भारत भ्रमणसम्बन्धी परामर्शमा प्रधानमन्त्री

भारत भ्रमणसम्बन्धी परामर्शमा प्रधानमन्त्री


पाँच दिवसीय भ्रमणको कार्यक्रमका साथ केही दिनमै छिमेकी मित्रराष्ट्र भारत यात्रामा निस्कन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रमणका एजेण्डाका सम्बन्धमा छलफल एवम् परामर्शलाई तीव्र तुल्याएका छन् । आशन्न भ्रमणबारे शनिबार पनि उनले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श लिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग देउवाले भ्रमणबारे छलफल गरेका छन् । सो क्रममा पूर्वप्रधानमन्त्रीहरुले देशहितलाई ध्यानमा राखेर मित्रराष्ट्रसँग कुराकानी र व्यवहार गर्न सुझाव दिएका बुझिएको छ ।

छलफलमा सहभागी भएका पूर्वप्रधानमन्त्री झलनाथ खनालका अनुसार नेपालको राष्ट्रिय हित र नेपाली जनताको भावनालाई ध्यानमा राख्दै नेपाल र भारतबीच भएका ज्वलन्त समस्यामा ध्यान केन्द्रित गर्न प्रधानमन्त्रीलाई सुझाव दिइएको छ । नेपालमा हालै भएको भारी वर्षाका कारण तराईमा भएको डुबान यतिबेलाको ज्वलन्त समस्या भएको र मानवीय एवम् धनजनको व्यापक क्षति भयो भएको यस प्राकृतिक विपदको मुख्य कारण सीमानामा बाँधिएका बाँधहरू भएकोले त्यसबारे नयाँ ढंगले पुनःसंरचना गरिनुपर्छ, अवलोकन गरिनुपर्छ र दुई देशबीचमा सहमति निर्माण गर्नुपर्छ भन्ने बारेमा छलफल भएको र प्रधानमन्त्री देउवाले गम्भीरताका साथ सुझव सुनेको बुझिएको छ ।

बालुवाटार सुत्रका अनुसार प्रधानन्त्रीले छलफल र परामर्शलाई भोली पनि निरन्तरता दिने छन् । कुटनीतिक क्षेत्र तथा सम्बन्धित अन्य विज्ञहरुसँग समेत राय लिने र सक्दो तयारी गरेरै भ्रमणमा निस्कने सोच देउवाले बनाएका छन् ।


तस्बिर : रासस