के सङ्केत गर्‍यो माओवादी विस्तारित बैठकले-केशव देवकोटा

के सङ्केत गर्‍यो माओवादी विस्तारित बैठकले-केशव देवकोटा


माओवादीको हालै गोरखामा सम्पन्न विस्तारित बैठक पूरै असफल भएको छ । पार्टीमा देखिएको असमझदारी हटाउन र नयाँ कार्यनीति तय गर्न बसेको बैठकले करिब तीन करोड रकम खर्च गरेर र पाँच हजार अगुवा नेताहरूकाबीच सात दिन छलफल गरेर पनि कुनै नयाँ नौलो र ठोस निर्णय गर्न सकेन । विस्तारित बैठकले निर्णय गर्न नसकेका विषय केन्द्रीय समितिमा छलफल गर्ने सहमति गर्दै बैठक सम्पन्न भएको घोषणा गरियो । अब माओवादीले आगामी साता केन्द्रीय समितिको बैठक गरी विस्तारित बैठकमा देखिएका विवादित विषयलाई टुङ्गो लगाउने भनिएको छ । तर, त्यो कतिसम्म सम्भव होला- प्रतीक्षाकै विषय छ । प्रधान अन्तरविरोध र साङ्गठनिक संरचनाका विषयमा नै निर्णय हुन नसकेकाले माओवादी गम्भीर सैद्धान्तिक विवादमा फसेको देखिएको छ ।
विस्तारित बैठकमा पेस भएका तीनवटा राजनीतिक प्रस्तावलाई एउटै बनाइएको भने पनि अध्यक्ष प्रचण्डले पछिल्लो समयमा उपाध्यक्षद्वयको प्रतिवेदनका मूल कुराहरू र बैठकमा प्रतिनिधिहरूबाट प्राप्त सुझावसमेतलाई समेटेर पेस गरेको भनिएको प्रतिवेदन पारित हुन सकेन । अन्तत: अध्यक्ष प्रचण्डले संशोधनसहित पेस गरेको प्रतिवेदनलाई परिमार्जन गरी विवादित विषयमा सहमति जुटाउने जिम्मा केन्द्रीय समितिलाई दिएर विस्तारित बैठक टुङ्ग्याउनुपर्‍यो । प्रचण्डको २१ वर्षको नेतृत्वकालीन राजनीतिक जीवनको यो दु:खद् संयोग नै बन्यो । यसबाट माओवादीमा तीन धार र अन्तरसङ्घर्ष चकर्ंदै गएको स्पष्ट भएको छ । उपाध्यक्षद्वय मोहन वैद्य र डा. बाबुराम भट्टराईले पेस गरेका दर्ीघकालीन राजनीतिक लाइनका विषयमा धेरै विवाद र बहस भए पनि सहमति जुट्न सकेन । उपाध्यक्षद्वयले पार्टीको दर्ीघकालीन राजनीतिक कार्यदिशा, प्रधान शत्रु, मार्क्सवादलाई हेर्ने दृष्टिकोण, विगतको आन्दोलनको समीक्षालगायतका विषयमा आ-आफ्नो अडानमा टसमस नै गरेनन् । दर्ीघकालीन लाइनका विषयमा कुरा मिल्न नसकेपछि अब केन्द्रमा फोरम चलाएर, राष्ट्रिय सम्मेलन बोलाएर वा महाधिवेशनमै गएर भए पनि त्यसको हल गरिने भनिएको छ । तर, यो विवादको निदान सहजै हुने सम्भावना देखिँदैन । आफूहरूले उठाएका मुख्य मुद्दालाई अध्यक्ष प्रचण्डको संशोधित प्रस्तावमा पनि सम्बोधन नभएपछि आक्रोशित बनेका माओवादीका उपाध्यक्षद्वयले पालुङटार बैठकको अन्तिम दिन अध्यक्ष प्रचण्डको कार्यशैली र विचारप्रति तीव्र प्रहार गरेको देखियो । पछिल्लो समयमा लगभग सवा घन्टा बोल्नुभएका उपाध्यक्ष वैद्यले करिब एक घन्टा त प्रचण्डको आलोचनामै समय खर्चनुले पनि माओवादीभित्रको अन्तरि्वरोध कति पेचिलो बन्दै गएको रहेछ भन्ने स्पष्ट गर्‍यो ।
प्रचण्डले आफ्नो राजनीतिक लाइन वैद्यसंँग मिल्ने भन्दै वैद्य पक्षलाई मिलाएर लान प्रयास गरे पनि वैद्यले त्यसको प्रतिवाद गरेको देखियो । वैद्यले प्रचण्डलाई इङ्गित गर्दै इतिहासको ब्याज खाने प्रवृत्ति घातक रहेको बताए । ‘भिन्न मत दायर गर्दा नेतृत्व हत्याउन खोजेको भन्ने ? यो कसरी जनवादसम्मत भयो -‘ भन्दै वैद्यले प्रचण्डमाथि कटु प्रहार गरेको दृश्य बैठकमा उपस्थित नेताहरूका लागि सोचनीय बन्यो । वैद्यले पार्टीले सही राजनीतिक लाइन समात्न नसकेका कारण आफूले फरक मत राख्नुपरेको स्पष्ट पारेका थिए । पार्टीले गलत नीति लिँदै गयो भने नेतृत्वका लागि आफू तयार रहेको पनि उनले बताए । अध्यक्ष प्रचण्डमाथि पार्टीको दुई लाइन सङ्घर्षमा शक्ति, सत्ता र पैसाको दुरुपयोग गरेको आरोपसमेत लगाउन वैद्य चुकेनन् । प्रचण्डमाथि आर्थिक हिनामिना गरेको र निर्णय गर्दा सामूहिक छलफल गर्ने नगरेकोजस्ता व्यावहारिक आरोप पनि लागेका छन् । अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष प्रचण्डकोे प्रतिवेदनलाई मीठो तरकारीमा गोबर घोलिएको र रिमिक्सको संज्ञा दिनु साँच्चै गम्भीर विषय हो । अध्यक्षको प्रतिवेदनले पुष्पलाल र डा. रायमाझीका बेलाको राजनीति दोहोरिन सक्ने सङ्केत गरेको टिप्पणी डा. भट्टराईको थियो । डा. भट्टराईले अध्यक्ष प्रचण्डको मुख्य शत्रुसम्बन्धी दृष्टिकोणविरुद्ध भारतसँग सङ्घर्ष, एकता र पुन: सङ्घर्षको विधि नै उपयुक्त हुने बताउँदै दुईलाइन सङ्घर्षमा बल प्रयोगको विधि जनवादसम्मत होइन भन्ने तर्क दिएर प्रचण्डमाथि कटु प्रहार पनि गरे । परेको खण्डमा नेतृत्व सम्हाल्न सक्ने आँट गरेर नै आफूले राजनीतिक प्रस्ताव पेस गरेको उनले पनि स्पष्ट पारे ।
डा. भट्टराईले विस्तारित बैठकको हलबाटै महाधिवेशनको घोषणा गर्नुपर्ने माग उठाएबाट पनि माओवादीभित्र देखिएको विवाद अब महाधिवेशन तहमा नपुगी टुङ्गिन नसक्ने सङ्केत गरेको छ । विस्तारित बैठकमा अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ विचारशून्यको अवस्थामा देखिनु पनि चर्चालायक विषय नै रह्यो । नेकपा एकताकेन्द्रको महासचिवका रूपमा माओवादीमा प्रवेश गरेका नारायणकाजीलाई प्रचण्डको उत्तराधिकारीका रूपमा विकास गर्न खोजिएको चर्चा चलिरहेको छ । यस्तो सन्दर्भमा विस्तारित बैठकमा कुनै भूमिका र विचारमा नदेखिनुले पार्टीभित्र उनको राजनीतिक हैसियत निकै खुम्चिन पुगेको अनुभूति गरिएको छ । विस्तारित बैठकमा माओवादीमा प्रवेश गरेका अन्य समूहका नेताहरूले आफ्नो अस्तित्व देखाउन नसक्नुलाई भने उपलब्धिका रूपमा लिन थालिएको छ । माओवादीको विस्तारित बैठक यसरी उपलब्धिशून्य रूपमा सकिनुले अब माओवादीले तत्काल सत्ता प्राप्त गर्न नसक्ने र आन्दोलन पनि गर्न नसक्ने स्पष्ट सङ्केत गरेको छ । उग्रवामपन्थीहरू अन्तत: घोर दक्षिणपन्थी भासमा फस्दछन् र राष्ट्रिय मुक्ति आन्दोलन सम्पन्न गर्न सक्तैनन् भन्ने भनाइलाई माओवादीले पुन: पुष्टि गरेको यो ताजा उदाहरण मान्नुपर्छ ।