दिवङ्गत राजा महेन्द्रसँग एक सन्तको रोचक संवाद !

दिवङ्गत राजा महेन्द्रसँग एक सन्तको रोचक संवाद !


बहुचर्चित ओसो सन्त स्वामी आनन्द अरुणले दिवङ्गत राजा महेन्द्रको आत्मासँग आफ्नो संवाद हुने गरेको रहस्योद्घाटन गरेका छन् । स्वर्गीय राजासँगको संवादका आधारमा लिएको निर्णयले आफ्नो व्यक्तिगत जीवनमा समेत अनौठो प्रभाव परेको दावी उनको छ । स्वामी आनन्द अरुणको भनाइ छ– ‘मैले शरीर छोडेको आत्माहरूसँग कुरा गर्ने प्लान्चेट, अटोमेटिक राइटिङ र टेबल टर्निङजस्ता तरिकाको प्रयोगमा केही वर्ष बिताएँ । मेरा एक मित्र यो विद्यामा सिद्ध थिए । म आफैले आत्मा बोलाउन नसक्ने हुनाले मैले उनको मद्दत लिएको थिएँ । उनी यो कार्य सहजै गर्ने गर्दथे । हामीले बोलाएका आगन्तुकहरूमा श्री अरबिन्द, महात्मा गान्धी, राजा महेन्द्र र अरु धेरै नाम चलेका व्यक्तिहरू थिए ।’

स्वामीजीले भनेका छन्– ‘प्लान्चेट’द्वारा थाहा नभएका तथ्यहरू पत्ता लगाउन सकिन्छ । मलाई याद छ– हामीले स्वर्गीय राजा महेन्द्रको आत्मालाई एकपटक बोलाएका थियौँ । उनले त्यसबेला भनेका कुराहरू भविष्यमा ठ्याक्कै सत्य सिद्ध भए । उनले बताएका धेरै कुराको जानकारी सामान्यतः मानिसहरूलाई थिएन र त्यस क्रममा भएका सबै कुराहरू अहिले बताउन पनि मिल्दैन । कसैलाई थाहा नभएका कुरा आफूलाई मात्र थाहा भएमा त्यसको दुरुपयोग हुनसक्छ भनी गुरुले मलाई सचेत गराउनुभएको थियो ।’

‘सन् १९७५ को एक साँझ मैले आफ्नो पूर्वजन्मका बारेमा सोधेँ, जुन कुराको जानकारी मलाई थिएन । उनले दिएको जानकारीअनुसार हामी पूर्वजन्ममा कुनै राजवङ्शमा जोडिएका थियौँ, भारतको एक शाही परिवारसँग सम्बन्ध भएको सङ्केत उहाँबाट भयो । जुन कुरा मलाई पछि पुनामा ध्यानमा रहँदा पनि प्रकट भयो,’ स्वामी आनन्द अरुणले भनेका छन् ।

स्वामी आनन्द अरुणद्वारा लिखित र हालै प्रकाशित पुस्तक ‘इन वण्डर वीथ ओसो’मा उल्लेख भएअनुसार राजा महेन्द्रको आत्मासँग स्वामीले भगवान रजनीशका बारेमा सुन्नुभएको छ भनी प्रश्न गरेका थिए । जवाफमा राजाले ‘हाम्रो लोकमा पनि उनको प्रशिद्धि भइरहेको र धेरैले उनका बरोमा कुरा गरेको’ बताएका थिए । के तपाईंलाई उहाँको बारेमा कुनै चाख छ भन्ने जिज्ञाशा राख्दा राजाले ‘आफूलाई कुनै चाख नभएको’ जवाफ दिएका थिए । अहिले तपाईंको बास कहाँ छ भनी प्रश्न गर्दा राजा महेन्द्रको आत्माले ‘पशुपतिनाथ पछाडि धु्रवस्थलीको जङ्गलमा बसेको’ भनी बताएको ब्यहोरा आनन्द अरुणले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

राजा महेन्द्रको आत्मासँगको संवादबारे थप विवरण दिँदै उनले आफ्नो पुस्तकमा लेखेका छन्– ‘के तपाई सन्तुष्ट हुनुहुन्छ भनेर सोध्दा उनले आफू पुरा सन्तुष्ट र खुशी भएको जवाफ दिएका थिए । मैले आफ्नो व्यक्तिगत समस्याको समाधानका लागि पनि कुनैबेला यो विद्या प्रयोग गरेको थिएँ । मलाई सल्लाह दिने व्यक्ति अरु कोही नभएर पूर्वराजा महेन्द्र नै थिए । म त्यतिबेला होटल सोल्टी ओवरायको निर्माणमा इञ्जिनियरको रूपमा कार्यरत थिए र आफ्ना हाकिमहरूको रवैयाबाट म असन्तुष्ट थिएँ । यो कुरा बताएर मैले राजाको आत्मासँग जागिर छोड्ने विचार गरेको जानकारी गराउँदा ‘तिमीले जागिर नछोड्नु, तिम्रा हाकिमले नै जागिर छोड्नुपर्नेछ’ भन्ने जवाफ आयो । म छक्क परेँ र पर्खिएर बसेँ । आखिर त्यही भयो, मेरो माथिका हाकिमले जागीर छोडेर गए, म उनको ठाउँमा बढुवा भएँ । यो गुह्य विद्याको मद्दतले म राजाको आत्मासँग कुरा गरिरहेको थिएँ, जुन साधारण जीवनमा असम्भव छ । मैले गरिरहेको गुरुको आध्यात्मिक कार्यको मद्दतका लागि पनि उनलाई सोध्न चुकिनँ । दरबारमा ओशोमा चाख राख्न सक्ने सम्भाव्य व्यक्ति को होला भनेर सोधेँ । वीरेन्द्रको सम्भावना छ भन्ने जवाफ आयो ।’

(विस्तृत विवरण घटना र विचार साप्ताहिकको आगामी साउन ४ गतेको अङ्कमा)