बाढीपीडितको राहत-उद्धार गर्न कांग्रेसले गुहाऱ्यो सरकार

बाढीपीडितको राहत-उद्धार गर्न कांग्रेसले गुहाऱ्यो सरकार


शुक्रबारदेखिको निरन्तरको वर्षासँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोले ताण्डव रुप लिएपछि सरकारले राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । सरकारको आपतकालीन बैठकले राहत तथा उद्धारका लागि सम्पूर्ण संयन्त्रको प्रभावकारी परिचालन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री, रक्षामन्त्री र चारवटै सुरक्षा निकायका प्रमुखसहितको बैठक शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

बाढी पहिरोको घटनामा हालसम्म मुलुकभर ३० जनाको मृत्यु, एक दर्जनभन्दा बढी बेपत्ता भएको र पूर्ण विवरण आइनसकेकाले यो संख्या अझ बढ्ने गृहमन्त्री जनाद्र्धन शर्माले बताएका छन् । शनिबार दिनभर राहत उद्धारका लागि स्थानीय प्रशासन र तीनवटै सुरक्षा निकाय लागिरहेको तथा केन्द्रबाट थप मद्दत र सामग्री पठाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको समेत उनले बताए ।

उनका अनुसार पश्चिमी क्षेत्रका बाँकेलगायत स्थानमा हेलिकप्टर परिचालन गरिए पनि पूर्वी क्षेत्रमा हेलिकप्टर प्रयोग गर्न सकिएको छैन । पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाहीलगायतका जिल्लामा अबिरल वर्षात् भएको कारणले हेलिकप्टर उड्न नसकेको तथा झापाको झापा गाउँपालिकामा १३३ जना मानिस एक घरमा गएरातिदेखि उद्धारको पर्खाइमा रहेको र निरन्तर डुङ्गागाबाट उद्धार गर्ने प्रयास गरिए पनि सकिएको छैन । तथापि, नेपाली सेनाले प्रयत्न जारी राखेको बताइएको छ ।

यसैबीच मुलुकका विभिन्न ठाउँमा आएको बाढीपहिरोले पुऱ्याएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रिय कार्यालयद्वारा जारी विज्ञप्तिमा बाढी पहिरोका कारण सुनसरी, झापा, सिन्धुली, दाङ, बर्दिया, मोरङलगायत जिल्लामा ३० भन्दा बढी व्यक्तिको मृत्यु, ठूलो संख्यामा बेपत्ता तथा घाइते र ठूलो धनमालको क्षति पुगेको जनाइएको छ । बाढी पहिरोका कारण लत्ताकपडा, खाना र बस्ने स्थानको समस्या हुँदै गएको र पीडितको दैनिक जीवन कष्टकर बन्दै गएको भन्दै पीडित परिवारको तत्काल उद्धार गरी यथोचित राहतको व्यवस्था गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ ।