विदेशी मसला विस्थापित गर्न आयो एनएमसी

विदेशी मसला विस्थापित गर्न आयो एनएमसी


स्वाद र गुणस्तरका कारण छोटै समयमा उपभोक्ताको मन जितेको एनएमसी मसलाले नेपाली बजारमा विदेशी मसलाहरूको आयात रोक्न आफ्ना उत्पादनलाई गुणस्तरीय बनाएको छ । एनएमसी मसला उत्पादक कम्पनी सेभेन स्टेट इन्डस्ट्रिज प्रालिले नेपाली जनताको मानव स्वास्थ्यलाई ध्यान दिँदै यस्तो अभियान थालेको हो ।

२ वर्षअघि मात्रै राजधानीको सीतापाइलामा उद्योग स्थापना गरी कारोबार थालेको यस कम्पनीले एनएमसी मसलाका उत्पादनहरू सबैजसो जिल्लामा पुर्‍याइसकेको छ । स्वदेशी कच्चापदार्थको प्रयोगबाट तयार पारिएको विभिन्न स्वादका मसलाले आमउपभोक्ताहरूको मन जितेको कम्पनीका अध्यक्ष विधान केसीले जानकारी दिए । ‘हामीले मसलालाई सबै गृहणीको चुलोसम्मपुर्‍याउन २० वटा जिल्लामा शाखा विस्तार गरी बिक्री–वितरण थालिसकेका छौँ,’ अध्यक्ष केसी भन्छन्, ‘बाँकी जिल्लामा पनि मसला वितरणका लागि शाखा विस्तार गर्ने अभियानमा लागेका छौँ । आगामी तीन वर्षभित्र सबै जिल्लामा मसला पठाउनेछौँ ।’

उद्योगमा अहिले १६ प्रकारका मसला उत्पादन हुँदै आएको छ । अध्यक्ष केसीका अनुसार उद्योगमा हाल १० देखि ५० ग्रामका मसला उत्पादन हुँदै आएका छन् । ग्राहकको रोजाइअनुसार १० ग्रामको एक, २५ ग्रामको ६ र ५० ग्रामको १६ प्रकारका मसला उत्पादन गर्दै आएको केसी बताउँछन् ।
नेपालमै पाइने अलैँची, अदुवा, बेसार, सुकमेल, जाइफल, ल्वाङ, दालचिनी र मरिचजस्ता प्राकृतिक वस्तुहरूको सम्मिश्रणबाट मसला तयार पारिएकाले विदेशमा समेत उच्च माग भएको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार अस्ट्रेलिया, यूके, बेलायत र मलेसियामा पनि मसला निर्यात हुने गरेको छ ।

एनएमसी मसला प्राकृतिक र नेपाली कच्चा पदार्थको प्रयोगबाट निर्माण गरिने भएकाले नेपालमा मात्रै नभई विदेशी बजारमा समेत यसको माग उच्च रहेको अध्यक्ष केसी बताउँछन् । ‘केही मुलुकमा निर्यात थालेका छौँ,’ उनले भने, ‘भारतको सिलिगुडीमा पनि उद्योग स्थापना गरी मसला उत्पादन गर्ने र त्यहीँबाट भारतलगायतका अन्य मुलुकमा पठाउने योजनासमेत बनाएका छौँ ।

उद्योगबाट एनएमसी ब्रान्डमा मःम मसला, तरकारी मसला, चाउमिन मसला, पानीपुरी मसला, चिकेन मसलालगायतका १६ प्रकारका उत्पादन बजारमा आएको छ । कम्पनीका अध्यक्ष केसीले बजारमा आएका अधिकांश मसला बाहिरबाट हेर्दा स्वादिलो हुने देखिए पनि प्रयोग गर्दा बास्ना हराउने हुनाले आफूहरूले त्यसलाई मध्यनजर गर्दै मसलाको प्राकृतिक स्वाद नष्ट नहुने गरी उत्पादन गरिरहेको बताएका छन् ।

– छविलाल बगाले