काङ्ग्रेसका संस्थापक नेता रामहरि जोशी रहनुभएन

काङ्ग्रेसका संस्थापक नेता रामहरि जोशी रहनुभएन


नेपाली काङ्ग्रेसका संस्थापक नेता रामहरि जोशीको निधन भएको छ । काङ्ग्रेसका संस्थापक नेतामध्येका एक जोशीको ९३ वर्ष उमेरमा विहिबार साँझ निधन भएको हो । उहाँ केही दिनदेखि राजधानीको ग्राण्डी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । दम र निमोनियाबाट पीडित अवस्थामा घरको शौचालयमा लडेर चोट लागेपछि उहाँलाई यही असार २१ गते अस्पताल भर्ना गरिएको थियो ।

विसं १९८३ मा सर्लाहीमा जन्मनुभएका नेता जोशी नेपाली राजनीतिमा गान्धीवादी र समाजवादी नेताका रुपमा परिचित हुनुहुन्थ्यो । कांग्रेसमा हालका नेतामध्ये सबैभन्दा पाका नेताका रुपमा रहनुभएका उहाँ अविवाहित हुनुहुन्थ्यो । आजीवन पार्टी र प्रजातन्त्रका लागि लडी करिब नौ वर्ष कारागारमा पर्नुभएका उहाँ विसं २०४८ को गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्थ्यो ।

नेता जोशीको शुक्रबार बिहान आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।