वैदेशिक रोजगारमा जाने नेपालीको संख्यामा गिरावट

वैदेशिक रोजगारमा जाने नेपालीको संख्यामा गिरावट


वैदेशिक रोजगारमा जाने नेपालीको संख्यामा पछिल्लो समय गिरावट आएको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरे एक प्रतिवेदनमा आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारमा जानेको संख्यामा गिरावट आएको उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ,‘वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्या पुन : श्रमस्वीकृति बाहेकमा कमी आएको छ ।’

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष ०७३/७४ मा गत वर्षको तुलनामा ४.७ प्रतिशतले घटेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८.४ प्रतिशतले घटेको थियो । यस्तै, समीक्षा वर्षमा मलेसिया, संयुक्त अरब ईमिरेट्स, कुवेत लगायतका देशमा जाने कामदारको संख्यामा वृद्धि भएको छ भने साउदी अरेविया, कतार लगायतका देशमा जाने कामदारको संख्यामा गिरावट आएको छ ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह ४.६ प्रतिशतले वृद्धि भई ६९५ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ७.७ प्रतिशतले वृद्धि भएको थियो ।

विप्रेषण आप्रवाह कुल गार्हस्थ उत्पादन अनुपात अघिल्लो वर्ष २९.६ प्रतिशत रहेकोमा समीक्षा वर्षमा २६.८ प्रतिशत रहेको छ ।

समीक्षा वर्षमा खुद ट्रान्सफर आय ९.५ प्रतिशतले वृद्धि भई ८५१ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ९.६ प्रतिशतले बढेको थियो ।