संविधान कार्यान्वयनलाई पूर्णता दिन निर्वाचन : खनाल

संविधान कार्यान्वयनलाई पूर्णता दिन निर्वाचन : खनाल


नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएको बताउनुभएको छ । उहाँले मुलुक अहिले निर्वाचन वर्षका रूपमा अघि बढिरहेको बताउनुभयो । इलामको कोल्बुङमा सोमबार आयोजित कार्यक्रममा उहाँले कार्यकर्तामाझ संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन नै स्थानीय निकाय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न हुन गइरहेको बताउनुभयो ।

“स्थानीय तहको दुवै चरणको निर्वाचनमा एमाले पहिलो भएको छ, अब तेस्रो चरणमा पनि एमाले पहिलो हुन्छ”, नेता खनालले भन्नुभयो । प्रदेश नं २ मा तेस्रो चरणमा हुने निर्वाचनमा पनि एमालेको पक्षमा जनलहर बढ्दै गएको बताउँदै खनालले भन्नुभयो, “त्यहाँ पनि एमाले पहिलो पार्टी बन्नेछ, अब एमालेको विजय यात्रालाई कसैले छेकेर छेक्न सक्दैन ।”

सरकारले प्रदेश र संघको निर्वाचन मिति तोक्न ढिलाइ गरेकामा आफ्नो पार्टीको आपत्ति रहेको विचार उहाँले व्यक्त गर्नुभयो । निर्वाचन हुन नदिन विभिन्न षडयन्त्र भइरहेको बताउँदै उहाँले त्यस्तो षडयन्त्र परास्त गरेरै छाड्ने दाबीसमेत गर्नुभयो । पूर्वप्रम खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गर्दै पर्यटनका सम्भावनायुक्त जिल्ला भएकाले इलाममा विकास निर्माणमा तीव्रता दिनुपर्ने बताउनुभयो । रासस