बौद्ध परम्पराअनुसार स्वर्गीय राजा भूमीबोलको अन्तिम संस्कार

बौद्ध परम्पराअनुसार स्वर्गीय राजा भूमीबोलको अन्तिम संस्कार


– श्रीविक्रम भण्डारी (थाइल्याण्ड, बैङ्कक)

थाईल्याण्डका लोकप्रिय राजा भूमिबोल अदुल्यादेजको आज अन्तिम संस्कार गरिएको छ । राजा भूमीबोलको गत वर्ष देहवशान भएपनि साईत नजुरेका कारण एक बर्षपछि अन्त्यष्टि गरिएको हो ।

आज २६ अक्टुवर थाईल्याण्ड पूर्ण रुपमा बन्द छ । बाटो सुनसान छ, तर राजा भूमिबोललाई श्रद्धासुमन प्रकट गर्नेहरुको भिडले शोकलाई शक्तिमा बदल्ने प्रयास गरेको प्रस्टरुपमा देख्न सकिन्थ्यो । थाइल्याण्डका लागि राजा भूमीबोल राजा मात्र नभै भगवान नारायणका अवतार अर्थात देउतासरह नै थिए ।

आज तिनै जनप्रिय राजाप्रति श्रद्धासुमन प्रकट गर्न थाइल्याण्डका लाखौं नागरिकहरू ‘कालो पोशाक’ पहिरिएर सडकमा उत्रिएका थिए । आफ्नो प्यारो राजालाई अन्तिम श्रद्धान्जली अर्पण गर्न निकै अनुशासित ढंगबाट लामबद्ध भएर लाइनमा लागेका थिए । ३५ डिग्रीको चर्को घाम पनि आफुलाई संयम राख्दै सडकको विशेष स्थानमा राखिएको श्रद्धान्जली कार्यक्रममा उनीहरू सहभागी भएका थिए ।

आज बौद्ध परम्परा अनुसार राजा भूमिबोलको अन्तिम संस्कार भएको छ । राजाको अन्तिम संस्कार ग्य्राण्ड रोयल प्यालेस अर्थात सनामलुबाहु राजदरबारभित्र भएको थियो भने सो अवसरमा सेना विभिन्न टुकुरीले राजाको सम्मानमा सलामी अर्पण गरेको थियो । त्यस्तै राजाको आत्माको शान्तिका लागि बौद्धधर्म गुरुहरुले विभिन्न मन्त्रको उच्चारण गरेका थिए ।
सो दृष्य हेर्न ग्य्राण्ड प्लालेसमा लाखौं थाईल्याण्डका नागरिकहरुको उपस्थिति रहेको थियो । निकै आकर्षक रहेको भूमिबोलको उक्त राजकीय अन्त्यष्टिमा विश्वका चर्चित राजपरिवारका सदस्य र राजनेताको उपस्थिति रहेको थियो ।