प्रसिद्ध लेखक नरेन्द्रराजले लेखे कोमललाई मार्मिक पत्र

प्रसिद्ध लेखक नरेन्द्रराजले लेखे कोमललाई मार्मिक पत्र


प्रिय बहिनी कोमल ओली
मीठो सम्झना !

३० वर्षभन्दा पनि अघिदेखि नै हामीमाझ सम्पर्क रहँदै आयो । सुरूमा हाम्रो सम्बन्धको आधार पत्राचार थियो र पहिलो पटक तिमीले नै मलाई चिठी लेखेकी थियौ । त्यस बेला दाङको टिकरीबाट हुलाकद्वारा तिमीले मलाई पठाएका सबै चिठी अझैसम्म मैले राखेको छु ।

कोमल !
तिमीले मलाई लेखेको पहिलो चिठीमा नै मेरो राजभक्तिको प्रशंसा गरेकी थियौ । त्यति खेरसम्म त्यसरी ससम्मान राजनीतिको गुदी राखेर शायद मलाई कसैले चिठी लेखेका थिएनन् । त्यसपछि हाम्रो सम्पर्क पनि क्रमशस् बढ्न थालेको थियो । तिमी हामी राजाको जयगान गर्ने वर्गका भएर होला हाम्रो कुरा पनि खुबै मिल्थ्यो ।

२०४५ सालतिर नै होलास तिमी दाङबाट राजधानी काठमाडौं आयौ र यतै आफ्नो पहुँच कायम गर्न थाल्यौ । किनभने तिमी प्रतिभाशाली पनि थियौ । लेख्न र पढ्न पनि तिमीलाई समकालीन पुस्ताले भेट्टाउदैन थियो भन्ने म घमण्ड गर्थें । तिम्रो त्यही सीपका कारण तिमीले ‘समकालीन साप्ताहिक’मा पनि स्तम्भ लेख्न थालेकी थियौ ।

सूर्यबहादुर थापाले ‘नेपालीपत्र साप्ताहिक’बाट जनार्दन आचार्यलाई लघारेपछि ‘समकालीन साप्ताहिक’ मेरो समेत सहयोगमा स्थापना भएको थियो । त्यस बखत प्रा.राजनारायण प्रधान र बाबा बस्नेतलाई पनि मैले नै त्यस साप्ताहिकमा पनि पुर्याएर म झैं स्तम्भकार बनाएको थिएँ ।

तिमीले समकालीन साप्ताहिकमा लेख्न थालेपछि म तिम्रो लेखनको वयान गर्थें । तर त्यस बेलासम्ममा जनार्दन आचार्य र मेरा माझ चिसोपन सुरू भैसकेको थियो । त्यसैकारण बाबा बस्नेत र मैले लेख्न पनि छाडेका थियौं । अनि केही दिनपछि एक जनाले (शायद तिम्रै मान्छे हुनुपर्छ) फोन गरेर मलाई बेस्सरी गाली गरेका थिए- ‘समकालीन साप्ताहिकूमा कोमलको लेख नछाप्नु भन्ने तँ को होस् !’ त्यस्तो फोन हरेक साता केही महिनासम्म मलाई आइरह्यो । त्यो कर्तुत या खुराफाती आचार्य खलककै हो भन्ने मलाई चिसो पसिसकेकै थियो । तर जसले मलाई गाली गरे तापनि मैले तिम्रो प्रसंशामा एकोहोरो घाँटी सुकाउन छाडेको थिइँन । मेरा केही नराम्रा बेहोरामा एकोहोरो पन पनि एउटा हुँदै हो भन्ने मलाई लाग्छ नै !

कोमल ! तिमीले कति चाँडै उचाई प्राप्त गर्दै गयौ ! तिम्रा समकालीनहरू प्रायस् कुवामा नै अझैसम्म ओथारो बसिरहेका पनि म हेर्द‌ै आउदैछु । त्यसैले तिम्रो ईर्श्या गर्नेहरूलाई पनि मैले भन्न छाडिन- ‘एउटी गाउँकी केटी जो सधै परिश्रम गर्छिन्स उनी कहिले थाकिनन्, आत्तिनन् र मौन पनि बसिनन् । उनको बौद्धिक क्षमता पनि उच्च छ, रातोदिनको मिहेनत पनि छ र जोश, जाँगर र सीप पनि छ । हामीले पनि उनी जस्तो हुन पो सिक्नु पर्छ त !’

रेडियो नेपालबाट तिम्रो स्वरमा समाचार आउँदा म रेडियोमा कान जोडेर सुन्ने गर्थें । मेरी पुरोधिका इन्दिराले पनि तिम्रो वाचन शक्तिको खुबै तारिफ गर्थिन् । तर कोमल ओली जस्ती उत्कृष्ट समाचार वाचकले जागिर छाडेर एक्कैचोटि राजनीतिमा हाम फालेको खबर पढ्दा हामी जोईपोइले हेराहेर गर्यौं । अनि एक छिनमा इन्दिराले मलाई भनिन्- ‘कोमल ओली पीपल हुन्स त्यसैले गमलामा पीपल कसरी फस्टाउन सक्छ र ! फेरि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा न लागिन् ! त्यसको अध्यक्ष पनि कमल थापा छन् । कमल थापा भन्नु राजसंस्थाका एउटा सग्लो, सबल र सक्षम प्रतिनिधि पनि हुन् । त्यति मात्र नभएर कमल थापाको राजनीतिक भविष्य पनि स्वर्णिम छ ।’

मेरी पुरोधिकाले तिम्राबारे दिएको तर्कमा तुक देखेपछि तिमी राजनीतिमा लागेको मैले पनि ठीकै ठानें । त्यस बेला इन्दिराले थप भनेकी पनि थिइन्- ‘कोमल ओलीले राजनीतिमा लाग्नु पर्थ्यो, लागिन् । उनलाई म त मान्छु । उनी जस्ती राजभक्त नारी मैले बिरलै देखेकी छु । दरबार हत्याकाण्ड हुँदा उनी जापानमा थिइँन् । त्यो समाचार सुनेर उनले आफ्नो टाउकामा छुरा लगाइन् र उतैबाट उनी मुडुलो टाउको नेपाल आएकी थिइँन् । खोई अरू नारीले दरबार हत्याकाण्डमा कपाल खौरेको त मलाई थाहा पनि छैन ।’

त्यसैले होला तिमी रेडियो नेपाल छाडेर राप्रपामा हामफाल्दा मेरी बूढीले तिम्रो वकालत गर्दै तिम्रो रङ्गीन फोटो सहित फेसबुक रङ्गाएकी थिइँन् । तर आज तिमी हतारहतार कम्युनिष्टमा भर्ना हुँदा इन्दिरालाई समेत लाज लागेको हुनुपर्छ, कुरीकुरी भएको हुनुपर्छ र काउकुती लागेको हुनुपर्छ । तिमीले मनाएको तिम्रो त्यो खुसीयालीको दृश्यात्मक समाचार हेरेर म त केही समय बोल्न पनि सकिनस कोमल !

प्रिय बहिनी कोमल !
नेपालको राजसत्तालाई हटाउने काम माओवादीले नै गरेको थियो । यस मामलामा एमाले र काङ्ग्रेस पनि माओवादीको जुठोपुरो खाएर राजतन्त्रप्रति भष्मासुर भएका थिए । आज त्यही दलमा तिमीले शिर थापेर निधारमा अविर लगाएको फोटो हेर्दा मेरो छाती फुट्यो र म रोएँ । धरोधर्म तिमीसँग मेरो मन नै भाँच्चियो । हिजोसम्म हिन्दू राष्ट्र र राजसंस्थाको जयजयकारमा नारा लगाउँदै गणतन्त्रको खिलाफमा हिँडेकी तिमीबाट भोलिदेखि फेरि त्यसको ठीक उल्टो भाषण सुन्नु पर्दा मलाई आफ्ना कान कुन ठेँडीले बुझो लाऊँ, आँखै कुन भित्ताले छेलौँ र मेरो चेतना नै कता पञ्छाउँ भन्ने सकस भइरह्यो ।

बहिनी कोमल !
तिमीलाई के चाहिएको थियो र हतारोमा एमालेको जुवामा आफ्नो घाँटी छिरायौ । यदि तिमीले कुनै शक्तिशाली दलमा लाग्नै पर्थ्यो भने बरू माओवादीमा लागेकी भए पनि म त्यसको कारण पहिल्याउने प्रयास गर्ने थिएँ । ूनामर्दकी स्वास्नी हुनुभन्दा मर्दकी रखौटी हुनु बेसू भन्ने त नेपाली उखानै पनि त छ नि !

त्यसैले बहिनी कोमल, मलाई त लाग्छ, तिमीले जीवनमा एउटा ठूलै भुल गरेकीछ्यौ । जन्मदै राजावादी भएकी नारी यसरी बीचको धारमा कहिलेसम्म उभिन सक्छ्यौ, अटाउन सक्छ्यौ र शिर ठाडो पारेर हिंड्न सक्छ्यौ ? यस विषयमा एक वचन हामीसँग पनि सल्लाह मागेकी भए म त भन्थें- ‘हेर नानी१ तिमीजस्ती राजभक्तले कमल थापालाई धोका दिन मिल्दैन । एमालेको त कुरै छोडस तिम्रो निष्ठाले पशुपति शमशेर राणाको दलमा समेत जान मिल्दैन थियो । जबकि राणाको आवरण गणतान्त्रिक भए तापनि उनको भित्री पोशाकमा चाहिं राजसंस्थाकै रहलपहल छ ।’

कोमल बहिनी !
बृहत् राजनैतिक सङ्गठनलाई हेर्दा तिमी कुनै दलबलमा जान र आउनमा केही फरक पर्छ जस्तो मलाई लाग्दैन । तिमी फुत्त हिंड्दा न कमल थापालाई खति छ, न नाफै पनि छ । पशुपति शमशेरले त्यतिका माननीय लिएर जाँदा त राप्रपामा पहिरो गएन भने राजनेता कमल थापाका लागि तिमी हामी भनेका भुसुनो बराबर न हौं !

प्रिय कोमल बहिनी !

तिमी एउटा दलबाट हिंड्यौस टिप्नेले पनि टपक्कै टिपी दिए । सित्तैँ आएको मालको मूल्य नै पो कति हुन्छ होला र १ तिमीलाई अब कता लगेर राखिदिन्छन् थाहा छैन । यति होस तिमी ठूली भएको हेर्न पाऊँ । अन्ततस् राजनीतिको शिखर ठाउँ भनेको माननीय, मन्त्री र प्रधानमन्त्री पद नै हो रहेछ । तिमी पनि माननीय बनस चुरापोते बेच्नेहरू पनि बनेकै छन् । तिमी मन्त्री बनस समाजमाराहरू पनि बनेका नै छन् । अझ तिमी प्रधानमन्त्री पनि बनिदेऊस भारतले चाहेमा तुरून्तै कुर्सी खाली भै पनि हाल्छ नै !

कोमल ! तिमी राष्ट्रपति पनि बन्न सक्छ्यौ । किनभने विद्यादेवी भण्डारी नै पनि बनिसकिन् । तर तिमीलाई राष्ट्रपति बन्न चाहिं म शुभकामना दिन्न है ! किनभने मेरो देशको अखण्डताका लागि, मेरो स्वाभिमानका लागि र मेरो राष्ट्रिय अस्मिताका लागि मलाई राजा नै चाहिन्छस नेपालमा राजसत्ता नै चाहिन्छ ।

सधैं माया गर्ने दाइ
(नरेन्द्रराज प्रसाई)