एमालेमाथि निधिले लगाए यस्तो आरोप

एमालेमाथि निधिले लगाए यस्तो आरोप


नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र नधिले तराईकेन्द्रित केही राजनीतिक दल तथा मधेशी जनताको माग सम्बोधन गर्न सरकारले संविधान संशोधन प्रस्ताव दुई तिहाइले पारित गर्ने पहल गरिरहेको दाबी गरेका छन् । संविधानको संशोधनपछि सबै भाषा बोल्ने भाषाभाषी, लिङ्ग, धर्मावलम्बीले पनि संविधानको स्वामित्व ग्रहण गर्ने र यसले मात्र संविधान बलियो र टिकाउ हुने उनको धारणा थियो ।

नेपाल विद्यार्थी संघ प्रदेश नम्बर २ ले प्रदेश नम्बर २ स्थित ८ जिल्लाका कार्यकर्ताबीच नेपाली काङ्ग्रेसलाई कसरी जिताउने भन्ने सवालमा केन्द्रीत रही आयोजना गरिएको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै निधिले एमालेले मधेशविरोधी गतिविधि गरी हरेक कुरामा बखेडा झिकी देशलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाए ।

पछिल्ला आफ्ना हरेकजसो सार्वजनिक भाषणमा प्रदेश नम्बर २ का आठ जिल्लाको १२७ स्थानीय निकायमध्ये १०० सिटमा काङ्ग्रेसलाई जिताउनुपर्ने जिकीर गर्दै आएका निधिले तेस्रो चरणको निर्वाचनमा नेपाली काङ्ग्रेसलाई पहिलो पार्टी बनाउन कार्यकर्ताबीच बहस आवश्यक रहेको बताए ।

केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री उमेशजंग रायमाझी, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य फिरोज आलम, नेवि संघप्रदेश नं २ का नेता भरत खड्का, काङ्ग्रेस केन्द्रीय सदस्य ममता महत्तो, नेवि संघका केन्द्रीय सभापति नैनसिँह महर, नेता रञ्जित कर्ण, सञ्जय यादवलगायतले कार्यक्रममा मन्तव्य दिएका थिए ।

उता, राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधनको प्रस्ताव पारित गरेपछि मात्र स्थानीय तहको निर्वाचनमा सहभागी हुने दोहोर्याएको छ । सो पार्टीका संयोजक महन्थ ठाकुरले संविधान संशोधनको विषय प्रतिपक्ष दललाई विश्वासमा लिएर अनुमोदन गराउने काम सरकारको भएको भए पनि त्यसतर्फ सरकार संवेदनशील नभएको आरोप लगाए । ज्ञातव्य छ, आगामी असोज २ गते हुने चुनावमा भाग लिने वा नलिने विषयमा आधिकारिक निर्णय लिनका लागि राजपा नेपालको केन्द्रीय समितिको बैठक राजधानीमा चलिरहेको छ । आगामी बुधबारसम्म जारी रहने उक्त बैठकले पार्टीको घोषणापत्र, विधान र नियामावली पारित गर्ने बताइएको छ ।