भियतनामको राहदानी प्रक्रिया सरलीकरण गर्न चेम्बरको आग्रह

भियतनामको राहदानी प्रक्रिया सरलीकरण गर्न चेम्बरको आग्रह


नेपाल चेम्बर अफ कर्मसले भियतनामको लागि राहदानी प्रकृयालाई सरलीकरण गरिदिन आग्रह गरेको छ । नेपालका लागि भियतनामका वाणिज्यदूत राजेशकाजी श्रेष्ठ तथा नेपाल– भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष दिपक मल्होत्रासहितको व्यापारिक प्रतिनिधि मण्डलले भारतको राजधानी नयाँ दिल्लीमा भियतनामका राजदूत टोन सिन्ह थान्हसँग भेट गरी सो आग्रह गरेका हुन ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्व भएको सो भेटमा नेपाल–भियतनाम आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका विषयमा कुराकानी गरेको छ । छलफलका क्रममा वाणिज्यदूत श्रेष्ठले आगामी दिनमा दुई देशबीच आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ गर्न व्यापारिक प्रतिनिधि मण्डलको भ्रमणलाई प्राथमिकता दिनु पर्ने तथा राहदानी प्रक्रिया सरलीकरणका विषयमा छलफल भएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल– भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष मल्होत्राले नेपालमा कृषि, पर्यटन, सूचना प्रविधि आदिमा लगानी विस्तारका लागि राजदूत थान्हसँग आग्रह गर्नुभयो । भेटघाटमा राजदूत थान्हले दुई देशबीचको सम्बन्धलाई मजवुत बनाउन, पर्यटन विस्तार तथा व्यापार वृद्धिका लागि संघसँग समन्वय गरी कार्य गर्ने बताउनुभयो । उक्त छलफलमा संघबाट नरेश श्रेष्ठ, लोकमान्य गोल्छा, शिवजी राय यादवलगायतको उपस्थिति रहेको थियो ।