शुभकामना नयाँ नेतृत्वलाई-श्रीधर शर्मा

शुभकामना नयाँ नेतृत्वलाई-श्रीधर शर्मा


नेपाली काङ्ग्रेसको बाह्रौँ महाधिवेशन सम्पन्न भएको छ । निश्चित समयावधिको अन्तरमा एउटा लोकतान्त्रिक पार्टीको नेतृत्व चयन एवम् भावी कार्यदिशाबारे बहस गर्न तथा आवश्यक र उचित निर्णय लिनका लागि नियमित रूपमा हुनुपर्ने अधिवेशन विभिन्न आशङ्काका बाबजुद समयमै सम्पन्न हुन सक्नु निकै ठूलो सफलता हो ।
यस निर्वाचनले एकातिर काङ्ग्रेस कार्यकर्तालाई पुनः एकपटक राजनीतिमा सक्रिय गराएको छ भने अर्कोतिर अब गुट-उपगुटमा विभाजित हुनुभन्दा एकताबद्ध भई अघि बढ्नका लागि प्रेरितसमेत गरेको छ । निर्वाचनका बेला प्यानलका कुरा उठे पनि जुन अनुपातमा मत प्राप्त भएको छ त्यसले एकले अर्कोलाई दबाउने, पन्छाउने भन्दा पनि सहकार्यका लागि बाध्य पारिदिएको छ । यस अर्थमा नेपाली काङ्ग्रेस अब एकढिक्का भएर अघि बढ्नका लागि सबैलाई बाध्यता भएको छ ।
नेपाली काङ्ग्रेस यस मुलुकमा सधैं लोकतन्त्रका पक्षमा लड्दै आएको पार्टी हो । हरेक क्रान्तिको नेतृत्व गरेको यस दलभित्रको आन्तरिक लोकतन्त्रमाथि सधैं प्रश्न उठे पनि यसले लिएको प्रजातान्त्रिक समाजवादको सिद्धान्त नौलो र सबैलाई समेटेर लैजाने अर्थात् गरिब किसान, मजदुरदेखि पुँजीपति वर्गसम्मलाई सँगसँगै हिँडाउने एउटा माध्यम बनेका कारण यो सबैका लागि ग्राह्य हुन पुगेको हो । बेलाबखत यसको नेतृत्वमा देखिएको, अझ विशेष गरेर भन्ने हो भने बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछिका वर्षमा शीर्ष नेताहरूका बीचमा देखापरेको खटपटले यसको तल्लो तहसम्म पनि विभाजनको रेखा कोरिन पुगेको र त्यसैको फाइदा उठाउँदै यस पार्टीका विषयमा नकारात्मक चर्चा-परिचर्चा गर्दै आफ्ना पक्षमा मत बटुल्न विरोधीहरू सफल भएका हुन् । तर, अब त्यस्तो अवस्था छैन । गिरिजाप्रसाद कोइरालाको निधन र कृष्णप्रसाद भटर्राईको निष्क्रियतापछि काङ्ग्रेसको नेतृत्व अब दोस्रो पुस्तामा सरेको छ । र, दोस्रो पुस्ताले यो जिम्मेवारी लिएपछि काङ्ग्रेसमा समयानुकूल सुधार एवम् संस्थागत रूपमा अघि बढ्ने परिपाटी स्थापित हुनेछ जसले यस पार्टीलाई जुझारू एवम् सशक्त बनाउनेछ भन्ने अपेक्षा धेरैको छ । यस कुरामा नेतृत्वपङ्क्ति गम्भीर हुनु जरुरी छ ।
हिजो बेलाबेलामा पारिवारिक र नातागोताका कुरा उठे । पार्टीको नेतृत्वदेखि भ्रातृ भगिनी सङ्गठनका नेतृत्वसम्म पनि कोइराला परिवारका निकटस्थ वा आसेपासेले नै पाउनुपर्ने एकप्रकारको मान्यता रह्यो र यसैका लागि पटकपटक केन्र्दले गलत निर्णयहरू लिने र अस्वाभाविक कदम चाली र तिनमा हस्तक्षेप गर्नेजस्ता काम गरी पार्टी नेतृत्वले नै अलोकतान्त्रिक चरित्र देखायो । जुन धेरैको चित्तदुखाइ मात्र होइन जगहँसाइको विषयसमेत रह्यो । अबका दिनमा पार्टीले यस्ता कदम नचालोस् । विगतका जस्ता गल्ती नदोहोर्याइयोस् । परम्परा धान्ने होइन पार्टीलाई समयानुकूल बनाउँदै लगियोस् । योग्यता, अनुभव र क्षमताका आधारमा अवसर र जिम्मेवारी प्रदान गरियोस् । लोकतन्त्र कसैको व्यक्तिगत वा गुटगत चाहनामा होइन आममानिसको चाहनामा चल्ने पद्धति हुँदा यसलाई बिना कुनै हिच्किचाहट स्वीकार गर्ने सामर्थ्य राखियोस् । यसतर्फ नेतृत्व विशेष रूपमा गम्भीर होस् ।
अहिले नेपाल सङ्क्रमणको अवस्थामा छ । कम्युनिस्टहरू वामएकताको नाममा माओवादीको षड्यन्त्रमा अल्मलिएका कारण मुलुक सरकारविहीन मात्र होइन नीति र पद्धतीविहीन अवस्थामा पुगेको छ । नेपाली काङ्ग्रेसजस्तो लोकतान्त्रिक एवम् अन्य साना दलहरूको र्समर्थनमा बनेको बहुमतको माधवकुमार नेपाल नेतृत्वको सरकार एमालेको आन्तरिक कलह र माओवादी षडयन्त्रका कारण मुलुक यतिखेर कामचलाउ सरकारको अधीनमा छ । यसबीच प्रधानमन्त्री चयनका लागि आठपटकसम्म निर्वाचन भए पनि लोकतन्त्रविरोधीहरूका षडयन्त्रका कारण मुलुकले नयाँ सरकार पाउन सकेको छैन । बरु पछिल्ला दिनमा सहमतिको रट लगाउने दलहरू नै सहमतिविपरीत उभिएका वा त्यस्तर्फ कुनै प्रयत्न नै नगरी जसरी पनि आफू सत्तामा पुग्नका लागि विद्यमान नियमावली संशोधन गर्नेजस्तो अस्वाभाविक एवम् गलत बाटो रोज्न पुगेका छन् जसले लोकतन्त्रकै उपहास गरिरहेको छ । यसले जनतामा निराशा बढेको छ । असुरक्षाको भावना बढेको छ । यसले मुलुकमा विदेशी हस्तक्षेपको सम्भावना बढाएको छ जसप्रति राष्ट्रवादी शक्तिहरू गम्भीर हुनुपरेको छ ।
यस अवस्थामा काङ्ग्रेस जो यस मुलुकको एकमात्र पूर्ण लोकतान्त्रिक पार्टी हो र जसले सर्वसत्तावादका विरुद्ध एक्लै लडिरहेको छ उसका सामु थुप्रै चुनौती विद्यमान छन् । हिजो राणाशासन, पञ्चायती शासन र राजतन्त्रका विरुद्धको आन्दोलनको नेतृत्व गर्ने काङ्ग्रेस आज आफ्नाविरुद्ध सङ्गठित हुँदै गएका लोकतन्त्रविरोधीहरूका विरुद्धमा सशक्त ढङ्गमा प्रस्तुत हुनुपर्ने अवस्था आएको छ । शान्ति, सहकार्य, मेलमिलाप र एकताको काङ्ग्रेसको नीति र चाहनामाथि षड्यन्त्रपूर्ण ढङ्गमा धावा बोल्ने जुन प्रयत्न भइरहेको छ त्यसका विरुद्ध काङ्ग्रेस एकताबद्ध भई प्रस्तुत हुनुपरेको छ । सस्ता र कर्णप्रिय नाराका भरमा जनतामाथि थिचोमिचो, दमन र रजाइँ गर्न चाहनेहरूका विरुद्ध जनतालाई सचेत गराउनुपरेको छ । यस सन्दर्भमा संस्थापक नेताहरू र विशेषतः स्वर्गीय जननायक बीपी कोइरालालाई स्मरण गर्दै हिजोका आन्तरिक गुटबन्दीलाई बिर्सेर यतिखेर समस्त काङ्ग्रेस एकाकार भई मुलुक, जनता र लोकतन्त्रको पक्षमा उभिनु नितान्त जरुरी छ । सत्तामा पुग्नका लागि हाल भइरहेका जालझेल र षड्यन्त्रका विरुद्ध, लोकतन्त्र र विधिको शासनका पक्षमा जस्तोसुकै लडाइँ लड्न तम्तयार हुनुपरेको छ । काङ्ग्रेसको नयाँ नेतृत्वले यस्ता कुरामा ध्यान देओस् र लोकतन्त्रविरोधीहरूका सामु लत्रने, निहुरिने होइन गौरवशाली इतिहासलाई साक्षी राख्दै नेपाली काङ्ग्रेसलाई सशक्त ढङ्गमा प्रस्तुत गर्न सकोस्, नयाँ कार्यसमितिलाई यही शुभकामना ।