गणतान्त्रिक मानवअधिकार -बबिता बस्नेत

गणतान्त्रिक मानवअधिकार -बबिता बस्नेत


आफूले प्रयोग गर्ने स्वतन्त्रतामा अलिकति तलमाथि हुन नहुने तर अरूको स्वतन्त्रताको हस्तक्षेप कुनै पनि बहानामा गर्न सकिने, आफ्नो अधिकार मात्रै मानवअधिकार, अरूको अधिकारको हनन भएमा जे अर्थ लगाइदिए पनि हुने निरङ्कुश संस्कार हाम्रो गणतान्त्रिक अभ्यास बन्न थालेको छ । यसको पछिल्लो उदाहरणका रूपमा पूर्वराजालाई कुमारी मन्दिर दर्शन गर्न लगाइएको रोकलाई लिन सकिन्छ । कुनैबेला थियो तत्कालीन शाही सरकारले विभिन्न पेसा-व्यवसायसँग सम्बद्ध व्यक्तिहरूलाई कार्यक्रममा भाग लिने क्रममा विदेश जानबाट रोक लगाएको थियो । आफ्नो विषयगत प्रस्तुति ठीकठाक पारेर सुटकेस बोकी एयरपोर्ट पुगेका व्यावसायिक व्यक्तिहरू एयरपोर्टमै रोकिएको घटना धेरैको सम्झनामा अहिले पनि ताजै छ । कतिचाहिँ व्यक्तिगत कामका निम्ति बाहिर जान लागेकाहरू पनि रोकिएका थिए । शाही सरकारले गरेका धेरै भूलहरूमध्ये एउटा भूल थियो त्यो । प्रविधिले विश्वलाई झन्झन् साँगुरो बनाउँदै लगेको अवस्थामा मानिसको शरीरलाई एयरपोर्टमा रोक्नुको कुनै अर्थ थिएन, किनभने मानिस रोकिए पनि विचार रोक्ने अवस्था थिएन र छैन । तत्कालीन अवस्थामा यही स्थानमा यस पङ्क्तिकारले लेखेको लेख -‘मान्छे रोकिएको हो कि विचार -‘ घटना र विचार मार्च ३०, २००५) लाई लिएर त्यतिबेला दरबारमा कार्यरत एक उच्च अधिकारीले टेलिफोनमा लामै बहस गरेका थिए । लेखको एउटा अंश यस्तो थियो- अहिले त आफ्नै नागरिकलाई यस्तो व्यवहार गरिएको छ मानौँ ती मानिसहरूसँगै विचारहरू प्लेन चढेर विदेश पुग्छन् र मुलुकलाई ठूलै अनर्थ हुनेछ । आफूभन्दा अघि आफ्नो अवधारणा र विचार अरूको कम्प्युटरमा गएर बसिसक्ने इमेल र इन्टरनेटको यो जमानामा कुनै पनि कार्यक्रममा जानबाट मानिसलाई रोक्नुको कुनै अर्थ देखिँदैन । यदि विचारलाई नै रोक्न खोजिएको हो भने कार्लमाक्र्सको जमानामा टेलिफोनको विकास भएको थिएन, इमेल र इन्टरनेटको त कल्पना पनि गरिएको थिएन तर उनको विचारलाई कुनै भौगालिक सीमाले रोक्न सकेन । युनानी दार्शनिक अरिस्टोटल र चीनका कन्फ्युसियसले त्यो जमानामा गाउँ वा सहरको कुनै कुनामा उब्जाएका विचारले विश्वव्यापी रूप लिएकै छ ।
यो थियो पुरानो शासन-व्यवस्थाको समयको कुरा, अहिले समय परिवर्तन भएको छ, समय मात्रै होइन मुलुकको व्यवस्था नै परिवर्तन भएको छ । परिवर्तित व्यवस्थामा यहाँका जनताले हिजोभन्दा आज धेरै अपेक्षा गर्नु स्वाभाविक नै हो, चाहे त्यो स्वतन्त्रताको अनुभूति गर्ने कुरामा होस् या मानवअधिकारको उपभोग गर्ने कुरामा । तर, मुलुकमा गणतन्त्र आएपछि पनि कतिपय पुराना अभ्यासहरूलाई नै निरन्तरता दिने प्रयास गरिँदै छ । त्यतिबेला बुद्धिजीवी र राजनीतिकर्मीहरूलाई एयरपोर्टमा रोकिएको थियो, अहिले पूर्वराजा र राजपरिवारका सदस्यहरूलाई मन्दिर दर्शन गर्नबाट रोकिएको छ । मन्दिर दर्शन जहाँ केवल आस्था र विश्वास राखिन्छ, विचारको पर्वाह गरिँदैन । देवी-देवताको दर्शन गर्नु, चर्च या मस्जिद गएर प्राथना गर्नु या यस्तै आफूले मानिआएको धर्मकर्म गर्न पाउनु हरेक नागरिकको नैसरि्गक अधिकार हो जसलाई न्यूनतम धार्मिक र सांस्कृतिक अधिकारका रूपमा पनि लिन सकिन्छ । मानिसहरू जुनसुकै पृष्ठभूमिका किन नहुन् आफूले मानिआएको धर्मको पालना गर्ने र सम्बन्धित स्थानमा गएर धार्मिक आस्था प्रकट गर्न अधिकार रहन्छ । अहिले पूर्वराजालाई मन्दिर दर्शन गर्नबाट रोक्नुमा उहाँलाई सर्वसाधारणले गर्दै आएको सम्मान र आदरका कारण सरकारमा रहेकाहरूमा परेको मनोवैज्ञानिक असरका रूपमा लिन सकिन्छ । यसबीचमा पूर्वराजा र राजपरिवारका सदस्यहरू जहाँ-जहाँ जानुभयो मानिसहरूले अगाध श्रद्धा प्रकट गरे । यसका दुईवटा प्रमुख कारण हुन सक्छन्, एउटा अहिलेका राजनीतिक दलहरूद्वारा पर््रदर्शन गरिएको अपरिपक्व राजनीतिक व्यवहार र अर्को सर्वसाधारणको पहुँचमा कहिल्यै पुग्न नसकेका राजपरिवारका सदस्यहरूको सहज पहुँच । जुनसुकै मुलुकमा जे-जस्तो व्यवस्था लागू भए पनि राजपरिवार, दरबार, राजकुमारी, राजकुमारजस्ता कुराहरूप्रतिको ‘चार्म’ सधैं रहन्छ, नेपालमा मात्रै नभएर विश्वव्यापी रूपमै यस प्रकारको आकर्षण रहने गरेको छ । अहिले पनि मानिसहरू एकादेशका सर्वसाधारण या जनताको होइन एकादेशका राजकुमार र राजकुमारीकै कथा सुन्न मन पराउँछन् । दरबारहरूले भग्नावशेषका रूप लिइसकेका भए पनि कुनै बेलाका दरबार र राजपरिवारका कथानकका आधारमा सिनेमा बनाउने क्रम अहिले पनि रोकिएको छैन । राजदरबार, राजा, रानी, राजकुमारी, राजकुमारजस्ता कुरामा विश्वव्यापी रूपमै मानिसहरूमा हिजो पनि रुचि थियो र आज पनि छ । गणतन्त्र आयो भन्दैमा त्यो रुचि नेपाली जनताको मन र मस्तिष्कबाट एकैपटक ‘डिलिट’ हँुदैन । पूर्वराजा र राजपरिवारका सदस्यहरू धार्मिक कार्यमा निस्कँदा लाग्ने मानिसहरूको भीड जतिसुकै ठूला नेता भए पनि माधव नेपाल, रामचन्र्द पौडेल या प्रचण्ड/बाबुरामले रोकेर रोकिँदैन । किनभने यो मनोवैज्ञानिक कुरा हो, भारतमा लोकतन्त्र आएको धेरै भयो तर अहिलेसम्म पनि त्यहाँका जनतामा राजपरिवारका सदस्यहरूप्रतिको सम्मानमा कमी आएको छैन । फरक यति हो त्यहाँको गणतन्त्र यति बलियो छ कि पूर्वराजपरिवारका सदस्यहरूले मन्दिर दर्शन गर्दैमा गणतन्त्र ढल्ने त्रास त्यहाँ छैन । हाम्रा नेताहरूलाई जस्तो आफूभन्दा उनीहरू लोकप्रिय बन्ने हुन् कि भन्ने मनोवैज्ञानिक त्रास त्यहाँका नेतालाई छैन । त्यसैले पूर्वराजपरिवारका सदस्यहरूका वरिपरि जतिसुकै मानिसको भीड लागे पनि उनीहरूको आवतजावतमा त्यहाँ रोक लगाइँदैन । पूर्वराजपरिवारका सदस्यहरूको लोकप्रियताले त्यहाँको गणतन्त्रलाई कुनै क्षति पुर्याएको पनि छैन ।
आर्श्चर्यजनक कुरा त के छ भने सरकारले पूर्वराजालाई मन्दिर जानबाट या भनौँ धार्मिक आस्था प्रकट गर्नबाट रोक लगाउँदा यहाँका मानवअधिकारवादीहरू एक शब्द पनि बोलेनन्, बोलेका छैनन् । मानवअधिकारको विश्वव्यापी मान्यतामा धार्मिक, सांस्कृतिक अधिकारहरू पनि पर्छन् र मानवअधिकार भन्ने कुरा जुनसुकै मूल्य-मान्यता राख्ने जोकोहीमा लागू हुन्छ, बस ऊ मानवचाहिँ हुनुपर्यो । तर, हाम्रो देशका मानवअधिकारकर्मीहरू प्रायः राजनीतिक पार्टीका कार्यकर्ता भएका कारण पार्टीसँग जोडिएको आफ्नो भविष्य हेरेर मात्रै कुनै कुराको विरोध र र्समर्थन गर्ने हुँदा यो कुरा उनीहरूको मुद्दा बन्न सकेन । नेपालको राजसंस्थाका सदस्यहरू अब नागरिकमा रूपान्तरण भइसकेको अवस्थामा अन्य सर्वसाधारणको जे अधिकार हो उनीहरूको पनि त्यही हो । विभिन्न स्थानमा लाग्ने भीड मानिसको व्यक्तित्व र उसप्रतिको आस्थाका कारणले हुन्छ । पशुपतिमा बिहान हेर्ने हो भने माडवारी समुदायका अगाडि माग्नेहरूको भीड लाग्छ किनभने अरूबाट भन्दा उनीहरूबाट केही पाउने आशाले त्यहाँ काम गरेको हुन्छ । चर्चित कलाकार कहीँ जाँदा हेर्नेहरूको भीड लाग्छ, आखिर पाउने त उनीहरूले केही होइन । कोही मानिसका अगाडि भीड जम्मा भयो भन्दैमा त्यहाँ जानबाटै प्रतिबन्ध लगाउनुपर्ने हाम्रो गणतन्त्रलाई यति कमजोर कसले बनायो ?