले ।

यही भोगाइलाई प्रकट गर्दै बीपी बोले, ‘नेपालका कम्युनिस्टको बारेमा म यसकारण चर्चा गर्न चाहन्न कि यिनीहरूको आपसी झैझगडा, आक्षेप–प्रत्याक्षेप र चक्कु रोपारोपले गर्दा कम्युनिस्ट भनेर लक्ष्य कसलाई गरेको हो म भन्न सक्दिनँ । यस्तो स्थितिमा कम्युनिजमको नेपालमा विकास भएको छ भन्ने कुरामा म पटक्कै सहमत छैन । सरकारी सहुलियत पाएर कतिपय व्यक्ति आपूmलाई कमिनिस्ट भनेर घोषणा गर्दै उभिएको देखिन सकिन्छ या कुनै विदेशी राष्ट्रका नीतिको स्थानीय कार्यपालक भएर आपूmलाई कमिनिस्ट हुँ भन्दा हुन्, तर के त्यस्ता तत्वलाई कमिनिस्ट भन्ने ? भारत विरोध कम्युनिज्म होइन, यी सब कुरामा लागेका व्यक्तिलाई बाहेक गरेपछि कम्युनिज्मलाई खोज्न कता बत्ती लिएर हिँड्ने ?’ कस्तो जीवन्त तस्बिर ? २०१७ सालमा प्रजातन्त्रको घाँटी निमोठिँदा दीपावलीको हर्षबढाइँ गर्ने कैयौँ शाहीसत्ताका अनुपालक वर्तमान समयमा वामकित्तामा देख्दा अनि यतिखेरको जल्दाबल्दा सत्ताधारी रेडकमरेडका चर्तिकला हेर्दा त साँच्चै नेपालमा कमिनिस्ट पाउन बत्तीको हजुरबाउ बाले पनि पत्ता लाग्दैन ।

सुकुम्बासी बस्तीमा दिनदहाडै डोजर लगाएर चिल्लीबिल्ली पार्ने, अनावश्यक बिप्पा सम्झौता गरेर बखेडा निकाल्ने, अन्तर्राष्ट्रिय विमानस्थल एवम् राष्ट्रिय विमानस्थलहरूको निर्माण र रखबारी विदेशीलाई सुम्पने, असंलग्न परराष्ट्रनीतिमाथि कुठाराघात गर्ने, लचिलो बन्ने नाममा नागरिकता वितरण गरी विदेशी घुसपैठ बढाउने, राष्ट्रको साँचो अर्कैका हातमा छ भनेर खुलस्त पार्ने, देश नै मर्ज वा सवमर्ज हुन सक्छ भनेर राष्ट्रियतामा धावा बोल्ने, देशभक्त गणतन्त्रवादी सङ्घीय धार भनी अपवित्र मोर्चाबन्दी गर्दै राष्ट्रिय राजनीतिलाई भिडन्तउन्मुख गराउने यी सबै भिल्ल खेलहरूले पुस्टि हुन्छ यहाँ कमिनिस्ट छैन । मात्र सत्तामा हालीमुहाली गरेर विदेशी प्रभुहरूसित लम्पसार परी राष्ट्रियता बन्धक बनाउने तमासा मञ्चन गर्ने कतै कमिनिस्ट हुन सक्छ ? यी त नारालाई मारा बनाएर राष्ट्र विघटन गर्ने राष्ट्रघाती तत्व पो रहेछन् बा ! तत्कालीन जनमोर्चाका मुख बाबुरामका चालीस बुँदे माग खै कता अलपत्र छन्, उनले प्रधानमन्त्रीको कुर्ची घुमाउँदा कति परिपूर्ति गरे त ? प्र.मं.देखि राष्ट्राध्यक्षसम्मको यात्रा गरेका एमालेले मदन भण्डारीको हत्यारा खै खोजेका ?

तीतो सत्य हो नेपालमा कमिनिस्ट छैन, नत्र साठी प्रतिशतभन्दा बढी निर्वाचित जनप्रतिनिधिको वाम बाहुल्यमा खै कमिनिस्टका कुनै एजेन्डा कमिनिस्ट सरकारले लागू गरेको थियो त हिजो ? संविधानसभाको चुनावपछि नै आधा दर्जनभन्दा बढी यिनीहरूकै सरकार भइसक्यो ? अब यसको भ्रममा नपरी नक्कली बाबाका दारीजुँगा उखेलेर निर्वाचनमार्फत यी हल्लाका खेती गर्नेविरुद्ध लोकतन्त्रवादीको मोर्चाबन्दीलाई सशक्त बनाउनुपर्छ । अन्यथा यहाँ ठेट लोकतन्त्रवादी पनि हराएर मिति गुज्रिसकेको एकाधिकारवादी वा प्रतिगामी सत्ता आउन सक्छ । विगतका भ्रष्टाचारी, कमिसनखोरी, आततायी, डन र महाडनका रक्षक, उग्र भक्षक, संविधानसभाजस्तो संस्थाका मारक ग्रह, अध्यादेशमार्फत देश चलाउन खोज्ने घोर लोकतन्त्रविरोधी, नाङ्गा र बाङ्गाखाले कब्जामार्गीलाई ताजा खालको जनादेशबाट बढारौँ, यसैले सुन्दर छवि बोकेका जुनसुकै फोरमबाट उठेका किन नहुन्, कुन–कुन लोकतन्त्रवादी व्यक्तित्व हुन् तिनलाई मात्र आफ्नो अमूल्य मत दिएर लेन्डुप दोर्जे प्रवृत्तिमा लोकतान्त्रिक हमला बोलेनौँ भने हामी श्रापित हुनेछौँ ।

५० वर्ष कमिनिस्टले नेपालमा शासन चलायो भने नेपालको मौलिक अस्तित्व नै समाप्त हुनेछ । त्यही नेपालीपन मास्न यतिखेर ओली र दाहालको अपवित्र गठजोड हुङ्कार छेडिरहेको छ । त्यसैले समयको पदचापलाई आत्मसात् गरौँ, आमाको मुहार मुटुदेखि हँसाऔँ । यसैबाट सबैको कल्याण हुन्छ । नेपालमा कमिनिस्ट तागत वा वामपन्थी छन् भन्नु मिथ्यालाप मात्र हो भने लोकतान्त्रिक गठबन्धनका पनि केही व्यक्तित्वहरू गनाएका छन् । यसैले विवेकले छानबिन गरेर आफ्नो बहुमूल्य मतको उपयोग गर्ने सामथ्र्य राखौँ यसैबाट नेपाल र नेपालीको कल्याण सम्भव छ । खुला नीलो आकाशमा विचरण गर्ने कि लौहपिँजडामा थुनिने ? हाम्रै हातमा मतपत्र निर्णायक बनेर आउँदै छ । सबैलाई चेतना भया ।