बाढीपहिरोको विपदमा मुलुक, सरकारले लगायो सहयोगको गुहार !

बाढीपहिरोको विपदमा मुलुक, सरकारले लगायो सहयोगको गुहार !


देशको तराई मधेसलगायत विभिन्न भागमा बढीपहिरोबाट ठूलो धनजनको क्षति भएपछि उद्धार र राहतमा चुस्त हुनुपर्ने सरकार स्वयम आत्तिएको अनुभूति गरिएको छ । अकल्पनीय किसिमबाट निम्तिएको यस विपत्तिलाई ०७२ वैशाख १२ को विनाशकारी भूकम्पले निम्त्याएको विनासपछिकै दोस्रो ठूलो आपतकालीन स्थितिका रुपमा चित्रित गरिँदै गर्दा सरकारमाथि नागरिकको जनधन सुरक्षाको दबाब पर्नु स्वाभाविक भए पनि खोज, उद्धार तथा राहत वितरणमा सहयोग पुऱ्याउन गृहमन्त्रालयले नै आमतप्कामा आह्वान गरेबाट विपत्तिमाथि थप अत्यासको अवस्था सिर्जना हुन पुगेको छ ।

शनिबार साँझ एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले समस्यामा परेका परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्नलगायतका सामग्री उपलब्ध गराउन उद्योगी, समाजसेवी तथा सामाजिक संघसंस्थाहरुलाई आग्रह गरेबाट यस्तो महसुस गरिएको हो । गृहमन्त्रालयले बाढी तथा डुवान प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तालिम प्राप्त सुरक्षाकर्मी र अन्य जनशक्तिको परिचालन गरिएको जनाउँदै थप सहयोगको लागि नागरिक गुहारेको हो ।

मन्त्रालयका अनुसरा बाढी तथा पहिरो प्रभावित ११ जिल्लामा नेपाल प्रहरीका पाँच हजार ६००, सशस्त्र प्रहरीका एक हजार सातसय र नेपाली सेनाका आठ हजार तीनसय तालिम प्राप्त सुरक्षाकर्मी र हेलिकोप्टर खोज तथा उद्धारमा खटिएका छन् । यस्तै, उद्धार गरिएकालाई विद्यालयलगायतमा आश्रय दिइएको र जिल्ला दैवीप्रकोप उद्धार समितिले खानाको व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, मन्त्रालयले औषधिसहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह पनि गरेको छ ।

यसैबीच मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षात् भएको सम्बद्ध निकायले जानकारी दिएको छ । विहीबारदेखि सक्रिय यो प्रणालीले देशभर बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। उक्त वायुको प्रभावले आइतबार पनि देशभर वर्षात् भएको र यो क्रम भोलि पनि जारी रहने बताइएको छ ।

यतिबेला पश्चिमका केही स्थानबाहेक देशभर बदली छ भने अधिकांश स्थानमा वर्षात जारी छ । आइतबार देशैभर वर्षात् हुने तथा विशेषगरी मध्य र मध्यपश्चिम नेपालका तराई क्षेत्रमा भारी वर्षात् हुने मौसमविदहरुको भनाई छ । सोमबारदेखि मात्र वर्षातमा कमी आउने बताइएको छ ।

दुई दिनदेखि लगातार परेको वर्षा खासगरी पूर्वी, पश्चिम र मध्यपश्चिमका तराई भेगमा बाढीको डुबान छ भने पहाडी भेगमा पहिरोले धनजनको क्षति गरेको छ । गृह मन्त्रालयका अनुसार घटनामा परी हालसम्म ३० जनाभन्दा बढीको मृत्यु र दसभन्दा बढी मानिस बेपत्ता भएका छन् । जनधनको क्षति अझै बढ्न सक्ने देखिएको छ ।