लगानी बोर्डका जलविद्युत आयोजना प्रभाबहिन





जलविद्युत् आयोजना निर्माण गर्ने र सहजीकरण गर्ने लक्ष्यका साथ स्थापना भएको लगानी बोर्डले अगाडि बढाएका पाँचवटा जलविद्युत् आयोजनाको कार्याप्रगति निरासाजनक रहेको छ । कुल ५०० मेगावाटमाथिका आयोजनाको कार्यप्रगति प्रभावकारी हुन नसकेको समेत बोडैले स्वीकारेका छ । बोर्डको प्रत्यक्ष निगरानीमा रहेको माथिल्लो कर्णाली, अरूण तेस्रो, पश्चिम सेती, माथिल्लो मस्र्याङ्दी र तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको सहजीकरण गरिरहेको छ । तीमध्ये माथिल्लो कर्णाली र अरूण तेस्रोको परियोजना विकास सम्झौता (पिडिए) भएको छ । पश्चिम सेती आयोजनाको प्रारम्भिक काम शुरु भए पनि ठोस प्रगति हुन सकेको छैन ।
माथिल्लो मस्र्याङ्दी र तामाकोशी तेस्रोको प्रारम्भिक कार्यसमेत अगाडि बढ्न सकेको छैन । व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिको बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जलविद्युत् आयोजनाको हकमा वन क्षेत्रको जग्गा प्राप्ति र मुआब्जा वितरणलगायतका समस्याका कारण परियोजनाको ठोस प्रगति हुन नसकेको भन्दै आफ्नो दोष बनक्षेत्रमा लगेर लगाएका छन् ।  माथिल्लो कर्णाली र अरूण तेस्रो आयोजनाको साझा समस्याका रूपमा वन क्षेत्रको जग्गा प्रयोग नै देखिएको भन्दै प्रमुख कार्यकारी अधिकृत अधिकारीले पटकपटक वन मन्त्रालयसँग छलफल गर्दासमेत कुनै निष्कर्षमा पुग्न नसकिएको दाबी गरे ।
पिडिएमा उल्लेख भएको व्यवस्थाअनुसार सरकारले वन क्षेत्रको जग्गा उपलब्ध गराउन नसकेको भन्दै माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) ले एक वर्ष म्याद थप गर्न बोर्डमा निवेदन दिएको अधिकारीले खुलाएका छन् । प्रवद्र्धकले काबु बाहिरको परिस्थिति सिर्जना भएको, विद्युत् खरिद सम्झौता हुन नसकेको र वित्तीय स्रोत जुट्न नसकेको भन्दै पुनः म्याद थप्न पत्राचार गरेको थियोे ।

बोर्ड र जिएमआरबीच सन् २०१४ मा भएको आयोजना विकास सम्झौता (पिडिए) अनुसार आगामी असोजसम्म लगानी जुटाउनुपर्ने उल्लेख गरिएको छ । पछिल्लोपटक वन मन्त्रालयले एउटा रुख काट्दा थप २५ रुख रोप्नुपर्ने कार्यविधि ल्याएको छ । सो कार्यविधिको मारमा अरूण तेस्रोसमेत परेको छ । निजी क्षेत्रको जग्गाको मुआब्जा वितरण भइसके पनि वन क्षेत्रको जग्गा सो आयोजनाले प्राप्त गर्न सकेको छैन । वनको जग्गा प्राप्त भए सो आयोजनाले आगामी असोज अन्त्यदेखि निर्माण शुरु गर्ने गरी तयारी गरेको छ । भारत सरकारले ९१ अर्ब रुपैयाँ सो आयोजनाका लागि विनियोजन गरिसकेको छ ।

भारत सरकारको स्वामित्वमा रहेको सतलज विद्युत् निगमले सो आयोजना निर्माण गर्न लागेको हो । सो आयोजनाबाट एक खर्ब ५० अर्ब राजस्व, ७७ अर्ब आयकर र निःशुल्क विद्युत् २१ द्यशमलव ९ प्रतिशत प्राप्त हुने व्यवस्था पिडिएमा छ । यस्तै माथिल्लो कर्णालीमा २७ प्रतिशत विद्युत् प्राधिकरण, १० प्रतिशत आइएफसी र ६३ प्रतिशत जिएमआरको स्वामित्व हुने गरी लगानी संरचना तयार गरिएको छ । नेपालले १०८ मेगावाट बिजुली र २७ प्रतिशत निःशुल्क शेयर प्राप्त गर्नेछ ।
पश्चिम सेतीको प्रमुख प्रवद्र्धक चीनको थ्री गर्जेजको सहायक कम्पनी सिडब्ल्युइआई र नेपाल विद्युत प्राधिकरणबीच संयुक्त सम्झौतामा हस्ताक्षर भएको र प्राधिकरणको सञ्चालक समितिको बैठकले सम्झौता अनुमोदन गरेको भए पनि चिनियाँ पक्षबाट हालसम्म अनुमोदन हुन सकेको छैन । चिनियाँ पक्षले आयोजना बहुउद्देश्यीय बनाउनुपर्ने र त्यसो हुँदा आयोजनाको विद्युत् खरिद दर कस्तो रहने भन्ने जिज्ञासा राख्दै आएको छ ।

प्रतिक्रिया