व्यापारघाटा कम गर्न सरकार असफल देखिएको छ । चालु आर्थिक वर्ष वर्षको पहिलो महिनामै मुलुकको व्यापार घाटा करिब ८० अर्ब पुगेको हो ।
गत वर्षको पहिलो महिनाको तुलनामा अहिले २६ प्रतिशतले वृद्धि भएको देखिन्छ । यसले सरकार व्यापारघाटा कम गर्न असफल भएको पुष्टी गर्छ ।
भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा ७९ अर्ब ९९ करोड ७० लाख ९१ हजार रुपैयाँले व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको साउनमा भने ६३ अर्ब २१ करोड ४९ लाख ४० हजारले व्यापार घाटा भएको थियो ।
तथ्यांकअनुसार पहिलो महिनामा नेपालमा ८६ अर्ब ७० करोड ४८ लाख ८६ हजार रुपैयाँका सामग्रीहरू आयात भएका छन् ।
निर्यात भने ६ अर्ब ७० करोड ७७ लाख ९५ हजार रुपैयाँ मात्रै भएको हो । निर्यात साढे तीन प्रतिशतले घटेको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्षमा ६ अर्ब ९५ करोड ८ लाख ११ हजार रुपैयाँको निर्यात भएको थियो ।
पहिलो महिना भएको व्यापार घाटाकै अनुपात चालु आर्थिक वर्षका महिनाभरि हुने हो भने यो वर्षको व्यापार घाटा झन्डै १२ खर्ब पुग्ने सम्भावना देखिन्छ ।
गत आर्थिक वर्षमा सवा ९ खर्ब रुपैयाँले व्यापार घाटा भएको थियो । स्वदेशी उत्पादन वृद्धि हुन नसक्नु, उत्पादन भएका सामग्री निर्यात हुन नसक्नु र आयातित सामानमा परनिर्भरता बढिरहेकाले बर्सेनि व्यापार घाटा चुलिँदै गएको हो ।
सरकारी तथ्यांक अनुसार सबैभन्दा बढी व्यापार घाटा भएका मुलुकमा भारत र चीन नै देखिएका छन् । यसरी व्यापारघाटा बढ्दै जाँदा मुलुकलाई भार झन् पनि झन् थपिदै गएको छ ।
प्रतिक्रिया