साझामाथि किन खनियो लेखा समिति ?

साझामाथि किन खनियो लेखा समिति ?


साझा प्रकाशनमाथि व्यवस्थापिका संसद अन्तरर्गतको सार्वजनिक लेखा समिति खनिएको छ । साझामा आर्थिक अनियमितता भएको खबरहरु आएपछि संसदहरुले आक्रोस पोखेका हुन । समिति सदस्यहरुले साझा प्रकाशमा लुटतन्त्र मौलाएको भन्दै छानविनका लागि सभापतिको गम्भीर ध्यानाकर्षण गराएका थिए । समिति सदस्य रामहरि खतिवडाले महाप्रबन्धक शर्माले आफ्नै खातामा ठूलो रकम राखेको, ऋण तिर्न लगेको पैसा व्याज मात्रै तिरेर अर्कै बैकमा लगेर पैसा राखेको भन्दै त्यसबारे स्पष्ट पार्नुपर्ने बताए ।

समिति सदस्य विकास लम्सालले लापरवाहीको पराकाष्ट नै साझा प्रकाशन भएको भन्दै लुट्न पल्केकाहरुमाथि आवश्यक कारवाही गर्नुपर्ने अडान राखे । सबै राजनीतिक दलका नेताको मुखमा बुझो लगाउने गरी धमाधम कर्मचारी भर्ना गरेर महाप्रबन्धक शर्माले चरम आर्थिक अनियमिततालाई लुकाउने प्रयास गरेको भन्दै समिति सदस्यहरुले आक्रोश पोखे । साथै साझा प्रकाशनको लोगो अन्यत्र भेटिनु सरासर अख्तियारीको दुरुपयोग भएको भन्दै त्यसबारे जवाफ माग गरे । यसैबिच, समितिको बैठकले  साझा प्रकाशनलाई ५ दिन भित्र सम्पुर्ण आर्थिक एवं प्रशासनिक विवरण समितिमा पेश गराउन निर्देशन दिएको छ ।

साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्र शर्माले सरकारले उपलब्ध गराएको अनुदान तथा ऋण सहयोग रकमको चरम भ्रष्टाचार गरेको भन्ने समाचार सार्वजनिक भएपछि समितिले सो बारे आवश्यक अध्ययनका लागि सम्पूर्ण विवरण समितिमा पेश गर्न निर्देशन दिएको हो । शुक्रबार बसेको समितिको बैठकले विगत ५ बर्षदेखिको खरिद बिक्रि, सम्पत्ति, उत्पादन, दायित्व, आय र व्यय लगायतका सम्पुर्ण विवरण ५ दिन भित्र समितिमा पेश गर्न निर्देशन दिएको छ ।

समितिले साझा प्रकाशन भित्र हुने सबै आर्थिक कारोबारको निर्णयको प्रक्रिया, ५ बर्ष देखि नियुक्त गरेका कर्मचारी र तीनको सेवा सुविधाको विवरण, तथा शिक्षा मन्त्रालयबाट गठन गरिएको छानविन समितिको प्रतिवेदन पनि मगाउने निर्णय गरेको छ ।

त्यसैगरी लामो समयदेखि लेखापरीक्षण नगराउने संचालक समितिका सदस्य र जिम्मेवार पदाधिकारीको विवरण मगाउने निर्णय पनि बैठकले गरेको छ ।