चितवनमा रेखामाथि गुण्डाहरूको आक्रमण

चितवनमा रेखामाथि गुण्डाहरूको आक्रमण


-राजन घिमिरे
अहिलेकी व्यस्ततम् चर्चित अनि सफल नायिका रेखा थापा आइतबार दिउँसोको समयमा चितवनको बजारमा हिँड्दै थिइन् । उनी कहाँ जान लागेकी थिइन् – कसैलाई पत्तो थिएन ।
कोही राम्री केटी बाटोमा देखियो भने त सिठ्ठी बजाउने अनि आँखा झिम्क्याउनेहरूको ठूलै भीड लाग्छ भने त्यहाँमाथि चिरिचट्ट परेर हिँडेकी सुन्दरी नायिका रेखालाई देख्नेबित्तिकै आवारा केटाहरूको मनमा खराब सोच नआउने त कुरै भएन । यस्तै भयो दिउँसो १ बजेतिर चितवनमा । कालो पहिरनमा हिँडेकी रेखा हो भनी चिन्नासाथ केही गुण्डाहरू त उनको पछि लागिहाले । जब रेखा पछाडि कोही आयो कि भनेर हर्ेर्थिन् त ती गुण्डाहरू लुकिहाल्थे भने रेखा अगाडि बढ्ासाथ फेरि उनको पछि लागिहाल्थे गुण्डाहरू ।
उनको पछि लाग्ने केही गुण्डाहरूलाई त रेखा छक्याएर अघि बढेकी थिइन् तर केही अगाडि बढ्नासाथ रेखाको नजिक आएर पर्खालजस्तै गरी बाटो छेक्दै ठिङ्ग उभिए हिमाल केसी अनि उताबाट आवाज आयो- कट ।
माथि प्रस्तुत गरिएको प्रसङ्ग हो चलचित्र ‘जबजब माया बस्छ’को र यसरी रेखालाई हिँड्न र गुण्डाहरूलाई उनको पछाडि लाग्न निर्देशन दिने व्यक्ति हुन्- हिमाल केसी । यो सिनेमाको द्वन्द्व-निर्देशक हुन् उनी । रेखालाई सोधियो- ‘अब रेखा यहाँ बलात्कृत हुने हो – जवाफमा उनले रमाइलो पाराले भनिन्, ‘मलाई के बलात्कार गर्लान् र यिनीहरूले । बरु म नै बलात्कार गरिदिन्छु यिनीहरूलाई ।’ सधैं सुटिङको माहोलमा रमाइलो गर्ने र सहजताका साथ काम गर्ने रेखाको यो अभिव्यक्तिले एकछिन सुटिङको माहोल नै रमाइलो भएको थियो ।
विजय थापाको निर्देशन रहेको चलचित्र जब-जब माया बस्छका प्रस्तुतकर्ता हुन्- मणिराम पौडेल भने निर्माता टोकल लामा । योभन्दा अगाडि यो युनिटले बनाएको थियो चलचित्र दाग । अशोक ढकालले लेखेको यो चलचित्रको कथाअनुसार रेखालाई हातपात गर्न आउने गुण्डाहरूलाई तह भने नायक जीवन लुइँटेलले लगाउने रहेछन् । ‘मेरो पालो आएको छैन । रेखालाई हातपात गर्न खोजेपछि म गएर उनलाई बचाउनर्ुपर्छ । एकछिन पछि मैले पालो आउँदै छ,’ आफ्नो पालो कुरेर बसेका र खाना खाइरहेको अवस्थामा भेटिएका जीवनले बताए, ‘सुटिङको खाना साह्रै मीठो लाग्छ भन्या । बिर्सिन सक्दिनँ,’ उनले भने ।
सिनेमाको पर्दामा मात्र होइन बाहिर पनि रेखा र जीवनको राम्रै क्रेज रहेछ । सुटिङस्पटमा नै उनीहरूसँग बसेर तस्बिर खिचाउने अनि अटो लिनेहरूको त भीड गजवकै थियो । लाग्दथ्यो कि त्यहाँ ठूलो मेला नै लागेको थियो । ‘मैले त रेखा बोल्दिनन् होला भन्ने सोचेकी थिएँ, तर उनी त कति हँसिली र मिजासिली पो रहिछिन्,’ एक स्थानीय महिला दर्शकको प्रतिक्रिया थियो यस्तो ।
हाल चितवनका विभिन्न स्थानहरूमा छायाङ्कन भइरहेको चलचित्र जबजब माया बस्छको यसअघि सिक्किमका विभिन्न रमणीय दृश्यहरूमा छायाङ्कन भइसकेको छ भने चितवनपछि काठमाडौं, चाइना र पोखरामा बाँकी छायाङ्कन गरिने कुरा निर्देशक विजय थापाले बताए । मिथिला शर्मा, सिर्जना बस्नेत, रेशम लामा, सुनिल दत्त र विष्णु सापकोटाको पनि यो चलचित्रमा अभिनय रहेको छ । निकै लामो समयको अन्तरालपछि यसै सिनेमामार्फत फेरि नेपाली चलचित्रमा सङ्गीत दिन आएका छन्- सचिन सिंह । पहिलोपटक विजय थापाको निर्देशनमा काम गरेकी रेखा थापा पनि निकै उत्साहित देखिएकी छिन् । प्रहरी इन्स्पेक्टरको चरित्र निर्वाह गरेका रेशम लामा पनि आफ्नो भूमिका बलियो रहेको कुरा बताउँछन् भने प्रस्तुतकर्ता मणिराम पौडेलले ‘जबजब माया बस्छ’ विशुद्ध रूपमा पे्रमकथामाथि आधारित चलचित्र भएको कुरा बताए ।

ँनिमन्त्रणा’ दिँदै छिन् जमुना
नेपाली कला र सङ्गीतको फाँटमा दिनानुदिन नयाँनयाँ प्रतिभाहरूको आगमन भइरहेको छ । यसरी मौलाउँदै गएको साङ्गीतिक क्षेत्रमा आफ्नो मौलिक पहिचानका साथ योगदान पुर्‍याउने अठोटका साथ एउटी नयाँ गायिकाले सङ्गीतपारखीहरूलाई पपआधुनिक गीतको स्वाद लिन आमन्त्रण गर्दै छिन् गीति एल्बम ‘निमन्त्रणा’मार्फत ।
हो, सानैदेखि गीत, गायन र मोडलिङमा समेत अत्यन्त रुचि राख्दै आएकी प्रतिभा जमुना जोशीको पहिलो गीति एल्बम ‘निमन्त्रणा’ आगामी २४ गते शुक्रबार राजधानीमा सार्वजनिक हुँदै छ । ६ वटा आधुनिक पपगीतको सङ्गालो यस गीति एल्बममा रहेको हजुरको माया… बोलको गीत त उनले आफ्नै खर्चमा भिडियो सुट्समेत गराइसकेकी छिन् । आफ्नै व्यापारी बुबा धनबहादुर जोशीको प्रेरणा पाएर कला क्षेत्रमा होमिएकी जमुना पद्मकन्या क्याम्पसमा बीबीएस अध्ययन गर्दै छिन् भने विभिन्न सामाजिक संस्थामा समेत आबद्ध बहुमुखी प्रतिभाकी धनी जमुना प्रोगाम होस्टका रूपमा पनि आफ्नो पहिचान निर्माण गर्दै छिन् । आफ्नो एल्बम सार्वजनिक नगरेसम्म अन्यत्र गीत नगाउने अठोट लिएकी उनलाई पहिलो एल्बम तयार पार्न कम्ती सास्ती परेन । खर्च भएको चार लाखमध्ये आधा आफैंले र आधा रकम बतास अर्गनाइजेसनको प्रायोजनमा जुटाएकी जमुना आफू यस क्षेत्रमा नयाँ भएकीले सङ्गीत तथा कला क्षेत्रका व्यक्ति-व्यक्तित्वहरूसँग तालमेल मिलाउन सुरुमा गाह्रो परेको खुलस्त पार्छिन् । जे होस्, परिश्रमको फल चाख्ने बेला आएकोमा निकै खुसी बनेकी छिन् गायिका जमुना । ‘मैले गीत गाएर परीक्षा दिएकी छु अब फेल या पास गर्ने जिम्मा त श्रोताहरूको हातमा छ, मलाई लाग्छ मेरो आवाज र गीतहरू श्रोताले मन पराउनुहुनेछ,’ जमुना विश्वासका साथ भन्छिन् । सफलताले जमुनाका पाइला चुमून्, हाम्रो शुभकामना ।

टेन्सनमा निरुता
कुनै समय निकै चकाचक थियो । फिल्म बजारमा निरुता सिंहको । उनको प्रवेशपछि त केही नायिकाहरू त ओरालो पनि लागेका थिए । नाम, दाम, सम्मान, इज्जत अनि लोकप्रियता सबै उनको पोल्टामा थिए तर, अहिले समयले कोल्टो फेरेको छ । अहिले निरुता सिंहसँग छ त पहिले नाम र लोकप्रियता । यतिबेला ‘फिल्मी भाषामा’ भन्नुपर्दा उनको क्रेज घटेको छ अभिनयको पक्षमा ।
निरुता दिदी र भाउजूको भूमिका खेल्न नरुचाउने उता निर्माता-निर्देशकहरू निरुतालाई हिरोइनको भूमिका दिन नमान्ने । तर, उमेर र क्रेजतिर पटक्कै ध्यान नदिएर ‘म हिरोइन नै बन्छु’ भनेर ढिपी कस्ने गजवको शैली पनि अपनाएकी छिन् निरुताले ।
त्यसो त जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै अरूहरूले हिरोइनको भूमिका नदिएर के भो त – अब आफ्नो हिरोइन बनिरहने इच्छालाई भने निरुता आफैंले पूरा गर्ने भएकी छिन् आफैं सिनेमाको निर्मात्री बनेर । ‘करिश्मादेखि रेखा थापा हुँदै झरना थापासम्मले आफैं फिल्म बनाएर आफैं हिरोइन हुन सक्छन् भने म किन नहुने -‘ उनको तर्क यस्तै छ आजभोलि ।
रोनाधोका विषयमा सिनेमाहरूको जगजगी भइरहेको अवस्थामा आएकी निरुताको विशेषताअनुरूपका सिनेमाहरू अहिले नबन्दा उनी मारमा परेकी छिन् । ग्ल्यामर्स युवतीको भूमिकामा उनी पटक्कै जम्न नसक्दा निरुता क्रमशः अभिनयको मामिलामा पछाडि परेकी हुन् । ‘तर म ग्ल्यामर्स भूमिकामा नै देखिनेछु । तर मैले बनाउने सिनेमा तारिफ गर्न योग्य नै हुनेछ,’ निरुताले भनिन् ।
अहिले आफूले निर्माण गर्न लागेका चलचित्रको अन्तिम तयारीमा पुगिसकेकी छिन् निरुता । उनले निर्देशकको रूपमा कसलाई लिन्छिन् त – त्यो कुरा खुलासा भने निरुताले गरेकी छैनन् । यसमा पनि निरुता दोधारमा छिन् । उनले धेरै सिनेमामा काम गर्दा उनलाई थुपै्र निर्देशकहरूले राम्रो अवसर दिएर माथि ल्याएका थिए । तर एउटालाई निर्देशक लिँदा अरू रिसाउने हुनाले निर्देशकको छनोट समयमा भने निरुताको टाउको दुःखेको छ । त्यसो त एउटा सिनेमामा एउटा नै निर्देशक हुने भएकोले एउटालाई लिँदा अरू रिसाउँछन् भन्ने कुराको हेक्का हुँदाहुँदै पनि यतिबेला निरुताका कारण केही निर्देशकहरूको मन दुख्ने भएको छ । यसमा बिचरी निरुताको के दोष – यो उनको बाध्यता पनि हो ।