प्रचण्डको सत्ताभोक र हिजडा एमाले

प्रचण्डको सत्ताभोक र हिजडा एमाले


-श्रीधर शर्मा
माओवादीको सत्ताकब्जाको रणनीतिअर्न्तर्गतको चक्रब्यूहमा एमालेको झलनाथ पक्ष फसिरहेको छ । यसै क्रममा अहिले काङ्ग्रेसलाई पाखा राख्दै ‘वामपन्थी गठबन्धन’ सरकारको ललिपप देखाउँदै माओवादी षड्यन्त्रबमोजिम सातपटक पराजित प्रचण्डको प्रधानमन्त्री पदको उम्मेदवारी फिर्ताको पासो फ्याँकिएको छ ।
प्रचण्ड जसरी पनि आफू प्रधानमन्त्री हुनैपर्नेमा छन् । यही नै यो राजनीतिक अन्योलको कारक हो । ‘माधव नेपालले राजीनमा दिएको दुई मिनेटमा सबै बाधा फुक्छ’ भन्ने प्रचण्डकै भनाइ यसैले उपहासको विषय बन्न पुगेको हो । यदि यसो नभएको भए आफैंले ‘कठपुतली’ भनेको सरकारलाई ‘कामचलाउ’ मानेर तीन-तीन महिनासम्म यसरी बसिरहनुपर्ने अवस्था नै आउने थिएन । आफूबाहेक डा. बाबुराम भट्टराई वा अरू अन्य दलका लागि स्वीकार्य हुनसक्ने र उनीहरूलाई छाड्दा सहमति हुनसक्ने पर्याप्त सम्भावना छँदाछँदै पनि प्रचण्डले त्यसो गर्न सकेनन् । र पटकपटक ‘विकल्प खुला रहेको’ भन्ने माओवादीकै कतिपय नेताको भनाइ त्यसै खेर मात्र गएन मुलुकले यो अन्योल र अलमल भोग्नु परिरहेको छ । यही अड्कोले प्रचण्डको महत्त्वाकाङ्क्षालाई समेत प्रस्ट पार्दछ ।
लोकतान्त्रिक विधिअनुरूप चलिरहेको प्रक्रिया यथावत् राखी सहमतिका लागि प्रयत्न गर्नुपर्नेमा त्यसो नगरी मैदानबाट भाग्ने कायरता यतिखेर प्रचण्डले देखाएका छन् । यो लोकतन्त्रको उपहास हो । कुरा चर्का गरेर हुँदैन । अरूलाई ‘कुखुरा’ र आफूलाई ‘बाज’ ठान्ने प्रचण्डले यतिखेर फेरि ‘धर्ूत स्याल’को भूमिका खेल्न खोजेको देखिन्छ जुन सर्वथा अनुचित छ । अरूको ध्यान अर्कैतिर मोडेर आफ्नो स्वार्थ पूरा गर्नेतर्फको उनको चलाखी कति सफल वा टिकाउ हुने हो त्यो त समयले बताउनेछ तर सहमतिको कुरा गरेरै स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई समेत अन्तिम अवस्थामा धोका दिएका प्रचण्डप्रति सजिलै विश्वस्त हुन गाह्रो छ र यसै आधारमा पनि उनले सोचेजस्तो सजिलोसँग काम बन्नेमा शङ्कै छ । साँच्चै सहमति खोजेको हो भने झलनाथ मण्डलीसँग गोप्य सहमति गर्ने होइन तीनै दल र अझ संविधानसभामा प्रतिनिधित्व गर्ने सबैदल एकैठाउँ बसेर पनि निर्णयमा पुग्न सकिन्थ्यो । त्यसो नगरिनु र काङ्ग्रेसको ध्यान आफ्नो महाधिवेशनतर्फ केन्द्रित भइरहेको मौका छोपेर वा यसलाई अनुकूल समय ठहराएर उम्मेदवारी फिर्ताको घोषणा गर्नु अनि ‘सहमतीय भए झलनाथ बहुमतीय भए प्रचण्ड’ भनेर भन्नुचाहिँ दूराशय पूर्ण छ ।
एमाले जहिले पनि बीचमा बसेर अवसर खोज्ने पार्टी हो । माओवादी अगाडि आएपछि र माओवादीले आफ्ना कार्यकर्ता तान्न थालेपछि लोकतान्त्रिक हुन प्रयत्न गरेको एमाले जब झलनाथको नेतृत्वमा गयो तब उनको अव्यक्त महत्त्वाकाङ्क्षाले गर्दा गुट-उपगुटमा राम्रैसँग विभाजित हुन पुग्यो । यसैको परिणाम ऊ न यताको न उताको बनेको छ हिजडाजस्तो । कोही लोकतन्त्रको पक्षमा छन् कोही सर्वसत्तावादी शासन व्यवस्था पक्षधरको लहलहैमा लागेका छन् । यसैले एमाले यतिखेर अस्तित्वकै लडाइँ लडिरहेको छ भन्दा पनि फरक पर्दैन । अनि एमालेले आफूलाई कम्युनिस्ट भनिरहेको सर्न्दर्भमा पनि उसका केही अप्ठेरा पक्कै छन् आफूलाई झनै ठूलो कम्युनिस्ट भन्ने माओवादी अगाडि आएपछि, तर यसरी हिजडा रहिरहनुभन्दा उसले अब स्पष्ट बाटो लिनुपर्छ ।
काङ्ग्रेस हिजो एमालेलाई सहयोग गरेको कारण आज हामीलाई सहयोग गर्नुपर्छ भन्छ । यो तर्क न जायज हो न बलियो छ । आफैं अनिर्णयको बन्दी बनिरहेको एमालेलाई त्यसो भन्नुको कुनै तुक र औचित्य छैन । कुन सिद्धान्त अपनाएर कसरी अघि बढ्ने भन्ने विषयमा अन्योलमा रहेको एमालेलाई हिजोको कुरा गरेर सहयोग माग्नुको कुनै अर्थ छैन । माओवादी एमालेलाई ललिपप देखाएरै उसको अस्तित्व समाप्त पार्ने दाउमा छ भन्ने कुरा जबसम्म एमालेले बुझ्दैन र माओवादी कम्युनिस्ट खाने कम्युनिस्ट हो भन्ने एमालेले बुझ्दैन तबसम्म यस्ता तर्कको कुनै प्रयोजन छैन । यर्सथ यस्ता कुरामा अल्मलिनुको कुनै औचित्य छैन ।
एउटा कुरा के चाहिँ सत्य हो भने हरेक क्रान्तिको अगुवाइ गर्ने र यो मुलुकमा लोकतन्त्रको पर्याय बनेको पार्टी नेपाली काङ्ग्रेसलाई निषेध गरेर जुन-जुन वादीको सरकार बने पनि त्यसले आफूलाई धेरै दिन उभ्याइरहन सक्ने छैन । लोकतान्त्रिक शक्तिलाई पाखा लगाएर सत्तामा हालीमुहाली गर्ने र कथित जनवादी संविधान लागू गर्ने जुन सपना कथित कम्युनिस्टहरूले देखिरहेका छन् त्योचाहिँ दिवास्वप्नसिवाय केही हुनेछैन । यसप्रति उनीहरू सचेत हुनुपर्छ र यर्सथ गोप्य सहमति गर्ने होइन खुला रूपमा जनताका सामुन्ने सहमति गर्ने काम गर्नुपर्छ । हिजोको सहमतिको कार्यान्वयन र प्रतिबद्धताको पूर्ण पालना गरिनुपर्छ । ‘माओवादी नेतृत्वमा सरकार नबने मुलुकमा दुर्घटना निम्तिने’ कुरा बताउने प्रचण्डले काङ्ग्रेसलाई एक्ल्याउँदा कस्तोे परिणाम आउला त्यसको पनि अनुमान गर्न सक्नुपर्छ । काङ्ग्रेसले पनि अब सत्ताको नेतृत्व गर्नेभन्दा आफूलाई जनताको प्रतिनिधित्व गर्ने, राष्ट्रवादी पार्टी हो भन्ने रूपमा पुनर्स्थापित गर्न सक्नुपर्छ । यसो हुनसक्यो भने कम्युनिस्ट भन्नेहरूका सपना आफैं भताभुङ्ग भएर जानेछन् ।