कम्युनिष्टको राष्ट्रियताले नेपालको अवस्था के हुने ?

कम्युनिष्टको राष्ट्रियताले नेपालको अवस्था के हुने ?


– मनोज कुमार कर्ण

कार्ल माक्र्सको भाषामा कम्युनिस्ट पार्टीको राष्ट्रियता हुँदैन । उनीहरू राष्ट्रियताको सट्टामा वर्ग निर्माण-संघर्षको कुरा गर्छन् । उनीहरूले के मान्यता राख्छन् भने गरिब जनताको सत्तामा पहुँच नै हुँदैन, त्यसैले गरिबको लागि राष्ट्रियताको कुरो भनेको सामन्तवादहरूले उनीहरूको समय बर्बाद गराईदिने वा मूल विकासको मुद्दाबाट अन्यत्र भट्काउने एउटा साधन हो । फेरि कम्युनिस्टहरूले धर्मको बारेमा धर्म भनेको अफिम हो, सर्वहारा वर्गलाई मूर्ख बनाउन अल्झाउन सामन्तवादीले प्रयोग गर्ने अर्को टूल हो भनी बुझ्छन् ।

नेपालका सन्दर्भ :

नेपालको सन्दर्भमा माथिका काल्र्स माक्र्सको कुरा केवल देखावटी वा भनौं नयाँ मान्छेलाई आदर्शको कुरा गरेर अफिमको रुपमा प्रयोग गरि कम्युनिस्टको सदस्यता दिनलाई हो । एउटा उदाहरण दिउँ । पाटन संयुक्त क्याम्पसको अंग्रेजी विभागका इन्डियन रिटायर्ड एकजन सहप्राध्यापक सतिश कुमार शुक्लाले पञ्चायती कालमा त्रिचन्द्र क्याम्पसमा रात्री समूहको जर्ज बर्नाड शाका कक्षामा कम्युनिस्टहरूलाई फेवर गर्दै अध्यापन गराउनु भयोः ‘यदि मारकाट नै आतंकवादको परिभाषा हो, त्यसभित्रको जेन्यून कारणलाई कसैले बुझिदिएन भने नेपालको सबभन्दा ठूलो आतंकवादी राजा पृथ्वीनारायण शाह हो । उनको सिंहदरबार अगाडीको सालिक भत्काईनु पर्छ तर मान्छेले त्यसो गर्दैनन् किन ?…’ सरले कक्षाबाहिर घर फर्कन निस्कन लाग्दा चौधरी थरका अञ्चलाधीशको छोरा त्यही कक्षामा पढ्दै गरेकाले बुवालाई भनेर नजिकैको प्रहरीमा रातभरी खोेरमा पुऱ्याइदिए !

भोलीपल्ट धन्य तत्कालीन अंग्रेजी केन्द्रीय विभागका प्रमुख दुर्गाप्रसाद भण्डारी सरले डाइरेक्ट राजा विरेन्द्रसँग सम्वाद गरिकन ‘बर्नाड शाको किताब नै यस्तै हुन्छ, जो कोही पनि राजभक्त शिक्षकले पनि कक्षामा पढाउँदा यस्तो बोल्नुपर्छ तर पनि शुक्ला सरले राजसंस्थाको विरोधमा बोल्नुभएको छैन । बाँकी विद्यार्थीपनि त्यहीं थिए, कुरा पुऱ्याउनेले गल्ति तरिकाले पुऱ्याए’ भनेर सम्झाउँदा राजा विरेन्द्रबाट ‘अब यस्तो किताब बरु सिलेबसमा नराखौं’ भनी थुनामुक्त शुक्ला सरलाई गरियो र नेपालमै सेवा सुचारु राख्न राजाबाट आदेश भयो । डा. भण्डारीले राजाकाहाँ जति सूचना लुकाएपनि राजाले बर्नाड शाका कुरा र शुक्ला सर खुंखार कम्युनिस्ट रहेको कुरा थाहा पाईहाले । र, बाँकी दुनियाँलाईपनि यी कुरा थाहा छन् ।

पंक्तिकार दाबीको साथ भन्न सक्छ कि नेपालका कुनैपनि कम्युनिस्ट पार्टीका कमाण्डर–इन–चीफ र अन्य कमाण्डर्स छैन जो कम्युनिज्म वा माक्र्सिज्मबारे बुझ्न शुक्ला सरकोे शरणमा आएको नहोस् ! तरपनि जब शुक्ला सरको जागिर पाटन क्याम्पसबाट चट्टपार्ने मान्छे सो बेलामा क्याम्पस प्रमुख अमन श्रेष्ठ (माओवादी) र विभागीय प्रमुख भूपप्रसाद धमला (एमाले, हाल त्रिवि अन्तर्राष्ट्रिय सम्बन्धको निर्देशक) निस्के भने केन्द्रमा काँग्रेस र शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक संघले घर जाने बेलामा त्रिवि खुलेकै बेलादेखि नेपाल सरकारले अनुरोध गरेर भारतबाट ल्याएको प्राध्यापकहरूलाई कम्तिमा केही लाखमात्र रुपैयाँको कोसेली दिउँ भन्दा एमाले र माओवादीका नेता र उनीहरूको क्रमशः प्रगतीशिल प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले सोही पुल्चोकस्थित हिमालय होटलको भेलामा ‘भारतीय’लाई केही नदिने प्रस्टै भने । सरको जिवनभरीको कम्युनिस्ट र नेपालका कम्युनिस्टप्रतिको सेवामा उहाँले नेपालका कम्युनिस्टहरूबाट स्वयँ र स्वयँको मातृभूमीप्रति अपमान पाए । र, आजको दिनमा शुक्ला सर हामी गैरकम्युनिस्टहरूसँग बरु रमाउनु हुन्छ ! कम्युनिस्ट चरीत्र भनेकै यूज एण्ड थ्रो र धोखाधडी हो, विदेशनीतिमा नेपालको लाभ हेर्नुभन्दा पनि छिमेकी देश भारतलाई सराप्नु हो ।

कम्युनिस्टहरूले वर्गीय चिन्तनको कुरा गर्छन् तर विश्वलगायत नेपालभरी मै त्यसको खिल्ली स्वयँ उडाउँछन् । जस्तैः उनीहरूले संघीयता, गणतन्त्र, लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व र समावेशीको सिद्धान्तलाई राज्यको निकायमा अक्षरशः पालना गर्ने आदि कुरामा उल्टै काँग्रेस तथा राजावादी र पञ्चहरूको पार्टीलाई डोऱ्याउनु पर्नेमा उल्टै उनीहरू नै कि संसदमा मधेशी, महिला, आदिवासी, जनजाति, दलित आदिको प्रतिनिधित्व र हकहीतको हरेक कुरालाई अड्काउने वा पास भइहाले भने त्यसलाई अर्को पावर सेन्टर राष्ट्रपति वा अदालतबाट चुनौती दिन लगाउँछन् । राजसंस्था सामन्तवादको जरो हो तथा सेन्टरमा पावर थुपार्ने संस्था हो बुझेर पनि मधेशी र अर्को छिमेकी भारतलाई घृणागरेको देखाउन नेपालमा वामपन्थि अलायन्सको कभरमा परिवर्तनका हरेक अजेन्डालाई धोतीलाउँदै ‘राष्ट्रियता’ जोगाउन राजसंस्था पुनर्जिवितपार्न लागेका छन् । यो कम्युनिज्मसँग बाझ्यो । जनतालाई नेपाल राष्ट्र जोगाउन यसो गर्न भन्न पाईंदैन किनकि कम्युनिस्टको राष्ट्रियता हुदैन । प्रश्न उठ्छ, के गैरकम्युनिस्टस् काँग्रेस र मधेशवादी दलहरू नेपालको राष्ट्रघाती नै हुन् ? के बीपी कोइरालाले नेपालप्रति गद्दारी गरी भारतको फेवर गरेरै त्यति दुःख पाए ? वास्तवमा नेपालका राजा र कम्युनिस्टहरूले मिलेर भारतलाई नेगेटिभ नेपालप्रति देखाएर कथित् राष्ट्रियताको परिभाषा बनाएर जनतालाई आफूहरू सत्ताको चास्नी लिन लागिपरेको कुरा बुझ्नबाट डाइभर्ट गरेका हुन् !

२०५७ सालमा नेपालमा हृतिक रोशन काण्ड हुँदा सो बेला वामदेव गौतम (आजका एमाले उपाध्यक्ष)ले रोशन र भारतलाई जोडेर नेपालप्रति गल्ति समाचार प्रसारण गराए । अभिनेता रोशनले स्वयँले बोलेको रेकर्ड प्रस्तुत गर्दा वामदेव गौतमले ‘कसैले मलाई भनेकोले मैंले त्यसो बोलेको त हैन रहेछ’ भनेर भागे । तर सो बेला काठमाण्डौंमा मधेशीलाई भारतीय भनीकन भारतीयसमेतको घर, जीउ, प्रतिष्ठा, सम्पत्तिमाथि भौतिक आक्रमण भयो । आजको नेपालको पहाडीको भाषामा आउटफिट भएको फोर्स सो बेला पुल्चोक अध्ययन संस्थानमा एलेक्ट्रोनिक इन्जिनियरिङ्ग पढीरहेका विद्यार्थीले म भारतीय होइन भन्दा भन्दैपनि अपमानित गरि प्रतिष्ठामा हाथ लगाए । घटना सामसुम भयो, नेपाल सरकारले वास्तविकता बाहिर आएपछि मधेशी र भारतीयसँग माफी मागेन जसको परिणाम होः सीके राउतले सोहीदिन कसम खाए म मधेशीको पहिचानको लागि नेपाल टुक्राउँछु ।

आतंकवादी यहाँ सीके राउत हुन् कि वामदेव गौतम, एमाले पार्टी र कम्युनिस्टहरू हुन् ? आज कस्को घृणाले नेपालको राष्ट्रिय अखण्डतामा सीके राउतले ग्रहण लगाइदिएका छन् ? अरु त अरु, सो पछि एमालेको भारत र मधेशीसित डील गर्ने शैली के रह्योः घुक्र्याएर सत्ता माग्ने वा भारतको विरोधी चीनलाई भारतविरुद्ध चुग्ली लगाउने वा भारतलाई सराप्ने ? हामी नबिर्सौं, यिनै वामदेव गौतम पछिल्लोपटक सुशील कोेइरालाको सरकारमा गृहमन्त्री छँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर–लुम्बिनी–मुक्तिनाथको एकसाथ नेपालको समग्र भूगोलकोे धार्मिक भ्रमण र विकास गर्न आतुरलाई सुरक्षाको कारण देखाई जनकपुरमा साइकल बाँड्ने बहाना बनाई भाँडे ! अब, चीनीयाँ रेललाई जनकपुरसम्म सगरमाथाको मुनीबाट पु¥याउने रे ! यदि काँग्रेस, राप्रपाहरू, मधेशवादी दलहरू, मधेशी जनताले भारतको विकासको अजेन्डा नेपालमा ल्याउने कुरा गर्दा कम्युनिस्टहरूको भाषामा त्यो भारतीय विस्तारवाद, सोको दलाल, अराष्ट्रियता भयो भने नेपालको सगरमाथालाई नै प्वालपार्ने र वामपन्थि अलायन्समार्फत् डोक्लम मुद्दामा नेपाल चीनको पक्षमा फेवर रहेको नेपालको संसदबाट बहुमतले भोली पारित भयो भने त्यो कस्को दलाली र कस्तो राष्ट्रियता हुनेछ ?

यहाँ यतिमात्र भनौं हामी कि एक्काईसौं शताब्दीमा जनताको राष्ट्रियता सुदृढ गराउन उसका आधारभूत आवश्यकताहरू पूर्ती गर्ने, विकासका केजमेन्ट वा बक्सा खोल्ने, विज्ञानप्रविधीको द्रूत विकास गरि जनताको पहुँच गराउने, सानोभन्दा सानो देशको अजेन्डामा जनताको आम राय लिई ओनरशीप लिन लगाउने, एउटा समुदायबाट एन्टागोनिस्टिक वा शत्रुभाव अर्कोमाथी आयो भने राज्यले तुरुन्त माफी माग्दै सांस्कृतिक आत्मसात् दुइटै समुदायबीच चाडपर्व वा राष्ट्रिय महोत्सवमार्फत् गराउने जस्ता आदि तरीकाहरू छन् । कम्युनिस्टको घृणात्मक मधेशी वा छिमेकी देशप्रतिको शैली र एउटा देशलाई मात्र कम्युनिज्मको नाउँमा प्रिभिलेज गर्ने शैलीले भोली नेपाल टुक्रिने पक्का छ । ठिक छ, नेपाल-भारतका कम्युनिस्टले चीन, उ.कोरियाकोविरुद्धमा आफ्ना सेना मर्दा उल्टै चीन, उ.कोरियाकै फेवरमा लेख्दा वा वकालत गरिरहँदा त्यहाँका कम्युनिस्टहरूले यीनीहरूको फेवरमा ब्यालेन्स गर्न वा कथित् वर्गीय निर्माण गर्न किन लेख्दैनन् वा वकालत गर्दैनन् ?

धर्मकोे मामिलामा यदि कम्युनिस्टहरूले परम्परागत धर्म मान्दैनन् भने नेपालमा हिन्दूत्व समाप्त पारिकन क्रिश्च्यिानिटीका लागि चर्च, सोको लागि नेपालको स्रोतसाधनमा पहुँच किन चाहियो ?

नेपालका कम्युनिस्टहरू बेधर्मी भन्दापनि दलाल, नेपाली राष्ट्रियताका प्रमुख चुनौती, कार्ल माक्र्सको परिभाषाबाट पर पुगिसेकेका, जनतालाई अशिक्षा र अभावको लाभलिई बर्गलाएका छन् । जनताको रोजगारको नाउँमा बल्खुको पार्टी कार्यालयमा एमालेका आजिवन कार्यकर्ताले झुण्डिएर मर्नुपर्ने, प्रचण्डले मान्छे मारेर केवल आफ्नो वंशजको आर्थिक लाभ हेरेर लडाकाहरूलाइ ठग्दा पद्म (हवल्दारले जेलमा उनलाई भेट्न आउनेसँग जिस्केर बोलाउने नाम प्रचण्ड कुँवर!) कुँवरबाट थप्पर खाने, झलनाथ खनालले केवल सत्ताको मात देखाएर देशको प्रधानमन्त्रीको निर्वाचननै रोकेर संसदलाई पंगु बनाउँदा इलामकै एमालेबाटै एक थप्पर खाएर प्रधानमन्त्री बन्नेहरूले वामपन्थी अलायन्स गरेर चीनलाई नेपाल किस्तीमा राखेर चढाउँदा र देशभित्र घृणाले सीके राउतहरू जन्माउँदा नेपालको विकास हुन्छ ? राष्ट्रियता मजबूत हुन्छ कि नेपाल झन टुक्रिन्छ ? तसर्थ, यसपालीको निर्वाचन भनेको नेपालमा परिवर्तनलाई संस्थागत गर्ने कि राजालाई फेरी ल्याउने, नेपाललाई विकास गरेर सबल बनाउने कि आपसी कटुता र छिमेकको नून खाएर नमकहरामी कम्युनिस्टहरूको लहैलहैमा लागेर देशलाई चीनमा टुक्रा गरेर बुझाउने बीचको जनमत संग्रह हो । त्यसैले देशप्रति माया हुनेले यसपालीको निर्वाचनमा कम्युनिस्टहरूलाई साइफर वा नल्ल वा शून्य सीटमा झार्नुपर्छ । मधेशीलाई देशद्रोही भन्नेहरू त केही पहाडीहरू कम्युनिस्टमा लागेकाहरू पो रहेछन् !