भन्सार छलीका मोबाइल फोन मुलुकभर फैलिँदै

भन्सार छलीका मोबाइल फोन मुलुकभर फैलिँदै


पछिल्लो समय व्यापारमा मौलाएको व्यवसाय हो मोबाइल फोेनको कारोबार। मोबाइल व्यवसाय जसरी फस्टाएको छ, त्यसरी नै कारोबार गर्नेहरुले भन्सारमा कम मुल्यांकन गराएर सेट भित्र्याउनेदेखि तस्करी भएर आएका मोबाइल सेट खरिद गर्नेसम्मका अवैधानिक चलखेल नेपाली मोबाइल बजारमा तीव्र रुपमा फस्टाएको छ ।

भन्सार तथा कर छली गर्दै हुने मोबाइलको कारोबार मौलाएसंगै सम्बन्धित सरकारी निकायबाट यसको सही अनुगनमन नहुँदा दैनिक उपभोक्ता ठगीनु परेको छ । कतिपय व्यापारीहरुले भन्सार छली गरि ल्याएका मोबाइल सेटहरु विनाबिल कारोवार गर्दै आएका छन् । त्यसरी कारोबार गर्नेहरुले अनलाइनबाट ठूलो मात्रामा कारोबार गर्दै आएको खुलेको छ ।

नो बक्स (बक्स नभएको), नो बिल (भ्याट बिल नदिने) जस्ता कार्य गर्दै खुलेआम मोवाइल बिल नदिएरै राजश्व छली भएका मोवाइल सेटहरुको कारोवार भइरहेको छ । पछिल्लो समय महँगा र ब्रान्डेड मोवाइल सेटहरुको प्रयोग जसरी बढेको छ, सोही अनुपातमा मोवाइल तस्करी धन्धा पनि मौलाएको छ । अवैध मोवाइलको कारोवारले डरलाग्दो रुप लिएको छ ।

विभिन्न भन्सार नाका भएर नेपाल भित्रिएका त्यस्ता मोवाइल सेटहरुको कारोवारले व्यापकता पाएसँगै ठूलो गिरोहरुको विवरण मात्र होइन साना मोवाइल तस्कर समेतको संलग्नता रहेको बुझिन्छ । यस्ता सेटको कारोवार मुलुकभर हुँदै आएको छ, त्यसमा पनि केही गिरोहले त अनलाइनमार्फत सस्तो एवं नो बक्स व्राण्डेड न्यू मोवाइल फोन भन्दै प्रचारप्रसार गरेर नै कारोवार गर्दा समेत सम्बन्धित निकाय भने बेखबर बनेर बसेको छ ।

एम के टेड्रर्स, मेघा इम्पोर्ट, एनडिटी डिष्ट्रिव्यूटर्सलगायतका व्यापारिक फर्महरुले खुलेआम भन्सार छली गरिएका र चोरीनिकासी गरि ल्याइएको सामाग्रीहरुको कारोवार गर्दै आएका छन् । मोवाइल भन्सार चोरी तस्करीमा साउथ एसिया इन्टरनेशनल मोडेल युनाइटेड नेशनका प्रमुखसमेत सक्रिय रहेको फेला परेको छ । त्यसैगरि, न्यूरोड क्षेत्रमा विभिन्न वस्तुको आयात गर्ने, कम्प्यूटर तथा विभिन्न इलेक्ट्रोनिक्स सामाग्रीको आयात गर्ने कम्पनीहरुदेखि हुण्डी कारोवारीहरु समेतले त्यस्ता मोवाइल सेटहरुको तस्करी गरी नेपाल ल्याउने र सस्तो मुल्यमा पसल संचालकहरुलाई बिक्री गर्ने गरेको पाइएको छ ।

साउथ एसिया इन्टरनेशनल मोडेल युनाइटेड नेशन नामक संस्थाका प्रमुख संस्थापक समेत रहेका श्याम गोयलले एनडिटी डिष्ट्रिव्यूटर्स एण्ड प्रालिको नामबाट यस्ता मोवाइलको कारोवार गद्र्यै आएका छन् । उनको बुबाले संचालन गरेको इलेक्ट्रोनिक्स सामग्रीको आयात गर्ने मेघा इम्पोर्टले ल्याउने विभिन्न इलेक्ट्रोनिक्स सामाग्री भित्र बक्स फ्यालेर मोवाइल सेट तस्करी गर्ने गरेको पाइएको छ । गोयलले मुख्यगरि महँगो मानिएको विभिन्न व्राण्डका आइफोनको तस्करी गर्दै आएको पाइएको छ ।

त्यसैगरी, न्यूरोडमा इलेक्ट्रेनिक्स बस्तुको कारोवारमा संलग्न रहेका अर्का व्यापारि आयुष अग्रवालले हुवावे, सामसुङ, आईफोनलगायतका मोवाइलहरुको तस्करी गर्ने गरेको पाइएको छ । उनले विभिन्न कम्प्यूटरका सामाग्रीभित्र बक्स फालेर मोवाइल नेपाल भित्र्याउने गरेको खुलासा भएको छ । साथै संकटामा रहेको एम के टेड्र लिंकले समेत यस्ता मोवाइलहरुको तस्कर गरि कारोवार गर्ने गरेको पाइएको छ । विभिन्न अनलाइनमा विज्ञापन नै गरि सस्तोमा खुलेआम मोवाइल कारोवारमा सक्रिय रहेको फेला परेको छ ।