इतिहासको पानाबाट
श्री ५ महाराजाधिराज त्रिभुवन वीरविक्रम शाहदेवका शुभराज्यभिषेक सम्पन्न हुने भयो । सो हुनुअगावै एक दिन चाकडीको समयमा सबैसमक्ष श्री ३ चन्द्रले भने, ‘जेठा (गेहेन्द्रशमशेर) भएको भए उनलाई नै अह्राउने थिएँ, उनी रहेनन्, अब यस शुभराज्यभिषेकको कार्यको निमित्त अरू कसैउपर भर पर्न सक्दिनँ सिवाय काहिँला (रुद्रशमशेर) ।’ त्यसपछि– ‘लौ काहिँला (रुद्र) यस कार्यको जिम्मा तैँले लिई’ भनेकाले उ.क.ज. रुद्रशमशेरले शुभराज्यभिषेकको कार्य सुरु गरे । यसरी वि.सं. १९६९ फागुन ८ गते रोज ४ का दिन श्री ५ महाराजाधिराज त्रिभुवनको शुभराज्यभिषेक धुमधामसँग विधिवत् सम्पन्न भयो । मुख्य अतिथिको रूपमा तत्कालीन ब्रिटिस रेजिडेन्ट ले. कर्णेल म्यानर्स स्मिथ नै थिए ।

त्यस उत्सवको उपलक्ष्यमा टुँडिखेलमा एक ‘तीनतले मञ्च’को निर्मृण गरिएको थियो जहाँ मञ्चको माथिल्लो तलामा सिंहासन राखिएको थियो, त्यस मञ्चबाट सबै जनतालाई दर्शन–भेट गराइयो । टुँडिखेलमा ठूला–ठूला सामियाना पालहरूको साथै ठूला–ठूला २२–२२ वटा पाल पनि टाँगिएको थियो ।
त्यस अवसरमा बाइसे, चौबीसे राजाहरू, गुरु–पुरोहितहरू, साहेबज्यू, चौतारियाहरू, सन्त–महन्तहरू, शिक्षक वर्गहरू, भारतीय आमन्त्रित अतिथिहरू, स्वदेशी आमन्त्रित गन्य–मान्य व्यक्तिहरू, साहू–महाजनहरू, तराई–पहाडतर्फका जमिनदार, चौधरी, जिम्वाल, मुखिया सकललाई सक्दो आमन्त्रित गरी एकत्रित गरे ।

यस अवसरमा भारतबाट हजारौँ रुपैयाँको ‘अतासबाजी’ मगाइयो– भारतबाटै ‘सर्कस’मेत मगाई देखाइयो । भारतको बिहार र उत्तर प्रदेशराज्यबाट नौटङ्गी नाचहरू, हिजडा नाचहरू पनि मगाइएको थियो । ‘घोडेजात्रा’मा देखाइने घोडादौड, साइकलदौडको साथै अरू खेल–तमासा जनतालाई देखाइयो । लाखेनाच, देवीनाचको साथै भक्कुलाई राँगो पनि दिइयो । ठूलाठूला तामा–पित्तलका मूर्तिहरूले टुँडिखेल सिँगारिएको थियो । टँुडिखेल कृत्रिम बगैँचा ‘Artificial-Garden’ झैँ लाग्दथ्यो । सहर–बजार ठाउँठाउँमा पक्की ढोकाहरूको निर्माण गरिएको थियो ।

राजा त्रिभुवनलाई नारायणहिटी राजदरबारबाट टुँडिखेलको तीनतले मञ्चसम्म ६ घोडे बग्गीमा ल्याए भने हनुमानढोका राजदरबार अर्थात् गद्दी बैठक र नासलचोकसम्म पनि ६ घोडे बग्गी नै प्रयोग गराए । सहर परिक्रमाचाहिँ सुनको हौदा कसेको हात्तीद्वारा गराए । हरेक जिल्लाका बडाहाकिमद्वारा नाचगान पठाउने कार्य भएको थियो भने जातीय नाचगानको पनि सङ्ग्रह गरिएको थियो । स्वदेशी र भारतीय सङ्गीतज्ञहरूको पनि भेला गराइएको थियो । सोरठी नाच, भोटे नाच र नेवार नाचको साथै बाँसुरी र ढोलकको ताल अनुपम थियो । यसरी राजा त्रिभुवनको शुभराज्यभिषेक सम्पन्न भयो ।

श्री ३ चन्द्रले यस अवसरमा भाइ, छोरा, भतिजा, साहेबज्यू, चौतारिया, राजा, रजौटाहरूका रानीहरूलाई टेबुल (मेच) मा राखी युरोपियन ढाँचा (तरिका) बाट ‘डिनर’मा झैँ काँटा, चम्चा र स्याँगीसमेत राखी खाना खान दिए । तर, काँटाचम्चाले खाना खान नजानेर हो अथवा लाज मानेर हो कसैले पनि राम्रोसँग खाना खाएनन् । त्यसपछि आइमाईहरूलाई यसप्रकार खाना खुवाउने आयोजना कसैले पनि गरेनन् ।

वि.सं. १९७० माघमा विश्वविख्यात धनाढ्य बेरन मोरिस रफचाइल्ड ‘Baron Mourice Rothchield’ विश्वभ्रमणका लागि निस्कँदा नेपाल एक सानो स्वतन्त्र राष्ट्र भएको र तत्काल सम्पूर्ण सगरमाथा नेपाल सरकारको एकलौटी भएको हुँदा (हालझैँ सगरमाथा चीनको स्वशासित तिब्बतको पनि भूभाग भएको थिएन) सो सगरमाथा हेर्न नेपालमा (काठमाडौं) आइपुगे । उनलाई श्री ३ चन्द्रले आफ्नै निजी विशिष्ट अतिथिको तरिकाबाट राखे । निज रफचाइल्ड त्यस समयमा विश्वमा सर्वप्रथम धनाढ्य व्यक्ति कहलिएका थिए । निजको आय चार इन्चीको पाइपबाट पानी झरेझैँ चौबीस घन्टै रुपैयाँ झरेबराबरको आय रफचाइण्डको अनुमान लगाइएको थियो । काठमाडौंमा रफचाइण्डले ‘सोडावाटर’को माग गरे ।

त्यस अवसरमा श्री ३ ले चन्द्रकहाँ सोडावाटर नभएको हुँदा उनले भाइ, छोरा, भतिजा, नातेदारहरू सबैकहाँ सोडावाटरको खोजतलास गराए, तर पाउन सकेनन् आखिर अमर सहिद धर्मभक्त माथेमाका बाबु सुब्बा आदिभक्त माथेमाकहाँ दुई बोतल ‘सोडावाटर’ पाइएकाले श्री ३ चन्द्रले सो सोडावाटर तुरुन्त रफचाइल्डकहाँ पठाई इज्जत बचाए ।

एक दिन स्व. श्री ३ वीरको सेतो दरबारको ठूलो बैठक देखाउने कार्यक्रम राखिएको थियो । निजलाई काठमाडौं ल्याउँदा भीमफेदीको बाटो तामदान चढाई दुई दिन लगाई अर्थात् चित्लाङमा एकबास गराई काठमाडौं ल्याइएको हुँदा उनलाई स्व. श्री ३ वीरको सेतो दरबारको ठूलो बैठक कस्तो न होला भन्ने पर्नु स्वाभाविकै थियो । लीलाशमशेरको भनाइअनुसार– रफचाइल्डले सो बैठकभित्र खुट्टा राख्नासाथै ‘ओ हो’ भनी गम खाए र अनुमान गरेभन्दा ज्यादै बढी सो बैठकको रौनक देखे । त्यसपछि भारतका भूपू प्रधानसेनापति लर्ड रबर्टको आदमकदको तैल–चित्रलाई औँल्याउँदै ‘लर्ड रबर्ट’ भने । बैठक घुमेर हेरिसकेपछि लीलाशमशेरसँग ‘म यस बैठकमा सन्ध्याकालीन भोज (Evening-party) दिन चाहन्छु, तपार्इं आज्ञा दिनुहुन्छ ?’ भनी प्रश्न गरे । लीलाशमशेरले निजलाई स्वीकृति दिए । रफचाइल्ड फर्केर गएपछि लीलाशमशेर तुरुन्त श्री ३ चन्द्रशमशेरकहाँ पुगी रफचाइल्डले Evening-party दिने इच्छा प्रकट गरेको र आफूले स्वीकृति दिएको कुरा सुनाए । ४–५ दिनपछि श्री ३ चन्द्रले नै सो बैठकमा आफ्नै तर्फबाट बेरन मोरिस रफचाइल्ड ‘Baron Mourice Rocthield’ को सम्मान Evening-party को आयोजना गरे ।

(पुरुषोत्तमशमसेर जबराको ‘श्री ३ हरूको तथ्य वृत्तान्त’बाट)