फेरि फुट्दै राप्रपा

फेरि फुट्दै राप्रपा


राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र गुट र उपगुटको विवाद चरमोत्कर्षमा पुगेसँगै पुनः फुटको संघारमा पुगेको छ । अध्यक्ष कमल थापाले निरंकुश र एकपक्षीय ढंगमा हडप्न खोजेको आरोप लगाउँदै पशुपति शमशेर राणाले एक विज्ञप्तिमार्फत थापालाई आफुखुशी निर्णय नगर्न चेतावनी दिएका छन् । वरिष्ठ नेताको हैसियतमा हस्ताक्षर गरी प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अध्यक्ष थापाले पाटीलाई बिर्ता बनाउन खोजेको र पार्टी भनेको कसैको बिर्ता हुन सक्दैन ।’

पार्टी अध्यक्ष थापाले केन्द्रीय सदस्यहरुलाई थाहा नदिई, पार्टीभित्र सल्लाह नगरी ४२ जना केन्द्रीय सदस्यहरु मनोनयन गरेको भन्दै राणाले उक्त निर्णय तत्काल फिर्ता लिन र राप्रपालाई बिग्रहका साथै फुटबाट बचाउन अध्यक्ष थापालाई आग्रह गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छ,‘पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय समितिमा ४२ जना केन्द्रीय सदस्य मनोनयन गरेको समाचार विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएपछि गम्भीर रुपमा मेरो ध्यानाकर्षण भएको छ, अध्यक्ष एक्लैले एकांकी रुपमा मधेस, महिला, आदिवासी जनजाति, पिछडिएको क्षेत्र एवं समुदाय, दुर्गम क्षेत्र र दलितको समानुपातिक र समावेशी प्रतिनिधित्वको कुनै ख्याल नराखी गरिएको मनोनयनप्रति मेरो पूर्ण असहमति छ ।’

तत्काल यस्तो निर्णय तुरुन्त फिर्ता लिन अध्यक्ष थापालाई राणाले विज्ञप्तिमार्फत आग्रह गर्नुभएको छ । राणाले विज्ञप्तिमा भन्नुभयो,‘म यस कार्य र प्रवृत्तिको घोर निन्दा र भत्सर्ना गर्दछु, म राप्रा अध्यक्षमा यो सचेत गराउँछु कि एकांगी रुपमा गरिएको सो निर्णय फिर्ता लिएर पार्टीलाई विग्रह तथा प्रत्युत्पादक आन्तरिक द्वन्द्वमा फस्नबाट बचाइयोस् ।’ अध्यक्ष थापा आफूखुशी निर्णयहरु गरेकोमा नेता राणाको आपत्ती समेत रहेको उल्लेख छ । उनले विज्ञप्तिमा भन्नुभएकोछ, ‘केन्द्रीय तहका नेतागणलाई सुइँकोसम्म नदिई केन्द्रीय कार्य सम्पादन समितिको अस्तित्व र उपस्थितिलाई पूर्णरुपमा नकारेको मात्र नभई राप्रपालाई अध्यक्षको एकल बिर्तामा रुपान्तरण गरिएको सन्देश प्रवाहित गराइएको छ ।’

नेता राणाले औपचारिक रुपमा विज्ञप्तिमा उल्लेख नगरेका कतिपय विषयमा समेत राप्रपाभित्र विवाद देखिएको नेताहरुको भनाइ रहेको छ । खासगरी संविधान संसोधन र सरकारमा जाने या नजाने भन्ने विषयमा पार्टीभित्र विवाद अझै चुँलिदै गएको छ । स्थानीय निर्वाचनमा पार्टीले अपेक्षाकृत परिणाम निकाल्न नसकेपछि राप्रपाभित्र पार्टी नेतृत्वको आलोचना सुरु भएको छ ।