दक्षिणपन्थी बन्न अस्वीकार गर्ने किन ?

दक्षिणपन्थी बन्न अस्वीकार गर्ने किन ?


– देवप्रकाश त्रिपाठी

– देवप्रकाश त्रिपाठी
धेरै भिन्न विचार समूहबीच सैद्धान्तिक दृष्टिमा जुन स्तरको अन्तर देखिन्छ, व्यवहार र चरित्रका आधारमा उनीहरूबीच कुनै भिन्नता रहेको महसुस गर्न सकिँदैन । चरित्र र व्यवहारमा जतिसुकै समानता देखिए पनि सिद्धान्त र विचारमा नेपालका राजनीतिक समूहहरूबीचको अन्तर आकाश–जमिनको दूरीमा रहेको अनुभूति हुन्छ, आजका नेपाली राजनीतिको मूल विशेषता पनि यही हो । राजाको सक्रिय नेतृत्वमा सञ्चालित पञ्चायती व्यवस्था अन्त्यको चरणसम्म नेपालमा सिद्धान्त, विचार, मूल्य र मान्यताको राजनीति स्थापित थियो । पञ्चायतको पक्षमा क्रियाशील भएर राजनीतिमा सामेल भएकाहरू नेपालमा राजसंस्थाको अपरिहार्यताबारे यति धेरै गीत गाउँथे, २०६३ को परिवर्तनपछि ‘पञ्च’हरू नक्कली राजभक्त भएको प्रमाण उनीहरू आफैँले प्रस्तुत गरे । जब कि पञ्चायतकालमा पञ्चहरू साँच्चै राजभक्त हुन् र त्यो उनीहरूको सैद्धान्तिक–वैचारिक अडानजस्तो लाग्दथ्यो ।

नेपाली काङ्ग्रेसले संवैधानिक राजतन्त्रसहितको बहुलवादमा आधारित संसदीय प्रजातन्त्रको पक्षमा त्यसताक प्रस्तुत गरेको वैचारिक अडान हेर्दा यो पार्टी पनि कुनै बेला आफ्नो विचार-सिद्धान्तबाट स्खलित होला भन्ने अनुमान गर्न सकिँदैनथ्यो । राष्ट्रियताको लागि राजसंस्थाको अपरिहार्यता देख्ने काङ्ग्रेसले आफूलाई गणतन्त्रको पक्षमा मात्र प्रस्तुत गरेन, मौलिक संसदीय प्रजातन्त्रका पक्षमा समेत आफू नरहेको व्यवहारतः पुष्टि गऱ्यो । २०७२ असोज २ गते जारी गरिएको संविधानले संसदीय प्रजातन्त्रको मौलिक एवम् प्रचलित गुणतत्वलाई उन्मूलन गरेको छ, वर्णशङ्कर चरित्रको बहुदलीयतालाई मात्र यसले स्वीकार गरेको छ । हुन त २०४६ को परिवर्तन नेपाली काङ्ग्रेसको वैचारिक नेतृत्वमा सम्पन्न भएको र कम्युनिस्टले समेत काङ्ग्रेसको वैचारिक नेतृत्वलाई स्वीकार गरेको थियो । २०६३ को परिवर्तनमा काङ्ग्रेसको भौतिक नेतृत्व भए पनि त्यसको वैचारिक नेतृत्व प्रत्यक्षतः कम्युनिस्टहरूले गरेका हुन् । यतिबेला काङ्ग्रेस–कम्युनिस्ट कसैले पनि नसोचेको, नखोजेको र नचाहेको व्यवस्था अस्तित्वमा छ । सत्ता र सम्पत्तिलाई मूल गन्तव्य बनाएर राजनीतिमा क्रियाशील भएकाहरू परिस्थितिलाई आफ्नो अनुकूल बनाउने प्रतिस्पर्धामा छन्, उनीहरूको यस्तै प्रतिस्पर्धाले बारम्बार देशलाई अलमल्याइराख्ने खतरा पैदा गरेको छ ।

गणतन्त्र घोषणापछिको पहिलो प्रतिनिधिसभा निर्वाचन (२०७४ मङ्सिर १० र २१) को पूर्वसन्ध्यामा कम्युनिस्ट पार्टीहरूबीच अप्रत्याशित ‘एकता’को घोषणा भएपछि यसले नयाँ आशङ्का र परिस्थितिको जन्म गराएको छ । सिद्धान्त र विचारविहीनताका बीच सम्पूर्ण सत्ता प्राप्तिका निम्ति कम्युनिस्ट पार्टीहरूले गरेको एकताले नेपालबाट संसदीय प्रजातन्त्र पूर्णरूपले उन्मूलन हुने आशङ्का बढाएको छ । विद्यमान संविधानमा जनप्रतिनिधिमूलक व्यवस्था गरिएको भनिए पनि पार्टी भूमिकालाई सर्वाेच्च तुल्याइएको छ । पार्टीको इच्छाविपरीत प्रधानमन्त्रीले मन्त्रीसमेत बदल्न नसक्ने व्यवस्था यो संविधानले गरेको छ । संसदीय प्रजातन्त्रमा जनप्रतिनिधिमूलक निकाय सर्वोच्च हुन्छ र कम्युनिस्ट शासनमा पार्टीको भूमिका निर्णायक रहन्छ भन्नेबारेमा शायद यहाँ व्याख्या गरिरहनुनपर्ला । व्यवहार र चरित्रगत भिन्नता न्यून भए पनि एकलौटी सत्ताप्राप्तिको महत्वाकाङ्क्षा पूरा गर्न कम्युनिस्टहरूले विचार र सिद्धान्तको नयाँ जलप उत्पादन गर्दै गरेको यो स्थिति हो । कम्युनिस्ट वामपन्थी पार्टीहरूबीच ‘एकता’ प्रक्रिया सुरु भएलगत्तै नेपाली काङ्ग्रेसले पनि गैरकम्युनिस्ट समूहहरूबीच गठबन्धन बनाएर ‘देखाइदिएको’ छ । यस प्रकार कम्युनिस्ट र गैरकम्युनिस्टबीच धु्रवीकरण हुनुलाई सकारात्मक रूपमा ग्रहण गर्दा मुलुकमा दुई पार्टी प्रणाली स्थापित हुने र त्यसले जनतालाई बहुपार्टीको झमेलाबाट मुक्ति दिने विश्वास गर्न सकिन्छ । तर, कम्युनिस्ट आन्दोलनको चरित्र र नेपालका कम्युनिस्ट नेताहरूको महत्वाकाङ्क्षासमेतको विश्लेषण गर्दा पछिल्लो घटनाक्रम देशमा प्रजातन्त्र सबलीकरणका निम्ति भन्दा एकलौटी सत्ता निर्माणको अभीष्ट प्राप्तितर्फ लक्षित देखिएको छ । त्यसर्थ पछिल्लो समयमा विकसित घटनाक्रमलाई सन्देशरहित ढङ्गले ग्रहण गर्नु गल्ती हुन सक्छ ।

कम्युनिस्टहरूले आफूहरूबीचको एकतालाई वामपन्थी एकता भन्न रुचाएका छन् । निर्वाचनमा दुईतिहाइ बहुमत हासिल गरेर ‘समाजवाद’ स्थापना गर्ने प्रतिबद्धतासहित अगाडि आएका कम्युनिस्टहरूले नेपाली काङ्ग्रेससहित सबै गैरकम्युनिस्ट समूहलाई आफ्ना दस्तावेजमा ‘दक्षिणपन्थी’का रूपमा चित्रण गरेका छन् । तर, काङ्ग्रेस, राजपा, राप्रपा, फोरमलगायतका समूहहरू आफूलाई ‘दक्षिणपन्थी’ मान्न हिचकिचाउँदै छन् । कम्युनिस्टका एजेन्डा ग्रहण गर्दैमा कम्युनिस्टले सधैँ तिनलाई क्रान्तिकारी, प्रगतिशील आदि मानिरहन्छन् भन्ने हुँदैन । धर्मनिरपेक्षतासहितको सङ्घीय, गणतन्त्र स्थापनासम्म कम्यनिस्टहरूले काङ्ग्रेसलगायतका दललाई प्रयोग–उपयोग गर्नु थियो, गरे । अबको राजनीतिक यात्रामा काङ्ग्रेससमेतका राजनीतिक समूहहरू बाधक हुन सक्ने भएकोले कम्युनिस्ट वामपन्थीहरूले तिनलाई ‘दक्षिणपन्थी’का रूपमा बुझ्ने, व्यवहार गर्ने र अन्तरविरोध पैदा गर्ने निश्चित छ, गरिरहेका पनि छन् । परिस्थिति प्रतिकूल भए ‘दुई पार्टी प्रणाली’को पक्षमा वकालत गर्ने र अनुकूल बनेको अवस्थामा क्रमशः आफ्नो एकछत्र राजको स्थिति बनाउने रणनीतिक योजनामुताबिक कम्युनिस्ट नेताहरूबाट परिस्थितिको व्याख्या हुँदै जानेछ । जुनसुकै अवस्थामा पनि कम्युनिस्टहरूले काङ्ग्रेसलगायतका समूहरूलाई ‘दक्षिणपन्थी’बाहेक अर्को कुनै नाम–विशेषणमा बुझ्ने छैनन् । यसरी कम्युनिस्टहरूले ‘दक्षिणपन्थी’ नाम दिए भन्दैमा आफूलाई दक्षिणपन्थी स्वीकार गर्न हिचकिचाउनुचाहिँ आश्चर्यजनक छ । दक्षिणपन्थी र वामपन्थी कम्युनिस्टबीचको भिन्नताबारे ‘दक्षिणपन्थीहरू’मा स्पष्ट जानकारी भएको भए या उनीहरूमा त्यसको जानकारी भए पनि आत्मविश्वास र साहस भइदिएको भए आफूलाई दक्षिणपन्थीका रूपमा प्रस्तुत गर्न सम्भवतः हिचकिचाउने थिएनन् ।

धेरैले जाने–बुझेको तथ्य के हो भने दक्षिणपन्थी र वामपन्थी चरित्रको व्याख्या–विश्लेषण पुरातनकालदेखि नै हुँदै आएको छ । मिश्र सभ्यताको पौराणिक कालमा मृत्यु भएपछि मानिसको शवलाई चिहानमा भरसक नसड्ने गरी गाड्ने चलन थियो । वर्षको एकपटक परमेश्वर चिहान भएको स्थानमा आउनुहुन्छ र धार्मिक तथा सत्कर्मीजतिलाई आफ्नो दायाँहाततर्फ र पापी तथा अधर्मीहरूलाई आफ्नो बायाँहाततर्फ लामबद्ध गराएर राख्नुहुन्छ भन्ने विश्वास त्यसबेलाको समाजले गरेको थियो । यही विश्वास इसाईहरूबीच भएको पृष्ठभूमिमा फ्रान्स र बेलायतका राजाहरूले पनि आफ्ना समर्थकहरूलाई राम्रा मानिस ठानेर संसद्मा दायाँतर्फ रहने र आलोचकहरूलाई (सम्भवतः) गलत पात्र ठानेर बायाँहाततर्फ रहने व्यवस्था मिलाएका हुन् । हरेक वामपन्थी कम्युनिस्ट हुन सक्दैनन्, तर हरेक कम्युनिस्ट अवश्य वामपन्थी हुन् र नकारात्मक तथा आक्रोशसहितको असन्तुष्टि वामपन्थी कम्युनिस्टहरूमा सधैँ स्थिर रहन्छ । एउटा दृष्टान्तको रूपमा चीनलाई लिन सकिन्छ । सन् १९४९ मा माओत्से तुङको नेतृत्वमा त्यहाँ पुँजीवादी जनवादी (जसलाई नयाँ जनवादी भनियो) क्रान्ति सम्पन्न गरियो र सम्पूर्ण सत्ता कम्युनिस्ट पार्टीको हातमा पारियो । त्यसको सात वर्षपछि पुँजीको राम्रो विकास नहुँदै समाजवाद घोषणा गरियो र त्यसलाई क्रान्तिको अर्को चरण पार गरेको भनियो । यसरी सम्पूर्ण सत्ता आफूमा निहित भइसक्दा पनि कम्युनिस्टले त्यहाँ क्रान्तिका नयाँनयाँ ढिंडोरा पिट्न छोडेनन् । सन् १९६६ देखि सांस्कृतिक क्रान्ति सुरु भएको घोषणा गरियो र देशभरिका धनाढ्य पृष्ठभूमिका, धार्मिक गुरु–पुरोहित, संस्कृति र परम्पराका पक्षपाती तथा कम्युनिस्ट पार्टीको सम्पर्क–सम्बन्धमा नआएका व्यक्तिलाई खोजी–खोजी हत्या गर्न थालियो । माओको मृत्यु नहुँदा (१९७६) सम्म निरन्तर चलाइएको कथित सांस्कृतिक क्रान्तिका क्रममा करिब ६ करोड चिनियाँ जनताको हत्या भएको अनुमान छ ।

सिद्धान्तमा साम्यवादको चाहना राख्ने, समाजवादका नाममा कम्युनिस्ट पार्टीको एकलौटी राज्यसत्ता स्थापना गर्न खोज्ने, प्रचलित धर्म, संस्कृति, परम्परा र सामाजिक मूल्य–मान्यता भत्काउन अग्रसर रहनेहरूलाई वामपन्थी कम्युनिस्ट भन्न सकिन्छ भने राष्ट्रवादी, देशभक्त, सामाजिक मूल्य–मान्यतासहित राष्ट्रिय समृद्धिको पक्षधर, प्रचलित धर्म, परम्परा र संस्कृतिको रक्षक तथा राष्ट्रिय सार्वभौमिकतावादको हिमायतीलाई दक्षिणपन्थीका रूपमा बुझिन्छ । सच्चा कम्युनिस्ट कहिल्यै देशभक्त नहुने, सधैँ अन्तर्राष्ट्रियवादी हुने भएकोले दक्षिणपन्थीहरू मात्र देशभक्त र राष्ट्रवादी हुन्छन् भन्ने तथ्यलाई बिर्सनुहुँदैन ।

मानिसको हत्या कम्युनिस्टबाट कसरी हुन्छ भन्ने कुराको जानकारी पाउन अब चीनको इतिहास पढिरहनु पनि पर्दैन, नेपालकै दशवर्षे (२०५२–२०६२) हिंसात्मक सङ्घर्षको रूप स्मरण गरे पुग्छ । यसरी कम्युनिस्ट वामपन्थीहरूले रक्तपातपूर्ण हिंसा तथा धर्म, मूल्य, मान्यता, परम्परा र प्रचलित संस्कृति एवम् संस्कारविरुद्ध लडेर आफ्नो इतिहास रचेका हुन्, आफ्नो पहिचान बनाएका हुन् । साम्यवाद स्थापनाका निम्ति समाजवाद र समाजवाद स्थापनाका निम्ति पुँजीवादी प्रजातन्त्र स्थापना गर्ने उनीहरूको घोषित नीति हो । नेपालमा हाल प्राप्त अवस्था–व्यवस्थालाई समाजवाद स्थापनाको निम्ति स्थापित पुँजीवादी प्रजातन्त्रको रूपमा उनीहरूले व्याख्या र ग्रहण गरेका छन् । समग्रमा बुझ्नुपर्दा सिद्धान्तमा साम्यवादको चाहना राख्ने, समाजवादका नाममा कम्युनिस्ट पार्टीको एकलौटी राज्यसत्ता स्थापना गर्न खोज्ने, प्रचलित धर्म, संस्कृति, परम्परा र सामाजिक मूल्य–मान्यता भत्काउन अग्रसर रहनेहरूलाई वामपन्थी कम्युनिस्ट भन्न सकिन्छ भने राष्ट्रवादी, देशभक्त, सामाजिक मूल्य–मान्यतासहित राष्ट्रिय समृद्धिको पक्षधर, प्रचलित धर्म, परम्परा र संस्कृतिको रक्षक तथा राष्ट्रिय सार्वभौमिकतावादको हिमायतीलाई दक्षिणपन्थीका रूपमा बुझिन्छ । सच्चा कम्युनिस्ट कहिल्यै देशभक्त नहुने, सधैँ अन्तर्राष्ट्रियवादी हुने भएकोले दक्षिणपन्थीहरू मात्र देशभक्त र राष्ट्रवादी हुन्छन् भन्ने तथ्यलाई बिर्सनुहुँदैन । देशको, धर्मको, संस्कृति र परम्परासहित आर्थिक समृद्धिको पक्ष लिने मानिस या मानिसको समुदायलाई दक्षिणपन्थी भनिन्छ भने नेपाली काङ्ग्रेसलगायतका दलहरू आफूलाई दक्षिणपन्थी भन्न किन लकपकाउँदै छन्, प्रश्न उठेको छ । यस आधारमा हेर्दा त वामपन्थी कम्युनिस्ट बन्नुभन्दा दक्षिणपन्थी हुनु नै गौरवको विषय हुनुपर्ने हो, तर यो वास्तविकतालाई स्वीकार गर्न प्रजातन्त्र पक्षधरहरू हिचकिचाउँदै छन् ।

अब अर्को एउटा तथ्यको पनि अवलोकन गरौँ, विश्वमा हाल नर्वे, स्वीडेन, डेनमार्क, ब्रिटेन, जर्मनी, फ्रान्स, नेदरल्यान्ड, बेल्जियम, अमेरिका, क्यानडा, अस्टे«लिया, न्युजिल्याण्ड, सिङ्गापुर, जापान, दक्षिण कोरिया, मलेसिया, कुवेत, साउदी अरेबिया र युएईलगायतलाई समृद्ध मुलुकका रूपमा लिइन्छ । पछिल्लो समयमा ब्राजिल, दक्षिण अफ्रिका, चीन र भारतलगायतका मुलुकले पनि धेरै ठूलो फड्को मारिसकेका छन् । अविष्मरणीय पक्ष के हो भने विश्वमा भएका कुनै पनि समृद्ध मुलुकको निर्माणमा वामपन्थी, कम्युनिस्टहरूको योगदान भएको पाइँदैन । सबै मुलुकको समृद्धिमा केवल दक्षिणपन्थीहरूको मात्र नेतृत्वदायी योगदान भएको पाइन्छ । दक्षिण कोरियाको समृद्धिका नायक पार्क चुङ ही या मलेसियाका महाथीर मोहमम्द वामपन्थी कम्युनिस्ट होइनन् । नेपालमा सबैजसो राजनीतिकर्मीहरूले पाइला–पाइलामा सिङ्गापुर सपना बाँड्ने गरेका छन्, तर सिङ्गापुरको निर्माणमा माक्र्सवाद, लेनिनवाद, माओवाद, जुच्छेवाद र वामपन्थीवादको सिन्काबराबर योगदान छैन । सिङ्गापुर समृद्धिका नायक ली क्वान यु कम्युनिस्ट परिभाषामा पूरै दक्षिणपन्थी हुन् । चीनको समृद्धिमा वामपन्थी कम्युनिस्टको मुख्य योगदान रहेको भन्ने दाबी हुन सक्छ र यस्तो दाबीलाई शतप्रतिशत गलत भन्न पनि सकिँदैन । तर, चिनियाँ समृद्धिको इतिहास केलाउँदा देङ सियाओ पिङ अभिन्न अङ्ग बनेर प्रकट हुन्छन्, जसलाई माओले ‘दक्षिणपन्थी’ भनेर जीवनभर खेदिरहे । कम्युनिस्ट पार्टीको उपाध्यक्ष रहेका देङलाई दक्षिणपन्थी भएको आरोपमा माओले जुन यातना र सजाय दिए त्यसको दर्दनाक बेलिविस्तार देङपुत्रीद्वारा लिखित पुस्तकमा पढ्न पाइन्छ । हो, तिनै दक्षिणपन्थी देङ सियाओ पिङले निर्माण गरेको चीन नै आजको चीन हो, वामपन्थी कम्युनिस्ट माओ त्से तुङको योगदान होइन । त्यसो त माओले स्थापित गरिदिएको एकलौटी सत्ताको जगमा टेकेर देङले चीनलाई समृद्धिको खुड्किला चढाएका हुन् भन्ने दाबी गर्न सकिएला । उत्पादन र विकास आर्थिक समृद्धिका लागि, स्वतन्त्र र सभ्य जीवनका लागि समग्र समृद्धि भन्ने विचार–दर्शनलाई मूल मन्त्र बनाएर ‘दक्षिणपन्थी’ देङले सुरु गरेको आर्थिक उदारीकरणको परिणाम आजको चीन हो । आर्थिक उदारीकरणले नै त्यहाँ स्वतन्त्रता र प्रजातन्त्रको जग पनि बसाउँदै छ ।

अर्को छिमेकी मित्रराष्ट्र भारतमा पनि यतिबेला दक्षिणपन्थी शक्ति नै राष्ट्रिय शक्ति बनेको छ । भारतीय अर्थतन्त्रलाई गति दिने पीबी नरसिंह राव, राजीव गान्धी या मनमोहन सिंह कोही पनि वामपन्थी या वामपन्थी कम्युनिस्ट होइनन् । कम्युनिस्ट संसारले यिनलाई जान्ने–बुझ्ने भनेको दक्षिणपन्थीकै रूपमा हो । त्यस्तै भारतीय जनजनको मुटुका धुकधुकी बनेका, भारतीय राष्ट्रवादका अद्वितीय अभियन्ता नरेन्द्र मोदी पनि वामपन्थी होइनन् । कम्युनिस्टका दृष्टिमा पूर्ण दक्षिणपन्थी बन्न जे–जस्ता गुणहरू आवश्यक पर्छ ती सबै गुण नरेन्द्र मोदीमा नमेटिने गरी विद्यमान छ । उनी राष्ट्र, राष्ट्रवाद, राष्ट्रिय एकता, सार्वभौमिक सम्पन्नता, धर्म, संस्कृति, परम्परा तथा अध्यात्मको पक्षमा समर्पित देखिन्छन् र देशको शान्ति, स्थिरता र समृद्धिबाहेक अर्को कुनै लक्ष्य, गन्तव्य र महत्वाकाङ्क्षा पनि मोदीमा देखिँदैन । यिनै दक्षिणपन्थी मोदी भारतीय जनताका प्रिय नायक भएका छन् र देश बनाउने अदम्य साहस उनले दर्शाएका छन् । जनतामा जागरण ल्याउन, आर्थिक समृद्धिको मार्ग पहिल्याउन, राष्ट्रियता र राष्ट्रिय एकता एवम् सुदृढ भारतीय सार्वभौमसत्ताको विकास गर्न, स्वदेशी धर्म, संस्कृति र परम्परा तथा सामाजिक मूल्य–मान्यताको संरक्षण गर्दै भारतीय भएकोमा गौरव महसुस गराउने काम झन्डै चार दशक निरन्तर शासन गर्ने वामपन्थी कम्युनिस्ट ज्योति बसु या कुनै सीताराम येंचुरी र हरिकिसन सिंह सुरजितहरूले गरेका होइनन्, यसको सम्पूर्ण जस (यश) दक्षिणपन्थी भनिने भारतीय जनता पार्टी र त्यसका नेता नरेन्द्र मोदीलाई नै दिनुपर्ने हुन्छ ।

नेपालमा वामपन्थी कम्युनिस्टहरूले सामाजिक तोडफोड र सार्वभौमिकताको अङ्गभङ्ग गर्ने अभियान चलाइरहँदा भारतमा महान् दक्षिणपन्थी नेता नरेन्द्र मोदी सुदृढ र समृद्ध भारतका निम्ति अविष्मरणीय जागरण पैदा गर्दै छन् । देशका निम्ति वामपन्थीभन्दा दक्षिणपन्थी विचार तथा व्यक्ति नै उपयोगी र उपयुक्त हुन सक्छन् भन्ने तथ्यको पुनर्पुष्टि मोदीले गरिदिएका छन् । मानवजीवनलाई समृद्ध बनाउने विचार नै प्रगतिशील विचार हो र यस्तो विचारलाई व्यवहारमा प्रमाणित गर्ने काम संसारभर केवल दक्षिणपन्थीहरूले मात्र गरेका छन् । वामपन्थी कम्युनिस्ट विचार नै सही हुन्थ्यो भने यतिबेला विश्वमा कसैले भेट्नै नसकिने गरी उत्तर कोरिया, क्युवा र जिम्बाबेले सर्वाधिक बलवान तथा समृद्ध मुलुक बन्न सक्थे । शासन सुरु भएको सात दशक पुगिसक्दा पनि ती देशका नागरिक पशुवत् र नारकीय जीवन जिउन विवश छन् । त्यसैले गौरवका साथ भन्न सकिन्छ, ‘दक्षिणपन्थी शक्ति नै राष्ट्रियता, राष्ट्रिय एकता र समृद्धिका बाहक हुन् ।’ नेपालका प्रजातन्त्र पक्षधर शक्तिले आफूलाई दक्षिणपन्थी भन्न र दक्षिणपन्थी भएकोमा गौरव अनुभूति गर्न अनकनाउनुपर्ने कुनै कारण देखिँदैन ।