नेता पौडेलसमक्ष यसरी खुले बेलायतवासी नेपाली

नेता पौडेलसमक्ष यसरी खुले बेलायतवासी नेपाली


Poudel 2

लन्डन– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनसम्पर्क समिति बेलायतको विवाद आफैं समाधान गर्न सुझाव दिनुभएको छ । नेपाली जनसम्पर्क समिति, बेलायतले सोमबार लन्डनमा आयोजना गरेको काङ्ग्रेस पूर्वसभापति स्वर्गीय सुशील कोइरालाको पूण्यतिथि कार्यक्रममा उपसभापति पौडेलले बेलायतवासी नेपालीलाई राजनीतिक खिचातानीभन्दा स्वदेशको आर्थिक समृद्धि, सामाजिक विकास, कृषि क्रान्ति, प्रविधि र अनुभव हस्तान्तरणतर्फ सोच्न एवम् पर्यटन र जलश्रोतमा लगानी गर्न आग्रह गर्नुभयो ।

नेता पौडेलले मंसिरभित्र तीनवटा चुनाव गर्नुपर्नेमा अहिलेसम्म एउटै टुंगो नलागेकोमा चिन्ता प्रकट गर्दै ‘मधेसी मोर्चा संशोधन नगरि निर्वाचनमा भाग लिन्नौं भन्ने, एमाले संशोधन गर्नै नमान्ने अनि प्रधानमन्त्री प्रचण्ड मधेसीले नमानेसम्म म चुनाव घोषणा गर्दिन भन्ने अनि कसरी हुन्छ चुनाव ? भनी प्रश्न गर्नुभयो । नेपालको राजनीति अहिले माखेसाङलोमा अड्किएको बताउँदै उहाँले गुटबन्दीमा राजनीति गर्ने जमात कांग्रेसभित्रै पनि बढेको खुलासा गर्नुभयो । ‘कांग्रेसभित्रै ग्रयाण्ड डिजाइन बनिरहेकाले ती खलपात्रलाई चिन्न जरुरी छ’, उहाँको भनाई थियो । देशमा संघीयता, समावेसिता, गणतन्त्र र लोकतन्त्र जस्ता मुख्य उपलब्धि भइसकेपछि सानातिना बखेडा झिकेर झगडा मात्र नगर्न उहाँको आग्रह थियो ।

Poudel

कर्यक्रममा विश्वआदर्श पण्डितले सुशील कोइरालाले दिएको योगदानको चर्चा गर्नुभयो भने एनआरएन युरोप संयोजक कुल आचार्यले नेपालमा सामुहिक लगानी गर्न आह्वान गर्नुभयो । यस्तै, बेलायत बसेर पनि वरिष्ठ लेखकको पहिचान बनाउनुभएका शिवजी श्रेष्ठले प्रजातन्त्र प्राप्तिका लागि भएको संयुक्त आन्दोलनको स्मरण गर्दै स्वर्गीय कोइरालाले सबैलाई मिलाई अप्ठ्यारो अवस्थामा संविधान दिएकाले यसको कार्यान्वयन गराउन सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

जनसम्पर्क समिति बेलायतका महामन्त्री आरके त्रिपाठीले शहिदहरूलाई सम्झेर उहाँहरूले देखाएको बाटोमा हिँड्न र परिवर्तित अवस्थामा सानातिना मतभेद भुली समृद्ध नेपाल बनाउन राजनीतिक पार्टी एकठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । काङ्ग्रेस नेता एवम् जनसम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष युवराज गुरुङले समिति विधिविधान तथा पद्दतिबाट अघि बढ्नुपर्ने सुझाव दिनुभयो । यस्तै, एनआरएन युकेका पूर्वअध्यक्ष योजन क्षत्रीले जनसम्पर्क समितिको विवाद अन्त्य गर्न सबैले त्याग देखाउनुपर्ने उल्लेख गर्नुभयो भने सल्लाहकार शेर सुनारले नयाँ संविधानले असीमित अधिकार दिएकोले त्यसको रक्षा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । संस्थापक सभापति विनोद मोक्तानले सबै एकजुट हुन आग्रह गर्नुभयो भने डा. पुरुषेत्तम पौडेलले अप्ठ्यारो अवस्थामा खोलिएको जनसम्पर्क समितिका जताततै विवाद देखिनु दुर्भाग्यपूर्ण रहेको चर्चा गर्नुभयो । डेविड गुरुङ र दीप गुरुङले पनि सो अवसरमा मन्तव्य दिनुभएको थियो ।

जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपस्थित महानुभावहरूलाई डा. मीन रानाभाटले स्वागत गर्नुभएको थियो भने अध्यक्ष गुरुङले उपस्थित सबैलाई धन्यवाद दिनुभयो । महामन्त्री राजकुमार त्रिपाठीद्वारा सञ्चालित सो कार्यक्रममा दुई सयभन्दा बढीको उपस्थिति थियो ।

Poudel 4