राहत सामग्री लिएर धुर्मुस-सुन्तली मधेश जाँदै

राहत सामग्री लिएर धुर्मुस-सुन्तली मधेश जाँदै


हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) बाढी पीडितका लागि राहत सामग्री लिएर तराइ मधेश जाँदैछन् ।

लगातारको मुसलधारे बर्षाले तराई डुवानमा परेपछि राहत लिएर आफूहरु आइतबार बर्दिवास जान लागेको सिताराम कट्टेल धुर्मुसले बताए ।

‘यो दुःख र आपद्का बेला केही राहत सामग्रीसाथ तराई झर्न लागेका हौं।’ सीताराम कट्टेलले भने-, ‘मुसलधारे बर्षासँगैको भेलले बर्दिवाससहितका मधेशका बस्तीमा उध्धुम मच्चाएको खबरले हामी मर्माहत भएका छौं’  । आफ्नो राहत सामग्रीमा खाद्यान्न, टेण्ट, भाँडाकुँडा, औषधी र केही तयारी खानेकुरा रहने धुर्मुस-सुन्तलीले बताएका छन् ।

अविरल बर्षासंगै मधेसका बस्तीहरु कटान र डुबानमा परेपछि यहाँका नागरिकहरु अलपत्र परेका छन् । बाढी पीडितलाई बचाउन सबैले एक भएर जुट्नुपर्ने आवश्यकता रहेको धुर्मुसले बताए । ‘मानवता र सद्भावका लागि सहकार्य गरी प्राकृतिक विपद्संग सामना गर्न सबै नेपाली एक जुट हुनु पर्छ,’ उनले भने ।

यस अघि धुर्मुस सुन्तली आवद्ध धुर्मुस-सुन्तली फाउण्डेसनले भूकम्प पीडितको लागि काभ्रेको पहरी बस्ती, सिन्धुपालचोकको गिरान्चौर बस्ती र मुहसरका लागि महोत्तरीको बर्दिबासमा एकिकृत नमुना बस्ती बनाइसकेका छन् ।