राष्ट्र बैंकले जारी गरेको परिपत्र हटाउन माग

राष्ट्र बैंकले जारी गरेको परिपत्र हटाउन माग


नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष हिमबहादुर रावलले सरकारले नेपाल राष्ट्र बैंकले जारी गरेको परिपत्रका कारण खाद्य वस्तु आयातमा समस्या आएको भन्दै त्यसलाई हटाउन मन्त्रालयले पहल गरिदिन आग्रह गरेका छन् । आयात–निर्यातका प्रक्रिया तोक्ने काम वाणिज्य मन्त्रालयले गर्नुपर्नेमा राष्ट्र बैंकले गर्दा समस्या आएको अध्यक्ष रावलले जानकारी गराएका थिए । परिपत्र जारी गर्नुअघि सरोकारवालासँग छलफल नभएको गुनासो पनि अध्यक्ष रावलले गरेका छन् । अध्यक्ष रावलको नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले वाणिज्य मन्त्री मिन विश्वकर्मालाई भेटी सो माग गरेका हुन ।

संघका द्वितीय उपाध्यक्ष विनोकुमार सेठियाले कालोबजारी ऐन र एजेन्सी ऐन निकै पुरानो भइसकेको र अहिलेको परिप्रेक्ष्यमा त्यसको सान्दर्भिकता सकिएकाले परिमार्जन गर्नुपर्नेमा जोड दिए । मन्त्री विश्वकर्माले आफ्नो मनसाय इमानदार व्यापारी व्यवसायीका लागि सहज वातावरण बनाउने रहेको भन्दै सबैलाई देश बनाउने उद्देश्य राखेर काम गर्न आग्रह गरे । उनले भने,‘आफू व्यवसायीलाई आफैं कर तिर्न मन लाग्ने वातावरण बनाउने काममा लाग्ने, इमानदार व्यवसायीलाई असजिलो र अप्ठेरो हुन नदिने प्रतिबद्धता व्यक्त गर्छु ।’

प्रतिनिधिमण्डलमा अध्यक्ष रावलसहित, उपाध्यक्ष विनोदकुमार सेठिया, महासचिव शिवकुमार अग्रवाल, सचिवद्वय अनिलकुमार अग्रवाल र सुशिल गुप्ता, कार्यसमिति सदस्य रामचन्द्र खेतान र विष्णुकुमार जोशी सहभागी रहेका थिए ।