के हामीले गाउँ पठाउन लागेको सिँहदरबार यस्तै हो ?

के हामीले गाउँ पठाउन लागेको सिँहदरबार यस्तै हो ?


– देवप्रकाश त्रिपाठी

देशको राजधानी काठमाडौं र काठमाडौंको पनि केन्द्र सिंहदरबार, जुन मुलुकका सबै राजनीतिकर्मीहरूको स्वप्न–गन्तव्य, प्रशासकहरूको आकर्षणको केन्द्र र जनसाधारणका निम्ति आरोहण गर्न मुस्किल एउटा बेग्लै सगरमाथाको रूपमा रहेको छ । मुलुकभरिबाट चुनिएका र खारिएका मानिस कार्यरत रहने तथा देश निर्माणको खाका कोरिने यो ठाउँमा विदेशी पाुहनाहरूको समेत आवागमन हुने हुँदा संसारको आँखा लागेको स्थानका रूपमा सिंहदरबारलाई बुझ्न सकिन्छ ।


सिंहदरबार त्यस्तो गन्तव्य हो– जहाँ पुग्ने एउटै उद्देश्य लिएर लाखौँ राजनीतिकर्मीहरू प्रतिस्पर्धात्मक दौडमा सामेल भएका छन् । प्रतिष्पर्धीहरूमध्ये धेरै कमलाई मात्र सिंहदरबारको स्वामी बन्ने तहको अवसर प्राप्त हुने गरेको छ । यसर्थमा हामी राजनीतिकर्मीहरूमध्ये सबभन्दा क्षमतावान, योग्य, दुरदर्शी र इमानदारले ‘सिंहदरबार पुग्ने’ अवसर पाएको विश्वास गरिन्छ । त्यस्तै अनेकौँ चरण र स्तरका परीक्षा र तालिममा सामेल भएर उत्तीर्ण हुँदै आएका कर्मचारी प्रशासक रहने ठाउँ पनि सिंहदरबार नै हो । सिंहदरबार भनेकै वास्तवमा उच्च तहका ‘उच्च सोच’ राख्ने मानिसहरूको कर्मभूमि हो जहाँ बसेर देशको नीति र योजना बनाइने गरिन्छ । सर्वसाधारण जनताका निम्ति सिंहदरबार कैलाश पुग्नभन्दा कठिन र सगरमाथा आरोहण गर्नभन्दा मुस्किल गन्तव्य हो । जहाँ प्रवेशद्वार मात्र छिचोल्ने सफलता प्राप्त हुँदा पनि जनसाधारण अत्यन्त प्रफुल्ल हुने गर्दछन् ।


त्यस्तो दुर्लभ सिंहदरबारलाई अब गाउँमै पु¥याइदिने कुरा आएको छ र गाउँ–गाउँका मानिस आइन्दा सिंहदरबारसम्म धाउनु नपर्ने, बरु सिंहदरबार नै आफूहरूकहाँ आउने कुरा सुनेर दङदास छन् । २०६३ को राजनीतिक परिवर्तनपश्चात केही राजनीतिकर्मीले ‘जनताले आइन्दा सिंहदरबारसम्म धाउनु नपर्ने, सिंहदरबार नै गाउँसम्म धाउनु नपर्ने, सिंहदरबार नै गाउँमा अवतरण हुने उर्दी जारी गरे । दशकअघिदेखि ‘सिंहदरबार आउने’ बाटो हेरिबसका जनता हालै सम्पन्न स्थानीय निर्वाचनपछि गाउँमै सिंहदरबार आउने श्रुतिकथाप्रति विश्वस्त भएका छन् ।

कस्तो सिंहदरबार अब गाउँमा पुग्दैछ, त्यसको केही झलक प्रस्तुत गर्ने प्रयास यहाँ गरिएको छ ।

सिंहदरबारभित्र अक्सर भइरहने जालझेल, छलकपट, भ्रष्टाचार, अनियमितता, ढिलासुस्ति र जनउपेक्षित व्यवहारको कथा बेग्लै छ । सिंहदरबारको यही गुण–चरित्र गाउँ–गाउँसम्म पुगेका देशले कस्तो अवस्थाको सामना गर्नुपर्ला भन्ने प्रश्न एकतिर छँदैछ । यहाँ सामान्य प्रयासबाट सामान्य खर्चमा हुने काम जो वर्षौंवर्षदेखि हुन सकिरहेको छैन, त्यसका केही झलक मात्र सचित्र प्रस्तुत गरिएको छ ।

राजधानी काठमाडौंलाई कङ्क्रीटको जङ्गल उपमा दिइन्छ र, नीति–निर्माताहरू सिंहदरबारमा बसेर राजधानी कङ्क्रीटको जङ्गल बनेकोमा शोक प्रकट गर्छन् । वास्तवमा कुनैबेलाको सुन्दर सिंहदरबारलाई नीति–निर्माताहरूले नै कङ्क्रीटको जङ्गलमा रुपान्तरित गरेका छन् । जथाभावी भद्दा घर–टहराहरूको निर्माण गरेर योजनाकारहरूले सुन्दर देश बनाउने आफ्नो ‘कौशल’ प्रस्तुत गरेको अनुभूति त्यहाँ पुग्ने जो–कोहीलाई हुने गर्दछ । सिंहदरबार परिसरमा देखिने झाडी, जथाभावी मिल्काइएका थोत्रा गाडीहरू, यत्रतत्र कवाडीखाना, फोहोरको डङ्गुर, ढल्न लागेका घर, जीर्ण पर्खाल र शिकारी मानसिकताका मानिसको भीड नै सिंहदरबारको पहिचान बनेको छ ।

के हामी यस्तै सिंहदरबार गाउँ–गाउँसम्म पु¥याउँदैछौँ, हो ?