म काङ्ग्रेसको सभापति निर्वाचित भएको भए…

म काङ्ग्रेसको सभापति निर्वाचित भएको भए…


-शिवजी श्रेष्ठ
नेपाली काङ्ग्रेसभित्रको बेथिति देखेर वाक्क भएर होला नेपाली काङ्ग्रेसमा आस्था राख्ने एक मित्रले नेपाली काङ्ग्रेसको चालू महाधिवेशनको प्रसङ्गमा भनेका थिए, ‘यदि म नेपाली काङ्ग्रेसको सभापति भएको भए, सबैभन्दा पहिले पार्टीको वेभसाइट ‘अप टु डेट’ गराउँथेँ ।’ होर्डिङ बोर्डसमेत राखेर तामझाम गर्नसक्ने उम्मेदवारहरू हुनसक्ने पार्टीको एउटा सामान्य वेभसाइटको बारेमा उनको ध्यानप्रति प्रश्न उठाउँदा उनी भन्थे, ‘नेपाली काङ्ग्रेस, मासबेस पार्टी भएर पनि होला, यति अस्तव्यस्त छ कि, कहिलेकाहीँ त लाग्छ, म पार्टी सभापति भएको भए के-के गर्ने थिएँ…।’ उनको के-के गर्ने थिएँ भन्ने कुरातिर भन्दा पनि मेरो ध्यान उनको कल्पनाशीलतातिर खिचियो । एकछिन घोरिएँ, वास्तवमा हाम्रो नेताहरूको सबैभन्दा ठूलो कमजोरी नै ‘कल्पनाहीनता’ हो । नेताहरूको कमजोरी नै यथास्थितिमा रमाउनु र सजिलो अनि आफ्नोअनुकूलताको लागि सम्झौता गर्नु हो ।
ती साथीको कल्पनाले मलाई पनि कल्पना गर्न बाध्य बनायो । गम्दै गएँ, ती पाँच दर्जन सिटका लागि मैदानमा उत्रिएका साढे तीन सय अनुहारहरू, त्यसमा पनि सीमित पदाधिकारीका लागि उत्रिएका अनुहारहरू । अन्तमा ठोकिन पुगे निर्णायक पदमा उभिएका तीन अनुहारहरू । सायद यी कल्पनातीत लेख बाहिर आउँदासम्म यदि विधानको एकाउन्न प्रतिशतको प्रावधानले व्यवधान पुर्‍याएन भने, पाँच दर्जनसहित ती कल्पना गरिएका पद ‘सभापति’का अनुहार पनि प्रस्टिसकेको हुनेछ । तब कल्पना गरेँ तिनले सभापति भएपछि के-के गर्नेछन् ? मलाई गाह्रो भयो कल्पना गर्न, तिनले के-के गर्लान् ? म स्पष्ट हुन सकिनँ । अझ भनौँ निश्चित हुन सकिनँ । किनकि ती अनुहार स्पस्ट भइसकेको छैन, कुन अनुहार निर्णायक स्थानमा आइपुग्ला ? अनुहार स्पष्ट भइनसकेको र अनुहारअनुसार भूमिका निर्धारण हुने हुँदा मलाई सजिलो लाग्यो आफैं कल्पना गर्न । अर्थात्, उनी भएर होइन, मेरा मित्रजस्तै, ‘म सभापति भएको भए…।’
फेरि गमेँ, ‘साँच्चै म के गर्थें हुँला ? एकछिन अझै गमेँ । अब कल्पिन थालेँ, सर्वप्रथम मैले कसरी चुनाव जितेँ ? अनि सोचेँ किन मैले सभापति हुने सोच राखेँछु ? चुनावमा उठ्नुअगाडि के सोचेको
थिएँ ? उठेपछि के-के गर्छु ।नेर वाचा गरेको थिएँ, सम्भँmदै गएँ । अनि मैले सोचेँ यो मेरो उम्मेदवारी स्वाभाविक मानवीय व्यवहारतः निरन्तरताको लागि थियो ? वा सकारात्मक परिवर्तनका लागि –
धेरै-धेरै कुरा मनमा खेल्न थाले । नेपाली काङ्ग्रेसको एक मात्र जीवित संस्थापक नेता लगभग दुई दशक पार्टीको सभापतित्व -कावासहित) गरिसकेका कृष्णप्रसाद भट्टराई आफ्नै पार्टीको महाधिवेशनमा भाग लिन किन आउनुभएन ? आउनुभएन मात्र होइन, आफैंले स्थापना गरेको पार्टीलाई किन ‘नक्कली’ नै भन्नुभयो होला ? पार्टीमा केही कमजोरी पो छ कि ? यसको खोजी गर्न मन लाग्यो । अनि विगतदेखि सम्भिँmदै गएँ, किन पार्टीका संस्थापकहरू कालान्तरमा पार्टीबाटै अपहेलित, दुःखी अनि परित्याग महसुस गर्छन् ? चाहे तीे सुवर्णशमशेर हुन् वा गणेशमान सिंह वा आजका किशुनजी । अनि कल्पँे, के भन्न सकिन्थ्यो- केही वर्ष अझै बाँच्नुभएको भए सायद गिरिजाबाबु पनि… ।
अझै खोजी गर्न मन लाग्यो, तर्सथ पहिले किशुनजीलाई भेट्ने निर्णय गरँे । सँगसँगै सम्झेँ पार्टीको महाधिवेशनको मुखमै आएर केन्द्रीय सदस्य बलदेव शर्मा मजगैंयाले सक्रिय राजनीति छाडेको घोषणा किन गरे होलान् ? र्सर्रर.. सम्झना आयो कसरी चालीसौं वर्ष यही पार्टीमा लगानी गरेका महन्थ ठाकुर, विजय गच्छदार, जयप्रकाश गुप्ताहरू पार्टी छाड्दै अर्कै पार्टी बनाउँदै गए ? वास्तवमा किन ? यिनीहरूसँगै केही अनुहार अगाडि आए- २०१७ सालको काण्डमा हातमा माइक बोकेर जीपमा उभिएर राजा महेन्द्रलाई चेतावनी दिँदै गरेको मार्सलजुलुम शाक्य, नूतन थपलिया अनि पर्चा छर्दै गरेका ओमकार श्रेष्ठहरू, अनि २०४४ सालको पुस १ गते बहिष्कार गर्दै गरेका हरिबोल भट्टराईहरू -सायद यतिखेर केन्द्रीय सदस्यको चुनाव हारिसकेका हुनेछन्) । अनि सम्भँmदै गएँ हिजो हरिबोल पञ्चायतलाई बहिष्कार गर्दै गर्दा पञ्चायतको प्रतिकार समितिको डण्डा बोक्नेहरूको पार्टीमा हालिमुहाली । तब सोचेँ- बिचरा हरिबोलहरूको स्थान कहाँ ? अनि अरू अनुहार पनि अगाडि आए- हिजो पार्टीलाई सङ्कट पर्दा प्लेन अपहरण गर्ने दर्ुगा सुवेदी, नगेन्द्र ढुङ्गेलहरू अनि ओखलढुङ्गा कब्जा गर्न हिँडेका जिउँदा सहिद एलबी गुरुङहरू सम्भँmदै गएँ, अत्यास लाग्न थाल्यो । तब निश्चय गरँे- यी सबैको हालतको खोजी गर्नेछु र तिनलाई सोध्नेछु अब पार्टीलाई म कसरी अगाडि बढाउँm ? र, त्यसको सुरुआत मैले वि.सं. २०१७ सालको काण्डविरुद्धमा हतियार बोकी पार्टी प्रतिबन्धित हुँदासम्म निरन्तर लडिरहने भूविक्रम नेम्वाङले पार्टी सत्तामा पुगेपछि किन राजनीति नै छाडे भन्नेबाटै खोजी गर्ने निश्चय गरेको छु । यही निश्चयले पनि मन अलिक हल्का महसुस भयो ।
यी त भए गौरवपूर्ण इतिहासको पीडापूर्ण वर्तमानसँगको समायोजन । अब मलाई वर्तमानलाई भविष्यसँग जोड्न मन लाग्यो । तर्सथ, मैले सर्वप्रथम सभापतिमा निर्वाचित हुनेबित्तिकै महाधिवेशनका लागि देश-विदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरूसँग सामूहिक अनि व्यक्तिगत भेटघाट गरी लिखित रूपमा आगामी दिनमा पार्टीलाई कसरी लैजान उपयुक्त हुन्छ ? गरिनुपर्ने सुधार तथा परिवर्तनका बारेमा सुझाव सङ्कलन गर्ने प्रण गरेँ । यिनै सुझाव तथा कार्यकर्ताको सहभागिताका लागि पनि पार्टीको वेभसाइट सबैभन्दा पहिला ‘अप टु डेट’ गरी नियमिततासमेत गराई -हुन त यो झिनामसिना प्रशासनिक कार्य हुन्, तर पनि यसको महत्त्व बुझेर अनुगमन गर्नु र गराउनु जरुरी ठानेको छु) सूचनामूलक बनाई कार्यकर्ता तथा शुभेच्छुकहरूसँग नियमित सर्म्पर्कको माध्यम बनाउँछु । महाधिवेशनको समयमा त वेभसाइटको यो गति छ भने अन्य अवस्थामा यही टिमबाट कति र कसरी काम हुनसक्ला ? भन्ने अनुमान गरी कार्यालय सञ्चालनको टिमलाई समयानुकूल परिमार्जित तथा व्यवस्थित गराउन जरुरी ठान्नुपर्ने बाध्यता छ । केन्द्रबाट इकाइसम्म परिपत्र प्रणाली र प्रत्येक श्रेणीगत इकाइहरूबीच समन्वयात्मक प्रणालीको व्यवस्था अपरिहार्य ठानी कार्यान्वयन गराउनेछु ।
पार्टीमा अभिलेख प्रणालीमा सुधार गरी कार्यकर्ता-मूल्याङ्कन प्रणालीको विकास गराउनुपर्नेछ । साथै सदस्यता वितरण, महाधिवेशन प्रतिनिधि छनोटजस्ता कुरामा देखिएका कमी-कमजोरी सुधार गर्न विशेषज्ञताको उपयोग गराउनुपर्ने ठानी त्यसको सम्भाव्यता अध्ययन तथा उपयोग गराउनेछु ।
पार्टीमा स्कुलिङका लागि बौद्धिक, अध्ययनशील, लामो समय लगानी गरेकाको टिम बनाई पार्टीका दस्तावेज, नीति तथा कार्यक्रमजस्ता कुराहरूको बारेमा पार्टी कार्यकर्तामा प्रशिक्षणको व्यवस्था अनिवार्य र्सतजस्ता लाग्छन् । अरूले नबुझे पनि कमसेकम महाधिवेशन प्रतिनिधिसम्मले पार्टीको इतिहास, नीतिहरूको सामान्य जानकारी त राख्न सक्षम होऊन् ।
वारि्षक रूपमा महासमितिको बैठक, क्षेत्रीयस्तरमा कार्यकर्ता -कम्तीमा महाधिवेशन प्रतिनिधि) भेला, जिल्लास्तरमा प्रशिक्षण कार्यक्रमको सुरुवात, निरन्तरता तथा नियमितता मेरो प्रमुख प्राथमिकताभित्र पर्नेछन् । कार्यकर्ताको नियमित तथा चलायमान गतिविधि, सहभागितामूलक क्रियाकलाप नै पार्टीको सजीव स्वरूप हुन सक्छन् भन्ने लाग्छ । पार्टी कार्यकर्ता र इकाइहरूलाई सक्रिय तुल्याइराख्न, स्थानीय जनताको आवश्यकतासँग तालमेल मिलाइराख्न विषयगत तथा क्षेत्रगत कार्यक्रमहरू आवधिक रूपमा ल्याउन जरुरी ठानेको छु, जसका लागि आफ्नो पूर्ण कार्यकालको कार्ययोजना तथा वारि्षक रूपमा विभिन्न कार्ययोजनाको तर्जुमा गरी छुट्टाछुट्टै टिम बनाई लागू गराउँछु । ६४ पदका लागि साढे तीन सय -३५०) भन्दा बढीको महत्त्वाकाङ्क्षी उम्मेदवारीलाई मैले सकारात्मक रूपमा लिएको छु र त्यसलाई सकारात्मक रूपमा नै उपयोग गर्नेछु । नत्र यी सङ्ख्या पार्टीभित्रै प्रतिपक्षको भूमिकामा परिणत हुन सक्छन् भन्ने कुरामा सजग छु । तर्सथ प्रतिपक्ष होइन रचनात्मक भूमिका दिन यिनीहरूलाई विषयगत र क्षेत्रगत रूपमा जिम्मेवारी तोकी व्यस्त राख्नेछु ।
आफू पनि विश्वइतिहास, समसामयिक राजनीति, अर्थशास्त्र, आधुनिक विकासका उपलब्धिहरूको अध्ययन गर्छु । अरूमा अध्ययन गर्न पार्टीगत व्यवस्था मिलाउनेछु । ‘अब हिजो फलनाले यसो भन्नुभएको थियो’को स्थानमा ‘अहिले कार्यकर्ताले यसो भन्छन्,’ ‘जनताले यो चाहन्छन्’ भन्ने कुरालाई पार्टीभित्र छलफलको विषय बनाउँछु । इतिहास भजाइरहने होइन कि, ‘इतिहासको कदर’ तर र्’वर्तमानलाई सदर’ गर्ने प्रवृत्तिको विकास गराउँदै जान चाहन्छु । जसका लागि सबैभन्दा पहिले ‘म’ आफैं अध्ययनमा कमजोर छु भन्ने कुरा स्वीकार्छु । जसले गर्दा मलाई अध्ययन गर्ने मनोबल र प्रेरणा मिल्नेछ र ‘बीपीले यसो भन्नुभएथ्यो’ भनेर ढाकछोप गर्नुपर्ने बाध्यताबाट मुक्ति मिल्नेछ । यति भए बीपीको सपना भजाउँदै हिँड्ने ठाउँमा आफैं पनि सपना देख्ने प्रवृत्तिको विकास हुने आशा राख्दछु ।
पदले इतिहास लेख्दैन, लेखे पनि तत्कालीन हुन्छ, तर क्रियाकलापले इतिहास लेख्छ भन्ने यथार्थलाई पार्टी सभापतिको पहिलो दिनदेखि नै आत्मसात् गर्दै जानेछु ।