दुग्ध अनुदान पाँच गुणा बढाउन कृषकको माग

दुग्ध अनुदान पाँच गुणा बढाउन कृषकको माग


सरकारले दूधमा लिटरका आधारमा दिएको प्रतिलिटर एक रुपैयाँ अनुदान रकम वृद्धि गर्नुपर्ने माग सम्बद्ध किसानले गरेका छन् । भरतपुर महानगरस्तरीय दुग्ध क्षेत्र संरक्षण समिति चितवनले भरतपुरमा आयोजना गरेको भेला तथा अन्तरक्रिया कार्यक्रममा सहभागीले प्रतिलिटर पाँच रुपैयाँ अनुदानबिना किसानको हित हुन नसक्ने भन्दै यस्तो माग गरेका हुन् ।

किसानले घाटामा व्यवसाय गरेर नेपालमा पशुपालनको विकास पनि सम्भव नहुने भन्दै प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउन सके किसान पशुपालन व्यवसायबाट विस्थापित हुनुपर्ने अवस्थाबाट मुक्त हुने उनीहरूको तर्क छ ।

चितवनमा तीन सयवटा व्यावसायिक फर्म रहेको र त्यहाँबाट दैनिक तीन लाख लिटर दूध उत्पादन हुने गरेको तथ्याङ्क छ । भरतपुर महानगरस्तरीय दुग्ध क्षेत्र संरक्षण समिति चितवनका अध्यक्ष भागीरथ तिमिल्सेनाले दूधमा अनुदान रकम वृद्धि गरे चितवनमा दूध उत्पादन यसको तीन गुणासम्म हुने र सरकारले दूध तथा दुग्धजन्य परिकारमा आत्मनिर्भर बनाउन लिएको लक्ष्य पूरा हुने बताए ।

चितवनका किसानलाई दूध उत्पादनमा वृद्धि गराउने वातावरण तयार पार्न र महानगरलाई आगामी कार्यक्रममा किसानलाई थप ऊर्जा मिल्ने गरी बजेट बनाउन दबाब दिन पनि कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ ।

चितवनमा प्रतिलिटर १ रुपैयाँ अनुदान दिँदा गत वर्ष मात्रै किसानले अनुदानबापत दुई करोड ३८ लाख रकम पाएको र अनुदान रकम तथा पशुपालन विकासका कार्यक्रममा विस्तार गर्दै लैजानुपर्ने जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. डिल्लीराम सेढाईंले बताए ।

सरकारले व्यावसायिक किसानलाई थप व्यावसायिक बनाउन र पशु तथा दूध उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन पशु बिमा कार्यक्रमलाई व्यवस्थित गर्नुपर्ने, बैंक तथा मेसिनरीमा छुट गर्नुपर्ने, परियोजनाका आधारमा कर्जा सुविधा दिनुपर्ने, राष्ट्रिय व्यावसायिक पशुपालक तथा दुग्ध उत्पादक कृषक समाजका अध्यक्ष आनन्द न्युरेले बताए ।

दाना, चोक्कर र परालको मूल्यमा भारी वृद्धि, गुणस्तरहीन दानाको प्रयोग, मेसिनरी खरिदमा चर्को मूल्य, काम गर्ने जनशक्तिको अभाव, उच्चस्तरीय पशु नश्लको अभावलगायतका धेरै समस्या किसानले भोग्नुपरेको र यी सबै समस्या समाधानमा राज्यले ध्यान दिन नसक्दा किसान पलायन हुनुपर्ने अवस्था सिर्जना भएको दुग्ध सहकारी सङ्घका पूर्व जिल्ला अध्यक्ष शंकरराज राजभण्डारीले बताए ।

राज्यले मेसिनरी उत्पादन र कच्चा पदार्थ आयातमा भ्याट रकम छुट गर्न सके किसानले सस्तोमा मेसिन खरिद गर्ने, त्यसले दूध उत्पादन लागत घट्ने र किसान तथा उपभोक्ता दुवैलाई फाइदा पुग्ने ह्वाइट हिमालयन इन्जिनियरिङ भरतपुरका प्रबन्ध–निर्देशक तिलक शर्माले बताए । सो अवसरमा भरतपुर महानगरकी मेयर रेणु दाहालले किसानको समस्या समाधान गर्न महानगर किसानसँगै हातेमालो गरी अगाडि बढ्ने बताइन् ।