१६८ वर्षको उमेरमा पत्रिका धरासायी

१६८ वर्षको उमेरमा पत्रिका धरासायी


लण्डन । ‘दी न्यूज अफ वर्ल्ड’ आफ्नो स्थापनाको १६८ वर्षपछि, आज अन्तिमपटक छापिएर मिडिया जगतबाट विदा भएको छ । यूकेको सबैभन्दा वढी विक्री हुने, सनसनिखेजपूर्ण पत्रिको रुपमा अत्यन्तै ख्याती पाएको सो पत्रिको अन्तिम प्रकाशनको मुख्य पृष्ठमा “धन्यवाद र गूडबाइ” भन्ने शीर्षकका साथ ८६७४ औं संस्करण छापिएर आजैबाट विदा लिएको छ । उक्त पत्रिकाले हेरक कोणहरुमा यूकेको पारम्परिकता अनि संस्कृतिको एक अभिन्न अंगको रुपमा आफूलाई यूकेबासीको मनमस्तिष्कमा उभ्याएको थियो । हिजो शनिबार बेलुका अति नै भावुक कर्मचारीहरुले लामबद्ध भएर उक्त अफिसलाई सदाकै लागि छोडेका थिए । वर्तमान सम्पादक कोलिन माइलरले सबै स्टाफहरुलाई साथ लिई एक-एकप्रति पत्रिका हातमा लिएर उक्त भवन निक्कै नै भावुक मूद्रामा छोडेका थिए र सो लाममा धेरैजसो स्टाफहरुलाई रोएको अवस्थामा देखिएको थियो । सोही समय आफ्ना स्टाफहरुसहित अन्य मिडियाका कर्मचारीहरुसमक्ष आफ्नो पत्रिकाको गौरवमय इतिहासको सम्झना गर्दै आफ्ना अति नै वहुमूल्य लगभग ७५ लाख पाठकहरुलाई मौखिक रुपमा पनि धन्यवाद र गूडबाइ भनेर सम्पादक माइलेरले विदा लिएका छन् । हिजो अन्तिमपटक प्रकाशित भएको सो पत्रिका साविकको भन्दा डबल प्रति अर्थात् पचास लाख प्रति छापिएको छ ।

‘न्यूज कर्पोरेशन’अन्तर्गत यूकेमा गत १६८ वर्षबाट लगातार रुपमा उक्त पत्रिका ‘न्यूज अफ द वर्ल्ड’ प्रकाशित हुँदै आएको थियो । उक्त ‘न्यूज कर्पोरेशन’का अध्यक्ष रुपर्ट मर्र्डोज अमेरिकाबाट लण्डनको लागि आजैको दिनको लागि आउने क्रममा त्यहाँ यस पत्रिकालाई बन्द गर्ने फैसला अति नै लामो र गहन छलफलपछि लिइएको बताएका थिए ।

आफ्नो सनसनिखेजपूर्ण समाचारको लागि ख्याती कमाएको ‘न्यूज अफ द वर्ल्ड’ले समाचारकै लागि अनेकौंपटक अवैधानिक कदमहरु उठाएको समाचारका विविध माध्यमहरुबाट पर्दाफास भइसकेको छ । त्यसको शुरुवाती अवस्थामा सन् २००२ मा वेपत्ता भएकी १३ वर्षीया ‘मिली ड्वेलर’को केस अगाडि आएको हो । सनसनिखेज समाचारको लागि भोको उक्त पत्रिकाले विभिन्न स्थानमा प्राइभेट जासुसलगायत करप्ट पुलिसहरुको पनि सेवा लिने गरेको तथ्य खोलिएको छ । त्यसरी वेपत्ता भएकी मिलीको घटनालाई गहिराइमा पुग्नका लागि पत्रिकाले उक्त स्थानमा गहन रुपमा अनुसन्धान थालेको थियो । हरेक ‘ड्वेलर’ थरीका बारेमा जानकारी लिनेदेखि लिएर ती विविध सम्वन्धित व्यक्तिहरुका फोनहरु हृयाक गरेर सूचनाहरु संकलन गर्ने क्रममा न्यूज अफ वर्ल्डका पत्रकारहरुले ‘मिली ड्वेलर’को मोबाइल पनि हृयाक गरेर उक्त मोबाइलमा आउने भ्वाइस मेस्जहरु सुन्न थालेका थिए । त्यसरी हराइरहेकी मिलीका परिवार तथा आफन्त अनि साथी संगीहरुले छोडेका भ्वाइस मेलहरुलाई पत्रकारहरुले सुन्दै प्रसङ्ग मिलाएर मिलीसम्वन्धी समाचारलाई विभिन्न मोडहरु दिँदै जाने क्रममा तिनले भ्वाइस मेसेजको समय सीमालाई यथावत राख्नका लागि पनि आइसकेका अनि सुनिसकेका भ्वाइस मेलहरुलाई मेटाउँदै लगेका थिए, तिनका सोही कृयाकलापले मिलीको परिवारलाई छोरी अझै जीवितै रहेको आभास मिलेको थियो किनकि, भ्वाइस मेसेज बक्स कहिल्यै पनि भरिएको थियो, त्यसको मतलव मिलीले सुन्दै अनि मेट्दै गरेकी हुनसक्ने तिनको विश्वास थियो । तर मिली कहिल्यै पनि फर्केर आईनन् । ‘न्यूज अफ वर्ल्ड’ले सन् २००७ को ‘लण्डन बम्बिङ’का मृतकहरुका परिवारहरु तथा घाइतेहरुका फोन हृयाक गर्नेलगायत विभिन्न सरकारी तथा गैरसरकारी अनि सेलेब्रिटीहरुका फोन हृयाकिङ गर्ने गरेको तथ्यहरुलाई ‘गार्डियन’ले आफ्नो गहन समाचार बनाएपछि भने ‘न्यूज अफ द वर्ल्ड’ अनि यसका सम्पादकहरु कानूनको दायरामा आएका थिए । तत्कालीन सम्पादिका रेबेका ब्रुकलाई योपालि संसदबाटै राजीनामा दिनुपर्ने सांसदहरुलगायत विपक्षी नेता एड मिलब्याण्डको अडान रहेको छ ।’न्यूज कर्पोरेशन’को यूके शाखाकी चिफ एक्जेक्युटिभ ‘रेबेका ब्रुक’को कानूनी अवस्था तत्कालीन आलातमा पनि जायज रहेको र योबेला पनि जायज रहेको भन्दै अध्यक्ष रुपर्ट मर्र्डोजले साथ दिएका छन् । न्यूज अफ वर्ल्डको तत्कालीन फोन हृयाकिङसम्वन्धी आफूलाई कुनै जानकारी नभएको, संलग्नता नभएको भन्ने उक्त पत्रिका सर्वसाधारणका मनमा पनि गलत प्रभाव पार्न सक्षम हुँदै गएको ठानेर ‘१६८ वर्ष’सम्म लगातार रुपमा यूकेको आम जीवनको एक अभिन्न अङ्ग बनेर रहेको प्रकाशनलाई नै सदाकै लागि बन्द गर्न वाध्य भएको पत्रिकाको सम्पादकीयमा लेखिएको छ, तथापि, उक्त पत्रिकाको ठूलो आधारको रुपमा रहेका विभिन्न ठूला विज्ञापन दाताहरुले एकपछि अर्को गर्दै हट्न थालेपछि वाध्य भएर पत्रिका बन्द गर्नु परेको पनि आम विचार छ । लगभग दुई सय जना कर्मचारी तथा पत्रकारहरु अहिले बेरोजगार भएकाछन् ।

संसदलगायत अन्य विभिन्न पत्रपत्रिकामा ‘न्यूज अफ द वर्ल्ड’बाट सनसनखेज समाचारको लागि फोन हृयाकिङद्वार प्रयोगमा आएका सम्वेदनशीललगायत प्रसिद्ध नामहरु प्रकाशमा आएपछि तिनको चर्चा संसदमा पनि हुनथालेको थियो र त्यही क्रमको आघातको रुपमा विज्ञापन दाताहरु ‘न्यूज अफ द वर्ल्ड’सँग टाढिन थालेको थियो । राष्ट्रिय स्तरमा नै सर्वसाधारणहरुका परिसरमा यस पत्रिकाउपर टिकाटिप्पणी गरिन थालिएपछि पत्रिकालाई हटाउने निर्णय भएको मानिन्छ । तर पूर्व सम्पादिका रेबेक्का ब्रुकलाई केहअघि नै हटाएको भए पत्रिकालाई हटाउन नपर्ने, त्यसो गर्दा लगभग दुईसय कर्मचारीहरुको जागीर सुरक्षित हुने थियो भन्दै कतिपय कर्मचारीहरु संस्थापन पक्षसँग रुष्ट रहेका छन्, तथापि जोर्नालिज्म इथिक्स आफूबाट नटोडिएको भन्दै अडिग रहने ब्रुकलाई अध्यक्ष कर्डोजको स्थायी साथ देखिएको छ । तर पनि, अहिलेसम्म तत्कालीन उपसम्पादकलगायत केही पत्रकारहरु र पुलिसका केही व्यक्तिहरुलाई सोही सिलसिलामा स्कटल्याण्ड यार्ड पुलिसले सोधपुछको लागि हिरासतमा लिइसकेको छ भने, आजैबाट बन्द भएको न्यूज अफ द वर्ल्डको कार्यालयलाई घटनास्थलको रुपमा पुलिसले अनुसन्धानको लागि कब्जामा लिने भएको समाचार पनि छ ।

पत्रकारितामा गम्भीर आक्षेपको रुपमा यस ‘न्यूज अफ द वर्ल्ड’ प्रकरण रहेको मानिएको छ भने पत्रकारितामा गम्भीर मोड ‘र्‍यान गिग्स’बाट सार्वजनिक रुपमा अप्रकाशनमा आफ्नो कूकृतिहरुलाई राख्न लिएको ‘कानूनी बन्देजबाट आएको छ ।
-नीर, मेस