कसरी तोडियो त त्यो तालाबन्दी ?

कसरी तोडियो त त्यो तालाबन्दी ?


School Tala Bandi

राजधानीका निजी विद्यालयले चर्को शुल्क असुलेर विद्यार्थी र आमअभिभावककमाथि ज्यादती नै गर्ने गरेका भन्दै बेलाबेला विभिन्न विद्यार्थी सङ्गठनहरू नारा उराल्छन् । उनीहरूको त्यस्तो आवाज सुन्दा जनताको पक्षमा केही गर्न लागे कि भन्ने भ्रम पनि जाग्छ आमजनताको मनमा । यसरी नै गत वैशाख दोस्रो साता पनि अनेरास्ववियु, नेविसङ्घलगायतका केही प्रमुख विद्यार्थी सङ्गठनहरूले संयुक्त रूपमा चर्को शुल्क असुल्ने शैक्षिक संस्थाहरूमा तालाबन्दी गरे । देशभरका दुई सयभन्दा बढी नाम चलेका विद्यालयले सरकारी मापदण्डभन्दा बढी शुल्क लिएको उनीहरूको दाबी थियो । तत्काल शुल्क घटाउनुपर्ने अन्यथा विद्यालय चल्न नदिइने, अन्य कारबाही पनि हुन सक्ने चेतावनी पनि कथित विद्यार्थी सङ्गठनका नेताहरूले दिए ।

यसरी तालाबन्दी गरिएका राजधानीका विद्यालयको सङ्ख्या ५३ रहेको जनाइएको थियो, जसमा रातोबङ्गला, नाइटिङ्गेल, रेडियन्ट, ह्वाइट फिल्ड, स्वर्णिम, डीएभी, माउन्ट ग्लोरी, भीएस निकेतन, गीताञ्जली, रेडन, न्याम्स, फ्लोरिसेन्ट, अपी, ज्ञान निकेतन, काठमाडांै विद्याकुन्ज, काव्य, पुष्पसदन, विभूति, कञ्चनजङ्घा, प्यारागन, संस्कृति, एक्सल, दिव्यज्ञान, केसीभी, डल्लु आवासीय विद्यालय डल्लु, काठमाडौं भ्याली स्कुल, ट्रिनिटी, रोजबर्ड, ओलम्पिया, नोबेल, पाठशाला, केएमसी, चेल्सी, अक्सिडेल्टल, आईडीएल स्कुल, लिटल एन्जल्स, प्रिमियर, जेम्स, युनाइटेड, टेक्सास, त्रियोग, युरो किङ्गडम, रिलायन्स, मार्बलस, बाबा, रिलायन्स, बागमती, युलेन्स, डेफोडेल, तक्षशिला, हेम्स र पेनउड रहेका थिए ।

जथाभावी शुल्क असुल्ने विद्यालयमा यसरी तालाबन्दी गरिएको हल्ला मात्र सुन्न पाइयो, तर शुल्क घटेकोचाहिँ अहिलेसम्म खबर आएन । जब कि विद्यालयको ताला भने केही दर्जन घन्टामै खुलेको थियो । आखिर जुन माग राखेर तालाबन्दी गरिएको थियो, त्यो माग पूरा नभई केका आधारमा तालाबन्दी तोडियो ? के यसको जवाफ सम्बद्ध विद्यार्थी सङ्गठनका नेताहरूले दिनुपर्ने होइन र ? के उनीहरू यसको जवाफ दिने नैतिक हैसियत राख्छन् ? सुनिन्छ, नयाँ विद्यार्थी भर्ना गर्ने सिजनमा हरेक वर्ष यसरी नै तालाबन्दी र के–के शीर्षकमा विद्यालयविरुद्ध आन्दोलनको घोषणा गरिन्छ । तर, यो सबै नौटङ्की मात्र हो । विद्यालय–व्यवसायीहरूसँग रकम असुल्न विद्यार्थी नेताहरूद्वारा गरिने नाङ्गो ‘ब्ल्याकमेलिङ’ मात्रै हो यो । सङ्गठनको नाममा मोटो रकम असुलेर घर–गाडी जोड्ने प्रपञ्च मात्रै हो यो विद्यार्थी नेताहरूको । के यो सत्य होइन भने सार्वजनिक स्थानमा उभिएर ‘होइन’ भन्ने आँट यी विद्यार्थी नेताहरूसँग होला ? जवाफ चाहियो ।

– विसुराल राजेश, विष्णुप्रसाद सुवेदी र पीडित अभिभावक