अमेरिकामा जनस्वास्थ्य संकटकाल घोषणा

अमेरिकामा जनस्वास्थ्य संकटकाल घोषणा


जनस्वास्थ्यमा गम्भीर समस्या देखिएको बताउँदै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकमा जनस्वास्थ्य संकटकाल घोषणा गरेका छन् । हिजो विहिबार गरिएको यो घोषणासँगै जनस्वास्थ्यको समस्या बढ्न अब रोकिने विश्वास उनले लिएका छन् ।

दुखाई कम गर्नेसम्बन्धी नशालु औषधि २० लाखभन्दा बढी अमेरिकी नागरिकले प्रयोग गरिरहेको र त्यो क्रम दिनप्रतिदिन बढिरहेको राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन् । ‘अमेरिकामा अहिले गोली लागेर र सवारी दुर्घटनामा परेरभन्दा नशालु औषधि प्रयोग गरेर मृत्यु हुनेको संख्या धेरै भएको छ, यस्तो औषधिको प्रयोग सबैभन्दा धेरै अमेरिका मै हुनेगरेको छ,’ ट्रम्पको भनाई छ । ह्वाइट हाउसमा आयोजित कार्यक्रममा राष्ट्रपति ट्रम्पले भने, ‘यो समस्याबाट प्रभावित नभएको कुनै क्षेत्र, कुनै समुदाय नै बाँकी छैन ।’

यही अवस्थालाई कायम राखिरहन नसक्ने बताउँदै उनले नशा नलाग्ने औषधिको उत्पादनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले संकटकाल घोषणाकाले अब अमेरिकामा जनस्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न सहयोगी रकमहरु बढाइने बताए । कार्यवाहक स्वास्थ्यमन्त्रीलाई देशभर जनस्वास्थ्यसम्बन्धी विषेश व्यवस्था गर्न पनि ट्रम्पले निर्देशन दिएका अमेरिकी अधिकारीहरुले बताएका छन् ।