दाहालको चुनाव–चाहना !

दाहालको चुनाव–चाहना !


पाँच नम्बर प्रदेशतिर उर्लन थालेको जनलहरलाई ‘प्रतिगमनकारी कदम’को रूपमा व्याख्या गर्न थालेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीका खास कार्यकर्तालाई ‘मुलुकले हासिल गरेको उपलब्धि खोस्न प्रतिगामी शक्तिले टाउको उठाउन थालेको’ भन्दै सचेत रहन चेताएको खबर सार्वजनिक भएको छ । जब आफू विपरीत बाटोमा हिँडेर आलोचित हुन पुगिन्छ या जब–जब गम्भीर प्रकृतिका गल्ती गरेर आफ्नै पार्टी एवम् वफादार कार्यकर्तासामु लज्जाको अवस्था आइपर्छ, त्यस्तो बेला कुनै बहाना झिकेर शर्म छोप्ने प्रयत्न गर्ने दाहालको परिचित स्वभाव हो । देशलाई विखण्डनको दिशामा जानुबाट जोगाउनैपर्ने आवाज उरालिरहेका नागरिकको कदममा प्रतिगमनको छाया देख्नु दाहालको दृष्टिदोष होइन, बरु उनको यो चाल सफेद झुट बोलेर दिनलाई रात सावित गर्न खोज्ने भद्दा कुटिलपन हो । दाहालहरूकै शब्द सापट लिएर भन्नुपर्दा यो ‘गोयबल्स शैली’ हो, झुटलाई जबर्जस्ती सत्यकै रूपमा स्थापित गर्न खोज्ने !

पछिल्ला दुई दशकमा नेपाल र नेपालीले ‘उपलब्धि’ नै ठानेर रक्षा गर्नुपर्ने के उपलब्धि हासिल गरेका छन् र प्रधानमन्त्री दाहालले ‘उपलब्धि रक्षा’को चिन्ता गर्नुपरेको हो, बुझ्न सकिएन । सङ्घीयता, धर्मनिरपेक्षता, गणतन्त्रजस्ता गुलिया शब्दलाई सीधासोझा जनता झुक्याउने हतियार तुल्याउँदै आएका दाहालले यसरी उपलब्धि गुम्ने त्रास देखाएर आफ्नो छद्म चरित्र, सन्देहकारी कदम वा कुनै दुर्उद्देश्य ढाकछोप गर्नकै लागि आफ्ना कार्यकर्तालाई समेत गुमराहमा पार्न लागेका हुन् भनेचाहिँ भन्नैपर्छ– अब उनकै कार्यकर्ताले पनि उनलाई उदेकपूर्ण दृष्टिले नियाल्न थालिसकेका छन् । किनकि दाहालको कुटिल चरित्र र नियत पर्गेलेर व्यवहार गर्न सक्ने सचेतना उनको पाँचमहिने कार्यकालमै जनताले हासिल गर्न सकेका छन्, जो आमनेपालीलाई प्राप्त एउटा उपलब्धि नै ठान्नुपर्छ ।

अभिव्यक्ति र अडानका सवालमा पानीका फोकासरहको छवि कायम गरेका पुष्पकमल दाहालले प्रदेशको सीमा नखलबल्याउन चेतावनी दिने तमाम जनतालाई ‘पूर्वराजा ज्ञानेन्द्रका कार्यकर्ता’, ‘प्रतिगमनकारी तŒव’ जस्ता अनौठा विशेषण पहिराएर धमिल्याउन चाहे पनि सत्य र झुटको हिसाबकिताब त समयले गर्ने नै छ, तर दाहालजस्ता लहडी व्यक्तिको नेतृत्वमा समस्याग्रस्त मुलुकले कसरी र कहिले निकास पाउँछ, अत्यन्त चिन्ताको विषय बन्न पुगेको छ ।

प्रधानमन्त्रीसँग क्षमता, इमानदारी र हार्दिक चाहना यदि थियो भने यतिबेला मुलुक स्थानीय निर्वाचनको माहोलमा डुबिरहेको हुनुपथ्र्यो । निर्वाचन आयोग समयमै चुनाव हुन नसक्ने परिस्थिति विकसित भएबाट अत्तालिइसकेको प्रतीत हुन्छ । निर्वाचनका लागि आवश्यक विधि–विधान नै बन्न नसकेको यथार्थबीच आयोगले चुनावी चासो र चिन्ता दर्शाउनु अस्वाभाविक पनि छैन । तर, निर्वाचन आयोगको चिन्ता र चेतावनीका बाबजुद अबका तेह्र महिनाबीच तीन तहका चुनाव हुन नसक्ने लगभग निश्चित भएको छ । तर, आश्चर्यचाहिँ यो छ कि आगामी वैशाखमा चुनाव हुने हौवा पिटाउँदै आफ्ना कार्यकर्तालाई तयार रहनसमेत दाहालले आदेश जारी गरेका छन् । केही दिनभित्रै सरकारले चुनावको मिति घोषणा गर्ने उद्घोष गरेर उनले देश र दुनियाँलाई नै रनभुल्ल पार्ने प्रयत्न गरेका छन् । चुनावको निम्ति आवश्यक तयारी नगरी अर्कै–अर्कै मुद्दा चर्काएर विषयान्तरमा रमाएका प्रधानमन्त्री दाहाल कसरी र किन निर्वाचनको दाबी गरिरहेका छन्, सोचनीय पहेली बनेको छ ।

सत्तामा रहेका दलमा देशको परिस्थितिजन्य जिम्मेवारीबोध, प्रतिपक्षी दलमा निर्वाचन परिणाम आफ्नो पक्षमा हुने आशा अनि प्रदेश सीमाङ्कनलगायत मामलामा असन्तुष्ट दलमा आफ्नो मुद्दा जनताबाट अनुमोदन गराई संसद्मा प्रस्तुत हुने आकाङ्क्षा जागृत भए मात्र वर्तमान अवस्थामा निर्वाचनको माहोल निर्माण हुने हो, जब कि यी तीनै पक्षमा उपरोक्त चरित्र वा चाहनाको खडेरी परेको आभास भइरहेको छ । वास्तवमा काम कुरो एकातिर कुम्लो बोकी अर्कैतिर भनेझैँ उछाल्नै नपर्ने मुद्दा चर्काएर दाहालले देशलाई द्वन्द्वको अर्को दलदलमा फसाउन लागेका छन् । चुनावको चर्चा चलाएर आफू ठिकै बाटो हिँडिरहेको भ्रम दिने चाल चलिरहेका छन् । जब कि, यस्ता देखावटी चालले देशको हाल सुध्रनेभन्दा थप बिग्रन्छ भन्नेमा सचेतजनमा सन्देह बाँकी छैन ।

ghatana-logo-1