‘एनआरएन’हरूको स्तुत्य कदम

‘एनआरएन’हरूको स्तुत्य कदम


-शिवजी श्रेष्ठ
करिब दस वर्षपहिले लण्डनको म्याडम टुसाद भ्रमण गर्न जाँदा दलाई लामाको मूर्तिमा राखिएको उहाँको चिनारीमा आँखा टक्क अडियो । जहाँ लेखिएको थियो ‘बुद्धको अनुयायी’ र बुद्धलाई कोष्ठभित्र ‘भारत’ भनी उल्लेख गरिएको देखेपछि एउटा नेपाली मन अमिलिएको थियो । त्यतिखेर लाग्यो- नेपालसँग २०० वर्ष पुराना ऐतिहासिक सम्बन्ध भएको देशमा त ‘बुद्ध’को बारेमा त्यस्तो भ्रम छ भने अन्यत्र के होला ?
जब कुनै वस्तु, व्यक्ति वा स्थानको आफ्नै किसिमको महत्त्व हुन्छ, तब त्यसमाथि स्वाभाविक रूपमा सबैको ध्यानाकर्षासँगै हक दाबी पनि सुरु हुन्छ नै, सायद यही भइरहेछ, । जबजब बुद्ध -सिर्द्धार्थ गौतम) को सर्वोपरी महत्त्व बढ्दै गयो, संसारको ध्यानाकर्षा हुँदै गयो, भारतलाई तत्कालीन ऐतिहासिकताको फाइदा लिन इच्छा जाग्यो होला । भारतको विश्व प्रभावको कारणले पनि हात माथि पार्न सफलता मिलेको छ । सबैभन्दा अचम्म त बुद्धको बारेमा फैलिएको भ्रमको बारेमा देखिएको बौद्धिक जगत्, बुद्धसँग सम्बन्धित सङ्घ/संस्थाहरूको अस्वाभाविक मौनता हो, त्यसमा पनि सरकारी निकायको तटस्थता त आफ्नो ठाउँमा छँदै छ । तेन्जिङ शेर्पा सगरमाथा आरोहण गरिसकेपछि भारतीय नागरिक हुन जानु, आप्पा शर्ेपा बीसौंपटक सगरमाथा चढेपछि अमेरिका बस्न जानुपर्ने अवस्था रहेको दु:खलाग्दो परिस्थितिमा नेपालको अहिलेको स्वरूप नै नरहेको अवस्थामा जन्मिएका बुद्धको बारेमा सायद सरकारी अन्योल हुनसक्छ । तर, यसबीचमा जनस्तरबाटै भए पनि संसारभर छरिएर रहेका गैरआवासीय नेपालीले कपिलवस्तु दिवस अभियानको रूपमा भए पनि बुद्धको बारेमा रहेको भ्रम चिर्दै प्रचारात्मक तवरले गरेको प्रयास एउटा आशालाग्दो एवम् उत्साहजनक गोरेटो बन्ने क्रममा छ ।
कतिपयको तर्क छ- जुनबेला बुद्धको जन्म भएको थियो त्यसबेला नेपालको अहिलेको भौगोलिक स्वरूप नै थिएन । यो सत्य हो, तर अहिलेको भारतको स्वरूप पनि त थिएन, यो पनि यथार्थ हो । विगतको इतिहासलाई विश्लेषण गर्ने हो भने केही शताब्दी अगाडि पुग्नेबित्तिकै सबै राष्ट्रका वर्तमान भूगोलहरू यथास्थितिमा पाइँदैनन् । तर, अकाट्य तथ्य के हो भने, विगतमा फरक-फरक हैसियत वा पृष्ठभूमिमा रहेका भूभागले बोकेका इतिहासहरू वर्तमानमा तिनीहरूको स्वरूपसँगै एकाकार हुन्छन् । त्यसरी नै कौशल राज्य कपिलवस्तु हुँदै बनेको कपिलवस्तुको इतिहास पनि वर्तमान नेपालसँग एकाकार हुन आउँछ ।
इतिहासलाई कोट्याएर हेर्दा, नेपालको पश्चिमतराईमा अवस्थित शाक्य राज्य सिर्द्धार्थ गौतमको पैतृक राज्य थियो । मानुषि बुद्ध कनकमुनि र क्रकुच्छन्दको जन्मथलो पनि निग्लिहवा र गोटिहवा हो, जुन कपिलवस्तुमा नै पर्छ । जसको इतिहार्स इशापूव नवौं शताब्दीसम्म पुगेको देखिन्छ । कपिलवस्तु राज्य र शाक्य वंशको नामाकरणबारेमा सुमंगल, महावस्तु र दिग्घनिकाय आदि बौद्धग्रन्थहरूमा विभिन्न कथा तथा सर्न्दर्भ उल्लेखित छ । कौशल राज्यका राजा ओकाक वा इक्ष्वाकुकी जेठी रानीको मृत्युपछि कान्छी रानी जयन्तीको कोखबाट जन्मिएका जयन्त कुमारले गद्दी प्राप्त गरोस् भन्नाखातिर रानीको आग्रहमा राजाले जेठी रानीबाट जन्मिएका सबै सन्तानलाई राज्य निकाला गरे । राज्यविहीन उनीहरू घुम्दै जाँदा कपिलमुनि ऋषिको आश्रममा पुग्दा उनैको सल्लाहमुताबिक सालको रूख कटान गरी बस्दै जाँदा बस्ती विस्तार हुन गयो । यसलाई ऋषिकै नाम कपिलवस्तु अर्थात् कपिलवस्तु भनियो । तिनै राजा ओकाकले बस्तीमा पुगी प्रसन्न भई ‘सक्य’ ‘सक्य’ भनी बोलाएको हुँदा शाक्य कहलिन थालियो भनी ग्रन्थमा उल्लेख छ । तिनै वंशमा सिर्द्धार्थ गौतमको जन्म भयो र ज्ञान प्राप्तिपछि गौतम बुद्ध कहलिए । तिनैको कारणले कपिलवस्तुको महिमा बढ्न जाँदा भारतीय दाबी पनि बढ्न गएको महसुस हुन्छ । कौशल राज्यका प्रसेनजितका छोरा विरुदवले तीनपटक आक्रमण गरी शाक्य वंशको अन्य गरे तापनि धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण भएको हुँदा विभिन्न बौर्द्धधर्मको अनुयायी तथा अन्वेषकहरू यहाँ आई उत्खनन तथा अध्ययन गरेको पाइन्छ । सम्राट अशोक, चिनियाँ यात्री सु-चिङ-चु, हुया साँग, फालिया, खस राजा रिपु मल्ला चौथोदेखि सातौँ शताब्दीसम्म यहाँ आएका प्रमाण पाइएको छ ।
आधुनिक समयमा कपिलवस्तुको खोजी झन् व्यापक रूपमा हुन गयो । सन् १८९५-९६ मा जर्मनका पुरातत्वविद् भारतको पुरातत्व विभागको निर्देशनानुसार यस क्षेत्रमा आई मौर्य सम्राट आशोकले गोटिहवा, निग्लिहवा र लुम्बिनीमा राखेका स्तम्भहरू फेला पारे । जसमा पुरातत्वविद् फ्युहरू र नेपालका पूवकमान्डर इनचिफ खड्गशमशेरको महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ । निग्लिहवा र लुम्बिनीमा ब्राह्मी लिपिका अभिलेखहरू लिखित रूपमै फेला पर्नाले बुद्धको नेपालसँगको नातालाई प्रामाणिक स्वरूप दिन सजिलो भयो । इ.सं. १८९८ मा पी.सी. मुखर्जी, सन् १९६२ मा देवला मित्रा, १९७६-८६ सम्म रिस्सो विश्वविद्यालय -जापान), इटालीको इस्मियो, जापानका बौद्ध सङ्घ, नेपालका पुरातत्व विभाग, लुम्बिनी विकास कोषलगायतको खोजमा थप प्रामाणिक कुराहरू भेटिएका छन् ।
यी माथिका खोज र उत्खननबाट भेटिएका प्रामाणिक स्तम्भ तथा शिलालेखहरूबाट बुद्धको जन्मस्थललगायत सम्बन्धित कुराहरूको बारेमा प्रस्ट्याउँदा-प्रस्ट्याउँदै छिमेकी मित्रराष्ट्रबाट नक्कली लुम्बिनी वा कपिलवस्तुको स्थापना हुनु, बुद्ध भारतमा जन्मिएको हो भनेर प्रचार गरिनु उदेकलाग्दो कुरा हो । सबैभन्दा ताजुबलाग्दो कुरा त माथि उल्लेख गरिएका उत्खनन कार्यमा भारतीय अन्वेषक मात्र नभएर भारतीय सरकारी निकायको विशेष संलग्नता, अझ भनौँ पहलकदमी देखिएको छ । आफ्नै निकाय र अन्वेषकले गरेका कुराहरूलाई अपभ्रश गर्नु अझ निर्लज्ज महसुस हुन्छ । त्यसमा पनि भारतमा मौर्य सम्राट अशोकलाई श्रद्धा र सम्मानले हेरिन्छ जुन हालको भारतको अशोक चक्रबाट नै प्रमाणित हुन्छ । तर, तिनै अशोकले बुद्धको बारेमा आफैं आई स्थापना गरेका अशोक स्तम्भलाई नै छायामा पार्न खोज्ने कार्य आफैंलाई गिज्याएजस्तै हो ।
सबैभन्दा सोचनीय कुरा हाम्रो सरकारी निकायको तटस्थता अनि बौद्ध सङ्घ-संस्थाको मौनता अचम्मलाग्दो छ । बुद्ध हाम्रो मात्रै हो पो भन्न अप्ठ्यारो, बुद्ध जन्मेको ठाउँ हाम्रै कपिलवस्तु जिल्लामा पर्छ भन्न केको अप्ठ्यारो ? सत्यलाई सत्य भन्न अरूले आफ्नो गौरवप्रति दाबी गर्दा, सत्यता यथार्थ कुरामा स्पष्ट बोल्न किन डर ? किन अप्ठ्यारो ? चाहे त्यो सरकार होस् वा संस्था, व्यक्ति होस् वा समूह ।
दाबी गर्नुको पनि एउटा हद हुन्छ । प्रसंग बीचमै कार्डिफ युनिभर्सिटीमा विद्यावारिधिपछि कार्यरत एक भारतीय मित्रले सीता पनि भारतमै जन्मिएको भनिदिए । झोंक चले पनि धैर्यसाथै तर्क दिँदै तिम्रै देशको महारानीले सीताको माइती जनकपुरमा नौलखा मन्दिर बनाइदिएको बताउँदै जनक राजाको राजधानी जनकपुर नेपालमा भएको मेरो तर्क काट्दै उनले भनेथे, ‘जनकले नेपालबाट हलो जोत्दै जाँदा जहाँ सीता भेटियो, त्यो ठाउँ भारतमा पर्दथ्यो ।’ यो सुनेपछि मनमने सम्भिmएँ- अब पालो भृकुटीको होला ? अझ सम्भिmए धन्न कसो सगरमाथा पनि दक्षिणको सीमातिर परेन । जे होस्, सम्बन्धितहरूको मौनता, तटस्थता जे भए पनि कपिलवस्तु दिवस अभियानको नाममा सचेत नेपालीहरूले चलाएको अभियान स्तुत्य छ, कर्तव्यपूर्ण छ, अनि सफलोन्मुख पनि छ ।