पीडितलाई ग्लोबल आइएमईको ६५ लाख

पीडितलाई ग्लोबल आइएमईको ६५ लाख


तराईलगायत मुलुकका विभिन्न भागमा आएको बाढी–पहिरो पीडितलाई तत्काल राहत पुर्याउनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ग्लोबल आइएमई बैंकले ६५ लाख प्रदान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले रकमको चेक प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हस्तान्तरण गरे । कुल रकममध्ये बैंकले आफ्नो तर्फबाट ५१ लाख तथा बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको एकदिनको तलबबराबर हुन आउने १४ लाख रुपैयाँ गरि कुल ६५ लाख रुपैया प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा प्रदान गरिएको बैंकले जनाएको छ ।

ग्लोबल आइएमर्ई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायतको उपस्थिति रहेको सो अवसरमा अध्यक्ष ढकालले विगतमा पनि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मुलुकमा विभिन्न समयमा आइपरेका प्राकृतिक प्रकोपमा सहयोग प्रदान गरेको स्मरण गराउँदै अहिले पनि मुलुकमा आइपरेको विपत्तिको सामना गर्न सरकारलाई सहयोग गरेको जानकारी दिए । उनले भविष्यमा पनि देशमा आइपरेका यस्ता विपत्तिबाट पीडितहरूको सहयोगार्थ बैंक सधैं तत्पर रहिरहने प्रतिबद्धता जाहेर गरे ।

साथै, बाढी पहिरो पीडित व्यक्तिहरूका लागि आर्थिक सहयोग उपलब्ध गराउन चाहने महानुभावहरुले ”प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, सिंहदरबार”को नाममा ग्लोबल आइएमई बैंकको ज्ञानेश्वर शाखामा खोलिएको खाता नम्बर ‘०४११०१००००००५’ मा बैकका सम्पूर्ण शाखाबाट रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।