बेलायतवासीले सहीद सम्झिँदा…

बेलायतवासीले सहीद सम्झिँदा…


London

लण्डन । नेपालमा निरंकुश शासन व्यबस्थाको अन्त्य भई प्रजातन्त्र प्राप्ति भएको दिन २००७ साल फागुन ७ को विशेष सम्झनामा नेपाली जनसम्पर्क समिति (बेलायत)ले प्रजातन्त्र दिवस मनायो । अल्डरसटको एक नेपाली रेष्टुरेन्टमा काङ्ग्रेस नेतृ तथा सांसद् डा. आरजु देउवाद्वारा दिप प्रज्ज्वलन गरी आरम्भ गरिएको कार्यक्रममा सहीदको सम्मानमा एक मिनेट मौनधारण गर्दै राष्ट्रिय गान गाइएको थियो । नेपाली संघ–संस्थाका प्रतिनिधिहरू, भूतपूर्व गोर्खा सैनिकहरू, समाजसेवीलगायत अन्य जनसमुदायको कार्यक्रममा बाक्लो उपस्थिति थियो । जनसम्पर्क समितिका सभापति लोक गुरुङले कार्यक्रमको सभापतित्व गरेका थिए भने स्वागत मन्तव्य समितिका सल्लाहकार शेरबहादुर सुनुवारले दिएका थिए ।

बेलायत भ्रमणमा रहेकी डा. आरजु देउवालाई पुष्प गुच्छा दिएर कार्यक्रममा स्वागत गरेका सभापति गुरुङले बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई बेलायत आगमनको स्वागत गर्दै उहाँको कार्यकालको सफलता निम्ति शुभकामना दिएका थिए ।

प्रमुख अथिति डा. देउवाले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल सरकारमा रहँदा गोर्खाहरूको हकहित र समान अधिकारको निम्ति वेलायत सरकारसमक्ष स्विकृतीपत्र दिएको जानकारी गराउँदै गैरआवसीय नेपालीको राजनीतिक अधिकारको माग नेपाल सरकारसमक्ष राख्ने प्रतिबद्धता जनाइन् । विदेशमा रहेका नेपाली प्रजातान्त्रिक विचारप्रति आकर्षित रहन्छन् भन्दै उहाँहरूलाई दोहोरो नागरिकता राष्ट्रले दिन सके देश र विदेशमा रहेका नेपालीलाई नै फाइदा पुग्ने उनको तर्क थियो । नयाँ सविधान ड्राफ्ट कमिटीका केहि कम्युनिस्ट नेताहरूले नेपाल छोडेर विदेश बस्ने, विदेशमा जागिर खाने प्रवृत्ति दर्शाउनुलाई गद्दारीको संज्ञा दिँदै तिनीहरूलाई दोहोरो नागरिकता र राजनीतिक अधिकार दिन हुन्न भनेका कारण गैरआवसीय नेपालीले अधिकार नपाएको खुलासा गरिन् ।

London 2

नेपाली कांग्रेसले संसारकै जुनै ठाँउमा जागिर खान गएका नेपालीलाई समान अधिकार दिन सदनमा प्रस्ताव राखिएको उल्लेख गरिन् । बेलायत जनसम्पर्कको खिचलो केन्द्रमा पु¥याउने र केन्द्रबाट चुनावी प्रक्रियाको निर्णय छिट्टै आउने विश्वास दिलाइन् । लामो समयसम्म प्रवासमा रहँदा आफ्नो भाषा संस्कृति लोप हुन सक्ने सम्भावना भएकोले यो विषयमा गम्भिरताका साथ नेपाल सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराउने उनले बताइन् ।

विशिष्ट अथितिका रूपमा कार्यक्रममा सहभागिता जनाएका राजदूत डा. सुवेदीले भने– ‘सरकारको क्षेत्रबाट कुटनीतिक क्षेत्रमा आफू दुई दशकयता प्रवाशमा रहँदा गैरआवासीय नेपालीहरूले भोगेका समस्या बुझ्दै आएको कारण नेपाल र नेपालीको सामाजिक र आर्थिक विकासमा कसरी योगदान पु¥याउन सकिन्छ, हजुरहरूबाट प्राप्त हुने सुझाव–सल्लाहलाई आदरपूर्वक मनन गरेर अगाडि बढ्न चाहन्छु ।’

मन्तव्यकै क्रममा एनआरएन बेलायतका वरिष्ठ उपाध्यक्ष मास्टर राष्ट्र राईले प्रजातान्त्रिक शासन व्यवस्थाको थालनी भएकोमा राष्ट्रको समृद्धिका निमित्त सहज मार्गको गन्तव्यमा पुग्न सकिने बताए भने गैरआवासीय नेपाली सङ्घ वेलायत तथा जनसम्पर्क समितिका सल्लाहकार शिवजी शेष्ठले सहिदहरूको बलिदानीलाई सम्झेर अगाडि बढ्न सकिए समाजमा परिवर्तन ल्याउन सकिने तर्क गरे । आईसीसी सल्लाहाकार विश्व आदर्श पण्डितले संस्थाको विवाद अन्त्य गर्न आफु जुनसुकै त्याग गर्न तयार भएको बताए भने महामन्त्री राजकुमार त्रिपाठीले सहिदहरूले किन बलिदानी गरे र हामीले तिनका सपन कति पूरा गर्न सक्यौँ भनी फर्किएर मूल्याङ्कन गर्न जरुरी रहेको तर्क गरे । उपसभापति युवराज गुरुङले तुरुन्तै जनसम्पर्क समितिको अधिवेशन भए संस्थाको विवाद अन्त्य हुने दाबी गरेका थिए । एनआरएनए वेलायतको पूर्व अध्यक्ष योगेन क्षेत्री, समितिका पूर्वअध्यक्ष विनोद मुक्तान, सुर्य नेम्वाङ, डा. मीन रानाभाट, रिचर्ड गुरुङ, वीरेन्द्र खड्का आदिको कार्यक्रममा उपस्थिति थियो ।

– रोशन मेवाहाङ (लण्डन)