परराष्ट्र मामला र मन्त्री महतको भूमिका

परराष्ट्र मामला र मन्त्री महतको भूमिका


rajendra-pathak-sagar

– राजेन्दप्रसाद्र पाठक

‘राइट मेन इन राइट प्लेस !’ अर्थात्, मानिसका आ–आफ्नै क्षमता, योग्यता या विशेषता हुन्छन्, त्यसलाई उचित स्थानविशेषका लागि उपयोग गरिनुपर्छ । दश महिनाअघि गठन भएको प्रचण्ड नेतृत्वको सरकारमा नेपाली काङ्ग्रेस पार्टीको मुख्य सहभागिता र समर्थन रहेको सर्वविदितै छ । प्रचण्ड–मन्त्रिमण्डल ठूलो आकारप्रकारको भए पनि यसभित्र रहेर कार्य सम्पादन गर्न सफल मन्त्रीको सङ्ख्या भने सीमित रहेकोमा विवाद गरिरहनु नपर्ला । भागबन्डाको आधारमा बनाइएको मन्त्रिमण्डल हुनाले सरकारमा सहभागी दलका आ–आफ्नै ‘गन्यमान्य’ या पहुँचवालहरू नै मन्त्रिमण्डलका दाबेदार थिए । तिनमा सबै खुवी या क्षमताकै कारण समेटिएका थिएनन्, जसले गर्दा मौका पाउनेमध्ये दुई–चार मन्त्रीले मात्र जिम्मेवारी निर्वाहमा प्रभावकारिता देखाउन सके ।

भनिन्छ, खानीको भौगोलिक आकार जति नै ठूलो भए पनि त्यहाँ प्राप्त हुने हीराको आकार अत्यन्तै सानो हुन्छ । तर, रती आकारमा तौलनुपर्ने त्यो कति मूल्यवान हुन्छ भने त्यसले उक्त खानी सञ्चालनको सम्पूर्ण खर्चदेखि मुनाफासम्मको हिसाब व्यहोर्न सक्छ । यस मन्त्रिमण्डलमा परेकामध्ये परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत यस्तै ‘हिरा’ हुन् भन्दा फरक नपर्ला । डा. महत अत्यन्त अब्बल तथा सफल विदेशमन्त्री हुन् भन्ने आधारहरू छन् ।
घर शान्त र समृद्ध हुनका लागि घरभित्र रहने–बस्नेको भूमिका महत्वपूर्ण त रहन्छ नै, त्यतिले नपुगेर छिमेकमा रहने–बस्नेको भूमिकाले पनि योगदान गरेको हुन्छ । झन्डै दुई दशकअघिदेखि नेपालको अत्यन्त निकटतम् छिमेकी देश भारतबाट उच्चस्तरीय राजकीय भ्रमण हुन नसकिरहेको अवस्थामा भएको भारतीय राष्ट्रपतिको ऐतिहासिक भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउन सफल भएको छ । साथै भारतसँगको सम्बन्धमा थप प्रगाढताका लागि समेत डा. महतको विशेष योगदान रहेको कूटनयिक क्षेत्रमा अनुभूति गरिएको छ । सन् १९४७ देखि मोदी सरकार बन्नुअगाडिसम्मको भारतीय संस्थापनसँगको नेपालको कूटनीतिक भूमिकामा थप गतिशीलता देखिएको र चलायमान भएको महसुस गर्न सकिन्छ । यस अवस्थाको समायोजन र व्यवस्थापन गर्ने महत्वपूर्ण जिम्मेवारी र अवसरलाई समेत विदेशमन्त्रीको हैसियतमा रहेर डा. महतले आफूलाई अझ अब्बल साबित गरेका छन् । भारतको हालको संस्थापन पक्षसँग मिलेर काम गर्न सक्ने भरपूर सम्भावना बोकेका उपयुक्त पात्र उनै महत देखिएका छन् ।

यसैगरी नेपालको तर्फबाट प्रधानमन्त्री र महामहिम राष्ट्रपतिको भारतको राजकीय भ्रमण गराउन सक्ने सफल व्यक्तित्वको उपमासमेत डा. महतलाई नै दिन सकिन्छ । यसर्थ, घरको मात्र नभएर उनी छिमेकको समेत प्रियपात्र बन्न पुगेका छन् भन्दा अन्यथा नठहरिएला । दक्षिणको सम्बन्धमा त उनी अत्यन्त अब्बल मानिन्छन् नै, उत्तर एवम् बाँकी विश्वसँगको सम्बन्धमा समेत उनले आफूलाई कहीँकतै चुकाएका छैनन् भन्न सक्ने विभिन्न उदाहरण छन् ।
Prakash-Sharan-Mahat

गत ०७३ चैत २९ को मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्र मामिलामा मतैक्यता जुटाई देशको हितअनुरूप विदेश नीतिका प्राथमिकता निर्धारण गरी प्रभावकारी कार्यान्वयनका लागि सुझाव दिन परराष्ट्रमन्त्रीको संयोजकत्वमा सम्बन्धित विषयका विज्ञहरू रहेको विदेशनीति कार्यदल गठन गरिएको र राजनीतिक सुरक्षा, आर्थिक तथा संस्थागत विषयका विज्ञहरू सम्मिलित उक्त कार्यदलले दु्रतगतिमा कार्य गरिरहेको छ । चीन सरकारले पुनर्निर्माणका लागि उपलब्ध गराउने सहायता–सम्झौतादेखि चीनको छेन्दु सहर र काठमाडौं नगरबीचको भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता २३ डिसेम्बर २०१६ मा काठमाडौंमा सम्पन्न भयो । पूर्ववत् सरकारको पालामा सुरु भएको नेपाल र चीनबीच सम्पन्न पारवहन यातायात सम्झौताको विभिन्न चरणका बैठकहरू सम्पन्न गरियो । दक्षिण कोरिया, जापान र मंगोलियासम्मको सम्बन्धमा समेत सहज र सजगता प्रस्तुत गरिएको छ । संयुक्त राष्ट्र संघ र बहुराष्ट्रिय कूटनीतिक सम्बन्धमा समेत दखल गर्न सक्ने असंलग्नता, अन्तर्राष्ट्रिय सहयोग, समझदारी र सद्भावका निम्ति पूर्ण प्रतिबद्धता जाहेर गरिएको छ । विदेशमा रहने स्वदेशी जनताका खातिर गरिएको राहदानी शुल्क समायोजन र सहज वितरण गर्ने कार्यहरू र विदेशी आगन्तुकलाई दिइने अध्यागमन सुविधामा समेत बढावा दिइएका कारण देशमा पर्यटक वृद्धिमा टेवा पुगेको छ । राहदानीमा प्रयोग भएको डिजिटल प्रणालीले गतिशील विश्वसँग नेपालको सहज संलग्नता कायम भएको महसुस गरिएको छ । विवादास्पद बनाइन खोजिए पनि विदेशस्थित कूटनीतिक नियोगमा खड्किएको अपूर्णतालाई पूर्णता दिने काम सम्पन्न भएको छ ।

अत्यन्त तरल राजनीतिक अवस्था र चिसिएका सम्बन्धहरूलाई सहजतापूर्वक समाधानको बाटोतर्फ उन्मुख गराउँदै सरलतापूर्वक प्रस्तुत हुन सक्नु आफैँमा एक चुनौती र उपलब्धि पनि हो । पञ्चशीलको सिद्धान्तलाई कायम राख्दै ठोस र उचित विदेशनीति तय गर्न–गराउन उद्यत् हुनु आफैँमा एक किसिमको सफलता नै हो । आगामी दिनमा जोसुकै विदेशमन्त्री भए पनि अग्रगामी काम गर्न सक्ने वातावरण मिलाइदिनु डा. महतको अर्को सफलता मान्न सकिन्छ । आगामी मन्त्रिमण्डलमा समेत यस्ता क्षमतावान् मन्त्री यस मन्त्रालयमा आउन सके अथवा उनैको पुनरागमन हुन सके विदेशनीतिले स्थायित्व र मूर्तरूप लिनेमा सन्देह गरिरहनु नपर्ला, देशका लब्धप्रतिष्ठित पार्टीविशेषका नेतृत्वलाई ज्ञात रहोस् । सरकारको कार्य सम्पादनका लागि पदको भागबन्डा गर्दा पदीय पालोशान्तिमा जानुभन्दा उचित कार्य सम्पादन मूल्याङ्कन गरेर काम गर्न सक्ने र बदनाम नभएकालाई पुनरागमन गराउन सक्ने खालको निर्णय लिनु आजको आवश्यकता हो ।