अक्सफामको गोदाममा म्याद गुज्रिएका राहत सामग्री

अक्सफामको गोदाममा म्याद गुज्रिएका राहत सामग्री


भूकम्पपीडितलाई राहत वितरण र जीविकोपार्जनमा सहयोग पु-याउन नुवाकोटमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था अक्सफामको गोदाममा रहेका राहत सामग्रीको म्याद गुज्रिएको छ ।

नुवाकोटमा कार्यालय नै राखेर सञ्चालनमा रहेको अक्सफामको बट्टारस्थित गोदामघरमा रहेका मञ्जन, लुगा धुने र नुहाउने साबुन, सिमेन्टलगायतका राहत सामग्रीको म्याद सकिएको भेटिएको हो ।

जिल्लाका साविक नौ गाविसमा क्रियाशील रहेको संस्थाले भूकम्पपीडितलाई वितरण गर्न र भूकम्पले क्षति पु-याएका खानेपानी आयोजना निर्माण गर्न ल्याएको सिमेन्टको समयमै काम नहुँदा म्याद सकिएको हो ।

अक्सफामले राहत वितरण गर्न तयार बनाएको २०० थान ‘हाइजेनिक किट्स’मा राखिएका साबुन, मञ्जनलगायतका सरसफाइका सामग्रीको म्याद सकिएको छ । ती सामान भूकम्पपछिको पहिरोको कारण विस्थापित भएकालाई वितरण गर्न नुवाकोट ल्याइएको थियो ।

यस्तै, संस्थाको गोदाममा रहेका ११४ बोरा सिमेन्टको म्याद सकिएर काम नलाग्ने भएको अक्सफामका जिल्ला संयोजक अरुण पौडेले स्वीकार गर्नुभएको छ ।

राहत वितरणमा प्रभावकारी काम नगरेको आरोप लाग्दै आएको अक्सफामले भने स्थानीय तहको निर्वाचन र त्यसपछि वर्षा शुरु भएकाले काम गर्न नपाउँदा राहत सामग्रीको म्याद सकिएको दाबी गरेको छ । “चुनावले गर्दा वैशाख महिनाभर काम गर्न पाएनाँै ।”

संयोजक पौडेलल भन्नुभयो, “त्यसपछि बर्खायाम शुरु भएकाले लैजानुपर्ने स्थानमा पु-याउन नसक्दा म्याद गएको हो, त्यसलाई नष्ट गर्ने तयारी गरेका छौँ ।” गोदाममा रहेका सामग्रीको लेबल हेर्दा मंसिरदेखि फागुन महिनाभित्र नै म्याद सकिएको पाइएको छ ।

म्याद गुज्रिएका सामग्रीको मूल्य रु तीन लाख हाराहारीमा रहेको संस्थाले जनाए पनि यकिन विवरण बाहिर ल्याएको छैन । राहत सामग्रीको म्याद सकिएको सम्बन्धमा जिल्लाका नियामक निकाय भने बेखबर छन् ।-RSS