काङ्ग्रेसका चुनौती यथावत्

काङ्ग्रेसका चुनौती यथावत्


पटक-पटक तिथि परिवर्तन गर्दै लामो प्रतीक्षापछि अन्ततः नेपाली काङ्ग्रेसको बाह्रौँ महाधिवेशन सम्पन्न भएको छ । अत्यन्त उत्साहको माहोलमा भव्य ढङ्गले सुरु भएको र ँएकताको महाधिवेशन’का रूपमा प्रचारित नेपाली काङ्ग्रेसको बाह्रौँ महाधिवेशन अपेक्षानुरूप आलोचनारहित भने रहन सकेन । महाधिवेशनका औपचारिक र अनौपचारिक कार्यक्रमका दौरानमा उम्मेदवार तथा तिनका समर्थक/सहयोगी एवम् पार्टीकार्यकर्ताले दर्शाएका गुटको गन्ध आउने व्यवहारका कारण महाधिवेशनपछि पार्टीको रूप र शैली बदलिने, समावेशी स्वरूप लिइसकेको काङ्ग्रेस सामूहिक नेतृत्वबाट अघिबढ्ने सवालमा अभूतपूर्व किसिमले ऐक्यबद्ध देखिने र बदलिएको परिवेशमा ऊर्जावान पार्टीका रूपमा अब्बल सावित हुने भनी नेतृत्वपङ्क्तिबाट गरिँदै आएको दाबी कतै निष्फल सावित हुने त होइन भन्ने आशङ्का जन्मिएको छ । नेतामुखी पार्टीका रूपमा प्रशस्त आलोचना र आक्षेप खेप्दै आएको दल हुनुको नाताले बाह्रौँ अधिवेशनपछि आन्तरिक रूपमै लोकतान्त्रिक र नीतिमुखी बनेर अघि बढ्न नेपाली काङ्ग्रेसलाई पार्टीभित्रैबाट अत्यन्त ठूलो दबाब परिरहेको छ । एउटै पनि संस्थापक सदस्यको अभिभावकत्व केन्द्रीय नेतृत्वमा नरहेको यथार्थबीच सामूहिक नेतृत्वका आधारमा कार्य विभाजन गरी मिलेर अगाडि बढ्नुपर्ने बाध्यकारी परिवेशलाई भावी नेतृत्वले कसरी आत्मसात् गर्छ, यो चुनौतीसँग नयाँ नेतृत्वको पौंठेजोरी रोचक प्रतीक्षाको विषय बन्नेछ ।
यस महाधिवेशनले काङ्ग्रेस पार्टीप्रति आमजनमानसमा समेत व्यापक अपेक्षा बढाएको छ । तर, ओझेलमा परेको संविधान निर्माण प्रक्रियाप्रति सिङ्गो काङ्ग्रेस महाधिवेशन अनपेक्षित रूपमा मौनतुल्य रहेको अनुभूति गरिनु सबैका निम्ति चिन्ताको विषय बन्न पुगेको छ । शान्ति-प्रक्रियाका एजेण्डा नेपाली काङ्ग्रेसले समेत भुल्न लागेको आरोप लागिरहेको सर्न्दर्भमा संविधान निर्माण र शान्ति-प्रक्रियामा आफ्नो जोडदार अगुवाइ एकातिर काङ्ग्रेसले सिद्ध गर्नैपर्ने अवस्था छ भने ँहुने-खानेको पार्टी’ भनी लाग्दै आएको आक्षेपलाई नामेट तुल्याउँदै बीपीको सोचअनुरूप वास्तविक समाजवादी पार्टीका रूपमा रूपान्तरण हुने अपरिहार्यता पनि त्यत्तिकै छ । नेपाली समाजका विपन्न, निरीह र तल्लोतहमा रहेका जनताले समेत ँहैसियत’ हासिल गर्न सकून् भन्ने बीपी-प्रतिपादित समाजवादको लक्ष्य हो । तर, प्रजातन्त्र पुनर्स्थापनयताका वर्षमा विस्तारै नेपाली काङ्ग्रेसले बीपीको समाजवादका सवालमा बाटो बिराउँदै आयो र पछिल्लो चरणमा त बीपीको समाजवादी सोच-विचारको मार्ग बिराएको मात्र नभई बीपीलाई नै बिर्सन पुगेको आभास दिलाउने व्यवहारसमेत काङ्ग्रेसी नेतृत्व तहबाटै हुन पुगेको अनुभूति गरियो । काङ्ग्रेसी सोच, विचार तथा चरित्रसँग मेल नखाने ँअतिवादी’ पक्षको एजेण्डामा अन्धाधुन्ध सहीछाप लगाएर आफ्नो मौलिकता नै मासिने प्रकृतिका निर्णयहरू गरिएका कारण काङ्ग्रेसको काँधमा यतिबेला अस्तित्वरक्षाको अतिरिक्त बोझसमेत थपिएको छ । विशेषगरी कुनै स्पष्ट खाका र कार्यान्वयनको मार्गचित्र नै नकोरी प्रमुख राजनीतिक शक्तिहरू सङ्घीयतामा जाने निर्णयमा पुग्नु र त्यसमा अहिलेसम्म काङ्ग्रेस एकप्रकारले अन्योलकै भूमरीमा रुमलिनु, राजतन्त्रको बिदाइका सवालमा अतिवादीहरूकै तहमा ओर्लिंदै हतारमा निर्णय गर्ने अपरिपक्वता दर्शाउनु आदि यस्ता कदम हुन् जसले नेपाली काङ्ग्रेसलाई पछिसम्म पिरोल्ने सम्भावना प्रचुर छ । एक मात्र जीवित संस्थापक नेता किसुनजीले बाह्रौँ महाधिवेशनको सङ्घारमा बगाउनुभएको आँसु तत्कालका निम्ति मूल्यहीनझैँ लागे पनि कालान्तरमा काङ्ग्रेसले नै यसको चर्को मूल्य चुकाउनु नपर्ला भन्न सकिन्न ।
यसरी, अत्यन्त अप्ठ्यारो र चुनौतीपूर्ण यात्राको प्रारम्भबिन्दुमा अबको काङ्ग्रेस नेतृत्व खडा हुनपुगेको छ । गन्तव्य निश्चित भइनसकेको यात्रामा निस्कँदा कुन परिमाणमा सातु-सामलको जोहो गर्नुपर्ने हो, यो यकिन गर्नु आवश्यक छ । समग्रमा भन्नुपर्दा ँविचारको शून्यता’बाट खास विचारवाहक पार्टीमा रूपान्तरण भई अघि बढ्ने जुन साहस काङ्ग्रेसले गरेको छ, यो तारिफलायक छ र नेपाली काङ्ग्रेसको बाह्रौँ महाधिवेशन राष्ट्रिय राजनीति र मुलुकको भविष्यलाई प्रभावित पार्ने सवालमा ऐतिहासिक महत्त्वको हुन पुगेको मान्नैपर्छ ।