राणाको भनाई : ‘पार्टी ध्वस्त हुनबाट मैले जोगाएँ’

राणाको भनाई : ‘पार्टी ध्वस्त हुनबाट मैले जोगाएँ’


पशुपतिशमशेर राणाले स्थानीय तहको निर्वाचनमा अत्यन्त निराशाजनक लज्जाजनक हार बेहोर्नु परेकोले पार्टी ध्वस्त हुनबाट जोगाउन यस्तो कदम चाल्नुपरेको बताएका छन् ।’पार्टी चौथो स्थानबाट तल झर्‍यो । यस परिघटनाले के देखाउँछ भने वर्तमान पार्टीको नेतृत्वले जनविश्वास गुमाइसकेको छ । यदि पार्टी निश्चित लक्ष्य नभएको दिशाहीन अवस्थाबाट गुज्रिरहने हो भने आगामी प्रान्तीय र संसदीय निर्वाचनमा झन् ध्वस्त हुने निश्चितप्राय छ।

आज आयोजित पत्रकार सम्मेलनमा जारी विज्ञप्तिको एक नम्बर बुँदामा उनले पार्टी फुटाउनुको कारणबारे भनेका छन्, ‘नेतृत्वले निर्वाचनमा देखाउनु पर्ने संयोजनकारी भूमिका निर्वाह गर्न सकेन । ६ प्रदेशमा सम्पन्न स्थानीय निर्वाचनको परिणाम अनपेक्षित र अस्वभाविक भयो । दोस्रो बुँदामा सरकारमा सहभागिता जस्ता महत्वपूर्ण विषयहरुमा निर्णय गर्दा व्यक्तिगत लहड र स्वार्थलाई प्राथमिकता दिइएको उल्लेख छ।

त्यस्तै पार्टी एकीकरणको बेला एकीकृत पार्टीको चुनाव चिह्न हलो रहने अनौपचारिक सहमतिलाई बलपूर्वक लत्याइएको कारण पनि दिइएको छ। स्थानीय तहको निर्वाचनमा पार्टी परिचालन हुनै नसकेको र स्वतन्त्र उम्मेदवार जस्तै चुनाव लड्नु परेको आरोप पनि लगाइएको छ । पार्टी एकीकरण हुँदा कुनै एउटा पार्टी अर्कोमा विलय भएको नभए पनि विलय भएकै जस्तो गरी स्वेच्छाचारी ढंगबाट सञ्चालन गरिनु अर्को कारणको रुपमा उल्लेख छ ।