नियोकको दृष्टिमा शान्तिपूर्ण मतदान

नियोकको दृष्टिमा शान्तिपूर्ण मतदान


भरतपुर महानगरपालिका १९ को तीनवटै मतदान स्थलका ६ वटै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा पुनर्मतदान सम्पन्न भएको राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले जनाएको छ । नियोकको पर्यवेक्षणअनुसार पुनःनिर्वाचनका क्रममा विहान झरी परेर मौसम प्रतिकुल भए पनि महिला, जेष्ठ नागरिक, अपाङ्गतामा रहेकालगायत आममतदाताको उपस्थिति उत्साहजनक रहेको थियो । जेठ १४ गते राति मतगणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वोच्च अदालतको आदेशअनुसार आज पुनः मतदान भएको हो ।

आजको मतदानमा किरण मावि किरणगञ्ज मतदानस्थलमा १,२४८, जीवनज्योति स्कुल गुञ्जानगरमा १,३०६ र शारदानगर माविमा १,२४३ गरी कूल ३,७९७ मतदातामा जम्मा २,८७१ (७५.६ प्रतिशत) ले मतदान गरेको निर्वाचन आयोगबाट जानकारी प्राप्त भएको छ । पुनःनिर्वाचन सामान्यतः शान्तिपूर्ण तरिकाले सम्पन्न भएको र सुरक्षा व्यवस्थालगायत अन्य व्यवस्थापकीय पक्ष राम्रो रहेको नियोकका पर्यवेक्षकहरुबाट जानकारी प्राप्त भएको छ ।