स्व.जोशीको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

स्व.जोशीको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने


नेपाली कांग्रेसको शुक्रबार बसेको बैठकले स्व.नेता रामहरि जोशीको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । शोकमा एक दिन कार्यालय बन्द गर्ने निर्णय पनि कांग्रेसले गरेको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षमा बसेको कांग्रेसको आकस्मिक बैठकले नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै असार ३०, ३१ र साउन १ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार साउन १ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय भएको बताउनुभएको छ ।

२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना र २००७ सालको ऐतिहासिक जनक्रान्तिमा अग्रणी भूमिका निर्वाह गरेका जोशीको शुक्रबार साँझ उपचारका क्रममा निधन भएको थियो । कांग्रेसको आकस्मिक बैठकले जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना गरेको छ । साथै, शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । जोशीप्रति अन्तिम श्रद्धाञ्जली दिन उनको पार्थिव शरिरलाई कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको छ । उनको शुक्रबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । नेपाली राजनीतिमा गान्धीवादी एवं समाजवादी पुराना नेताको रुपमा चिनिनुभएका जोशीको दम र निमोनियाका कारण बिहीबार साँझ ९१ वर्षको उमेरमा ग्रान्डी अस्पतालमा निधन भएको थियो ।

अन्तिम श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीरलाई सानेपास्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा राखिएको थियो । पार्टीका सभापति एवं प्रधानमन्त्री देउवाले स्व जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिनुभएको छ । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा रामशरण महतलगायत नेता तथा कार्यकर्ताले आफ्ना पुराना नेताको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो । विसं १९८३ मा सर्लाहीमा जन्मनुभएका नेता जोशी विसं २००७ देखि काँग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । नेकाका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको निष्ठा र आदर्श जीवनपद्धतिको पदचापमा उहाँ अविछिन्न र अविचलितरुपमा लागिरहनुभएको थियो ।
आफ्नो जीवनका केही समय उहाँले सर्लाही, हरिऔन, सुकेपोखरीस्थित चतुर्भुजेश्वर जनता माविका प्रधानाध्यापक रही शिक्षा सेवासमेत गर्नुभएको थियो । राजनीतिमा सक्रिय रहनुभएका उहाँ अविवाहित हुनुहुन्थ्यो । जोशीले लेख्नुभएको ‘अँध्यारोबाट उज्यालोतिर’ भन्ने पुस्तक चर्चित रहेको छ । आजीवन पार्टी र प्रजातन्त्रका लागि लडी नौ वर्ष कारागारमा पर्नुभएका उहाँ विसं २०४८ र २०५१ मा सर्लाही जिल्लाबाट सांसद बन्नुभएको थियो । साथै विसं २०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्थ्यो । घरको शौचालयमा लडेर चोट लागेपछि उहाँलाई यही असार २१ गते अस्पताल भर्ना गरिएको थियो । सर्लाही स्थायी घर भएका उहाँ ललितपुरको नख्खीपोटमा आफन्तका घरमा बस्दै आउनुभएको थियो ।