कर्ण मल्लले साहस गरे

कर्ण मल्लले साहस गरे


गत असार २१ गते बुधबार घटना र विचार साप्ताहिकमा प्रकाशित कर्ण मल्लको अन्तर्वार्ता पढेँ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सभापति कर्ण मल्लको दृढता, आत्मविश्वासपूर्ण अभिव्यक्ति र साहस देखेर म प्रभावित भएँ । यसै सन्दर्भमा मलाई केही कुराहरू पोख्न मन लागेकाले स्थान पाउने आशाका साथ थप तथ्यहरू स्पष्ट गर्न चाहेको छु ।

सबैभन्दा पहिलो कुरा साझा सवाल नामक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री देउवाको जुन बेहाल देखियो त्यसको दोष आरजु राणालाई दिन खोजिएको छ, यो ठीक होइन । दोष छ भने नेपाली काङ्ग्रेस पार्टीकै छ, जसले यस्ता व्यक्तिलाई प्रधानमन्त्री बनाइरहेको छ । यस्ता व्यक्तिलाई छोपछाप बनाउन खोज्नुको सट्टा विस्थापित गर्नु नै ठीक होइन र ? यदि साझा सवालमा पु¥याउने काम आरजुबाट नै भएको हो भने यी नेतृलाई धन्यवाद छ । त्यस्तै, निर्वाचनमा काङ्ग्रेस पराजयको निम्ति पनि संसदीय दलको नेता, प्रधानमन्त्री र काङ्ग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवालाई नदिई डडेल्धुरा काङ्ग्रेसका सभापति कर्ण मल्ललाई दिन खोज्नु हास्यास्पद छ । उमेरले साढे सात दशकको नेटो काट्दै गरेका शेरबहादुर देउवाले पैसाको आडमा अझै लामो समयसम्म बसिरहन सक्छु भन्ने ठानेका छन् भने त्यो गलत हुन सक्छ । आईजी, राजदूत नियुक्ति र महाअभियोग प्रकरणको अपजस किन काङ्ग्रेसमा थोपरियो ?

जिल्ला सभापति कर्ण मल्लको विवाद र झगडा शेरबहादुरसँग भन्दा आरजुसँग हो जस्तो लाग्छ । आरजु र छोरा जयवीरलाई राजनीतिमा स्थापित नगरुन्जेल देउवा आराम नलिने मनस्थितिमा छन् । आरजुलाई बर्दियामा स्थापित गर्न सो क्षेत्रमा पहिले पराजित किशोरसिंह राठौर खटिएका थिए । राठौरलाई सकेसम्म बाँकेबाट चुनाव लडाउने र नभए अपाङ्ग कोटाबाट सांसद बनाउने समझदारी बनेको बुझिन्छ । सासूआमा प्रतिभा राणाले जापानको राजदूत पद त्यसै पाएकी होइनन् । काङ्ग्रेसको कोटा जबर्जस्ती राप्रपालाई दिइएको हो । बर्दियाको ३ नं. चुनाव क्षेत्र सदाका लागि छोडाएर ‘सासूआमा’लाई टोकियो पु¥याइएको हो । दुई चुनावपछि जयवीर अर्को क्षेत्रका लागि तयार हुनेछन् ।

एकाध वर्ष अघिसम्म देउवाको विपक्षमा रहेका रघु भट्ट र गोविन्द बोहोरा हाल देउवाको पक्षमा छन् । भट्ट र बोहोरा केही अघिसम्म कोइरालाको संरक्षणमा थिए र भैँसेपाटीतिर निजहरूलाई दीपकुमार उपाध्यायले सहयोग गर्थे । अहिले दीपकुमार देउवादम्पतीका विश्वास प्राप्त छन् । यो नै राजनीति हो देशका राजनीतिज्ञ फस्टाउने ।

कर्ण मल्ल एउटा त्यस्ता व्यक्ति हुन् जसले राम्रो सम्भावना बोकेका छन् । अन्तर्वार्तामा सन्तुलित ढङ्गले प्रस्तुत हुँदाहुँदै पनि शेरबहादुर सके सच्याउने, नसके विस्थापित गर्ने सङ्केत मल्लले गरेका छन् । मल्लको साहस र ऊर्जा सदा जीवित रहोस् भन्ने चाहन्छौँ ।

– अनील राठौर, बर्दिया