सुशील नेतृत्वको नेपाली काङ्ग्रेस

सुशील नेतृत्वको नेपाली काङ्ग्रेस


-वीरेन्द्रमणि पौडेल
वर्तमान नेपालमा सक्रिय राजनीतिक यात्रा गरिरहेका सम्पूर्ण दलमध्ये सबैभन्दा पुरानो नेपाली काङ्ग्रेसको बाह्रौँ राष्ट्रिय महाधिवेशन हालै काठमाडौंमा सम्पन्न भयो । निजी घर नभएका, श्रीमतीको आवश्यकता महसुस नगरेका, आर्थिक भ्रष्टाचारलाई राष्ट्रिय अपराध ठान्ने, सम्पूर्ण रूपले जनताको हितमा समर्पित, निजी स्वार्थबाट टाढा रहेका कोइराला थर भएका सुशील यस महाधिवेशनबाट शक्तिशाली सभापति पदमा विजयी भए ।
कुनै पनि हालतमा सभापति पदमा विजयी नबनी नछाड्ने अठोटका साथ दल, बल, बुद्धि र अन्य चिजबिजको सहयोग लिएर चुनावी मैदानमा उत्रिएका शक्तिशाली भूतपूव प्रधानमन्त्री शेरबहादुर देउवा सुशीलका अघिल्तिर हल्का नै सावित भए । उच्च प्रतिस्पर्धासहित प्रशंसालायक मत ल्याए पनि देउवा गज्जबले पछारिए । देउवासँग सबै खालको तागत थियो । सुशीलसँग सिर्फत्याग र बलिदान थियो । सुशीलको त्याग र बलिदानको अगाडि शेरबहादुरका सबैखालका अस्त्रहरू प्रभावहीन सावित भए । सादा जीवनवाला सुशील आफू स्वयम्ले ज्यादा मिहिनेत नगरी निर्वाचनमा विजयी भए ।
निर्वाचन परिणामपछि नेपाली काङ्ग्रेस र सुशील-देउवाबारे नेपाली नागरिक समाजमा व्यापक छलफल र बहस आरम्भ भएको छ । एक पक्षले अझै पनि हारेका शेरबहादुरलाई नै ‘बहादुर’को संज्ञा दिएर स्याबासी दिइरहेका छन् । देउवालाई स्याबासी दिनेहरूको तर्क छ- गिरिजाप्रसाद कोइराला जीवित छँदा उनले पार्टी परिवारवाद लादेको, अन्य राजनीतिक दलहरूको अस्तित्व नस्वीकारेको, बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादी चिन्तन बोकी आदर्शवादी राजनीति अङ्गाल्ने नेता-कार्यकर्ताहरूको गिरिजाले राजनीति नै समाप्त पारिदिएको, गणेशमानजस्ता प्रधानमन्त्रीको पदसमेत अस्वीकार गर्न सक्ने, नेपाली वामपन्थीहरूले समेत सम्मान गर्ने लौहपुरुषलाई राजनीतिबाट सन्न्यास लिन बाध्य पारेका, पार्टींस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई रुवाउँदै प्रधानमन्त्रीको कुर्सीीट गलहत्याएको र त्यागी महिला नेतृ शैलजा आचार्यलाई मर्ने बेलामा समेत मानवीय व्यवहार प्रदर्शन नगरेका खालका आरोप खेपेका गिरिजाकै पथमा सुशील हिँडेको र तिनै कोइरालाको वर्चश्व समाप्त पार्न शेरबहादुरले हिम्मत गरेको बताउँदै देउवालाई ‘हिरो’को उपमा अझै पनि दिएका छन् भने सुशीलको जित र शेरबहादुरको हारलाई उचित भन्नेहरूको तर्क अझै मजबुत छ । एकातर्फसुशीलको सादा जीवनको प्रशंसा गरिन्छ भने शेरबहादुरको रङ्गीन जीवनको खेदो खनिन्छ । हुँदाखाँदाको सग्लो नेपाली काङ्ग्रेसलाई फुटाएर कमजोर तुल्याएको आरोप शेरबहादुरमाथि लगाइन्छ भने दरबारको ज्वाइँ र पजेरो काण्डका नाइकेको संज्ञा पनि दिइएकै छ । यतिबेला यस्ता खालका बहसले नेपाली समाज ताते पनि यो बहसको आयु त्यति धेरै लामो हुने छैन । यो चाँडै सेलाउने पक्का छ । भनिने छ- यो नेपाली काङ्ग्रेसको आन्तरिक मामला हो ।
तर राजनीतिको निरन्तर प्रक्रियाअर्न्तर्गत देउवा-सुशील हारजित प्रकरणको अन्त्य भए पनि काङ्ग्रेस पार्टीको अबको राजनीतिक यात्रालाई राजनीतिक विश्लेषकहरू र नेपाली नागरिक समाजले निरन्तर चासोसहित अध्ययन गरिरहने छन् । यतिबेला पनि मुलुकले राजनीतिक सङ्क्रमणलाई सामना गरिरहेको छ । संविधान लेखन कार्य अघि बढेको छैन । शान्ति-प्रक्रिया टुङ्गोमा पुगेको छैन । माओवादीले जन्माएका जनमुक्ति सेनाको भविष्य उज्ज्वल हुने ग्यारेन्टीसहित समायोजन, व्यवस्थापन वा पुनर्स्थापन अनमिनले चार महिनाभित्र नेपाल छाड्नुअघि नै गरिसक्नुपर्नेछ ।
अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा २ बमोजिम बहुमतको सरकार निर्माण प्रक्रियामा मुलुक अल्भिएको लामो समाय बितिसकेको छ । नयाँ प्रक्रियामा जाने-नजाने, टुङ्गो लागेको छैन । यो स्थितिलाई हेर्दा नेपाली जनताले चाँडै अधिकारसम्पन्न दह्रो सरकार पाउने स्थिति देखिँदैन जुन स्थितिलाई घातक र नकारात्मकबाहेक अरू केही भन्न सकिँदैन ।
नयाँ संविधान निर्माणका लागि जनतासँग मागेको दुईवर्षो अवधि समाप्त भएर थपिएको अतिरिक्त एक वर्षो पनि झन्डै छ महिना बितिसकेको छ । बाँकी रहेको समयभित्र कुनै पनि हालतमा संविधान लेखेर जारी गरिसक्नुपर्ने छ । थपिएको एक वर्षपनि त्यसै खेर गएमा अत्यन्तै जटिलता सिर्जना हुनेछ । विकल्प फेरि समय थप गर्नु हुनेछ । यसरी कति समय थप गरिरहने भन्ने प्रश्न जनताले तेर्स्याउने छन् । संविधानसभा विघटनको माग बेजोडले उठ्ने छ । संविधानसभा विघटनको मागलाई अनुचित माग भन्न सक्ने नैतिक आधार र बल राजनीतिक दलहरूले गुमाउनेछन् । बाध्यतावश संविधानसभा विघटन गर्नु भनेको सम्पूर्ण राजनीतिक दल असफल भएको बुझिनेछ र राजनीतिक रिक्तता छाउनेछ । विश्व राजनीतिक इतिहास साक्षी छ यस्तै अवस्थामा कुनै तानाशाहको टुप्लुक्क उत्पत्ति हुनेछ र अनिश्चितकालका लागि लोकतन्त्रलाई बन्धक बनाउनेछ । यतिबिघ्न डर लाग्दा राजनीतिक समस्याका बीच सुशील कोइराला नेपाली काङ्ग्रेसका सभापति निर्वाचित भएका छन् र यी तमाम समस्यासँग जुध्नु उनको बाध्यता हुनेछ । एकातर्फएमाओवादी र एमालेजस्ता शक्तिशाली राजनीतिक दलहरूसँग सहमति कायम नगरी मुलुकलाई गन्तव्यमा पुर्‍याउन सकिँदैन भने पराजित आफ्नै पार्टी शेरबहादुर समूहलाई सँगै लिएर हिँड्नु र साना दलहरूको चित्त बुझाउनु पनि सुशीलको अगाडि बाध्यात्मक आवश्यकता देखिन्छ । जनमतका हिसाबले मुलुकभित्र कम्युनिस्ट शक्तिशाली छ । अन्तर्राष्ट्रिय सहयोग र र्समर्थनका हिसाबले नेपाली काङ्ग्रेस दह्रो छ । अन्तर्राष्ट्रिय सहयोग र र्समर्थन हामी नेपालीका लागि थुप्रै कारणले अपरिहार्य जस्तै देखिएको छ । त्यसैले पनि राष्ट्रिय राजनीतिमा कम्युनिस्ट ध्रुवीकरण सहज देखिएको छैन । अन्तर्राष्ट्रिय जगत्ले पक्का लोकतान्त्रिक पार्टीको प्रमाणपत्र नेपाली काङ्ग्रेसलाई दिएको र विदेशी सहयोगले नेपाल चलाउन बाध्यात्मक स्थिति भएकोले पनि यतिबेला नेपाली काङ्ग्रेसका सभापति सुशीलको भूमिका र महत्त्व रहेको मूल्याङ्कन गर्न सकिन्छ । हेर्दै जाऔँ, पर्खंदै जाऊँ सत्यवादी र इमान्दार बुझिएका सुशीलले दलदलमा झन्डै आधाआधी भासिइसकेको मुलुकलाई बाहिर निकालेर कसरी ठिकठाक पार्छन्, देशलाई असफल राष्ट्र हुनबाट कसरी जोगाउँछन् ।